पुम्दीकोटले पर्यटकलाई लोभ्याउँछ
फुर्सद भयो की घुमफिरमा निस्कने धेरै नेपालीहरुको सस्कार बसेको छ । नेपालीहरुमा बढदै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । तपाई कहाँ जान रुचाउनु हुन्छ ? घुमफिरको लागि उद्देश्य सहितको गन्तब्य भयो भने धेरै कुरा अध्यन गर्न सकिन्छ । तपाईंसँग घुमफिरको लागि लामो समय र आर्थीक जोहो गर्न सक्नुहुन्छ भने गण्डकी प्रदेशको पोखरा भित्रका धार्मीक, ऐतिहासिक र प्राकृतिक रमणिय स्थलहरुमा घुमफिर गर्न सक्नुहुन्छ ।
पोखरा तालै तालको उपत्यका हो । फुर्सदमा परिवार तथा साथीहरुसँग घुम्नका लागि पोखरा जान सके राम्रो हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु वितेको पत्तै हुदैन । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, आथित्य सत्कार पोखराको पहिचान हो । पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को डान्स, गजल–दोहोरीले पनि पोखरामा पर्यटकलाई भुलाउने गर्दछ । पोखरा पुगेपछि तालहरुमा रमाउन मात्र नभइ साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्ब्याउन सकिन्छ। बासका लागि लेकसाइट, बसपार्क आसपास सस्तो सुविधा सम्पन्न होटलहरु छन । थकाली खाना पोखराको आकर्षण हो भने विहानीको समयमा विन्ध्यबासिनी र तालबाराहीको दर्शनले मन शुद्धी गराउन सकिन्छ । पोखरा पुगेपछि हिमाली दृश्यको प्रतिच्छाँयामा लमतन्न सुतेको फेवाताल, महेन्द्रगुफा, पातले छाँगो, सराङकोट जस्ता थुप्रै स्थलहरुले पर्यटकहरुको मन सजिलै लोभ्याउछरु । धौलागिरी, अन्ननपूर्ण र मनास्लु श्रृंखला लगायत ८ हजार मिटर भन्दा अग्ला हिमालहरु पोखरावाट देख्न सकिन्छ । फेवाताल पोखराको मुख्य आकर्षण हो । फेवातालमा माछापुच्छ«े हिमालको प्रतिविम्व देखिन्छ ।
पुम्दीकोट पोखरा महानगरपालिका २४ मा पर्दछ । आजभोली पुम्दीकोटमा निर्माण भएको शिवको मूर्तिले पर्यटकहरुलाई आकर्षण गराएको छ । नेपालकै अग्लो मानिएको पद्माआसनमा बसेका शिवको मूर्ति ५२ फिट अग्लो रहेको छ । शिव मूर्ति निकै आकर्षक रहेछ । त्यहाँ पुगेपछि पर्यटकहरुले भगवान शिवको दर्शन गर्नुको साथै मन्दिर परिशरबाट पोखरा वरिपरिको सुन्दर दृश्य, सेतो स्तुपा, पोखरा बजार, फेवा ताल, वनजगल र हरियाली फाटहरुले पर्यटकको मन नै लोभ्याउने गर्दछ । पर्यटकहरुले एकै ठाउदेखि धेरै हिमाली दृश्यहरु देख्न सक्दछन्। शिवको मूर्तिले हिन्दुको लागि मात्र नभई पोखराको पर्यटन विकासको लागि समेत नयाँ गन्तब्य भएको छ । पुम्दिकोट पुग्न पोखराको छोरेपाटनबाट ७ किमि दक्षिण पश्चिमको नागवेली उकालो यात्रा गर्नु पर्दछ । त्यहाँ जान स्थानीय बस, जीप र टयाक्सी पाइन्छन । पुम्दीकोटको यात्रामा ठाडो उकालो र घुम्ती भएको हुँदा अलि बढी नै सावधानी अपनाउनु पर्छ । माथि पुगेपछि खान र बस्नको लागि सुविधाजनक होटलहरु पनि रहेका छन ।
पर्यटकहरु पुम्दीकोटमा पुगेपछि शान्त स्वरुपमा थुपुक्क बसेका महादेव देख्ना साथ सबै दंग पर्दछन । कोही सेल्फी खिच्न थाल्दछन, कोही ड्रोन उडाउन लाग्दछन त कोही फोटो खिच्नमा तल्लीन हुन्छन । पुम्दीकोटमा करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलशलगायतका संरचना बनाइएको छ। पुम्दीकोटमा सुमेरु पर्वत र मनो रेललगायत प्रोडक्ट थप्ने उद्देश्य पनि रहेको छ । पुम्दीकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, लमजुङदेखि मनास्लु हिमालसम्मको हिमालका दृष्य अवलोकन गर्न सकिन्छ । त्यतिमात्र होइन, फेवातालसहित पोखरा उपत्यका छर्लग देखिन्छ ।
त्यसैले पुम्दिकोट सबै खाले पर्यटकका लागि उपयुक्त गन्तब्य बनेको छ । पुम्दिकोट भन्दा केही तल विश्व शान्ति स्तुप छ । पर्यटकहरुले स्तुप र पुम्दिकोट भ्रमणलाई एउटै रुटमा राखेर घुमफिर गर्न सक्दछन् । पुम्दीकोटमा पर्यटनका लागि अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जगलका जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ। पुम्दिकोटमा शिवको बृहत चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थल लगायतका संरचना निर्माण भएका छन् । पुम्दीकोट पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा पर्दछ ।
पोखरा घुम्न जाने पर्यटकहरुले पुग्नै पर्ने अर्को मन्दिर हो विन्ध्यवासिनी । विन्ध्यवासिनीरु मन्दिर पोखरा बजारको मध्यभाग सराङकोट जाने बाटोको चोक अर्थात मोहरिया टोलमा पर्दछ । विन्ध्यवासिनी मन्दिर २ सय ३५ वर्षअघि स्थापित भएको हो । विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङ्गको अष्टभुजाकार रहेको छ भने गजूरबाट तामाको श्रीवन्दी लत्रिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न तिथिमितिमा राखिएका घण्टहरु छन् । पित्तलकोद्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ। मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिरहरु रहेका छन्। मन्दिरको आफ्नै गुरुकुल वेदविद्याश्रम छ, जसले अध्ययन गरिरहेका वटुकहरुलाई पूजापाठका रुपमा अभ्यास गराइन्छ । विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट अर्थात विद्युतीय भ¥याङ पनि राखिएको छ। विन्ध्यवासिनी मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको छ। विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि नेपालबाट मात्र नभई भारत तथा अन्य विभिन्न देशबाट तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।
विन्ध्याचलबाट पोखरा ल्याइएको मान्यतामा यिनलाई विन्ध्यवासिनी भनिएको हो । विन्दुमा रहेकी देवी मान्दै यिनलाई यस्तो नाम दिइएको जनश्रुति पनि छ । विन्ध्यवासिनी मन्दिरको निर्माण मध्यकालतिर भएको मानिन्छ । पोखराकी विन्ध्यवासिनीको स्थापनाका सम्बन्धमा अनेक किंवदन्ती र लोकोक्तिहरु पाइन्छन। तीमध्येको कास्कीका राजा सिद्धिनारायण शाह चार धाम घुम्न भारत गएका रहेछन । चारै धाम घुमफिर गरी अन्त्यमा काशीको विश्वनाथ मन्दिरसँगै जोडिएको अन्नपूर्णाको मन्दिरमा पुगेछन। त्यस बेला दशैंको नवदुर्गा रहेछ र मन्दिरमा देवी भागवत कथा वाचन र श्रवण भइरहेको रहेछ । सिद्धिनारायणले कथा सुनेपछि विन्ध्यवासिनीको दर्शन गर्न विन्ध्याचल जाने निधो गरेछन । उनी विन्ध्याचल गई देवीको आराधना गरी बसेछन। विन्ध्यवासिनीले त्यहाँका राजालाई सपनामा सिद्धिनारायणलाई उनको एउटा मूर्ति दिएर पठाउन अनुरोध गरिछन । त्यसपछि तिनले त्यही मूर्ति ल्याएर पोखरामा स्थापना गराएका हुन । पोखरा पुगेपछि पर्यटकहरु महेन्द्रपुलको बारेमा जान्न चाहन्छन् ।
पोखरा वजारको मध्यभागमा रहेको महेन्द्रपुलको इतिहास लामो छ । पोखराको मध्यभागबाट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म धर्तीमुनि लुकेर सेती नदी बग्दै गएको छ । सेतिनदीको गल्छीमा पहिला माटे पुल थियो । अहिले जहा पक्कीपुल छ त्यसैको तल काठ राखेर त्यसमाथी माटो र अन्य सामाग्री विछायर बनाएको पुललाई माटे पुल पनि भन्ने गरिन्थो । लामो समय सम्म यसै पुलबाट पोख्रेली मात्र होइन अन्य जिल्लाका मानिसहरुको लागि पनि माटेपुल सेतीनदी तर्नको लागि सहारा बनेको थियो। राजा महेन्द्रको पालामा पक्की पुल बनेपछि त्यसलाई महेन्द्र पुल भन्ने गरिएको हो । पोखरा वजार पुग्ने पर्यटकहरुले तालहरुको बारेमा जान्न चाहन्छन ।
कास्की जिल्लामा प्रख्यात ८ ओटा ताल रहेका छन । पोखरा पुगेपछि धेरै पर्यटकहरु पुग्ने ताल हो फेवा । पोखराको फेवा तालले आन्तरिक तथा वाह्य पर्यटकहरु माझ लोकप्रीय छ । फेवा गाउको छेउमा रहेकाले यो तालको नाम फेवा ताल र वैदाम गाउको छेउमा पर्ने भागलाई वैदाम ताल पनि भन्ने गरिन्छ । अर्को तर्फ तालको बीचमा बराही मन्दिर भएकाले फेवा ताललाई बराह ताल पनि भनिन्छ । फेवा तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ। तालवाराहीको इतिहास तत्कालिन कास्कीका राजा कुलमण्डन शाहद्धारा यो मन्दिरको स्थापना गरिएको बताइन्छ। पोखराको साबिक लेखनाथ नगरपालिका क्षेत्रमा वेगनासताल, रुपा ताल, खाष्टे ताल, दिपाङग ताल, गुदे ताल, न्युरेनि ताल, मैदीताल समेत स्याना ठूला गरी ७ वटा ताल रहेका छन ।
प्रकृतिको सुन्दर उपहार हो, पोखरा । पोखरा उपत्यकामा मन बहलाउने धेरै चिज छन । पर्यटकहरुले आफ्नो रुचि अनुसार हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना आदिको दृश्यवलोकन गर्न सक्दछन् । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेल पर्यटकहरुका लागि अर्को आकर्षण हो । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी पोखरामा सराङकोट सूर्योदयका लागि प्रख्यात ठाउँ मानिन्छ । अहिले सराङकोट जान केवुलकारको समेत सुविधा छ । पदयात्रामा रमाउने पर्यटक लेकसाइडबाट करिब आधा घण्टाको यात्रापछि सराङकोट डाँडामा पुग्न सकिन्छ जहाँबाट सूर्य उदायको मनमोहक दृश्य देखिन्छ । सराङकोटबाट सूर्योदय हुँदै गर्दाको सूर्यको लाली किरण हिमालमा झलमल्ल टल्केको देख्न सकिन्छ । त्यसै गरी पोखराका सूर्योदयका लागि शान्ति स्तुप र काहुडाँडा पनि प्रख्यात छ । छोरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवा बाँधबाट आएको भेलले श्रीमती डेभिडलाई बगायो । छाँगोभित्र खसेर उनको मृत्यु भयो । त्यही सयमदेखि छाँगोलाई डेभिड फल्स भन्न थालिएको हो। त्यसको पानी भूमिगत भई एक किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् ।
कास्की शाहवंशीय राजाको शासनकाल भन्दा पहिले गुरुङहरुको शासन रहेको थियो। गुरुङहरुको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरुको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको थियो । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरुको अधिनमा रहेको अर्थात तिनीहरुको आफ्नो अधिनमा लिएका थिए। शाह वंशकै अधिनमा चौविसे राज्य अन्तर्गत पर्ने कास्की राज्य शाहवंशीय राजा श्री ५ पृथ्वीनारायण शाहद्वारा थालिएको एकीकरण अभियानकै क्रममा वि.सं. १८४२ मा राजेन्द्र लक्ष्मीको नायवीकालमा विशाल नेपालमा विलय भएको थियो । ऐतिहासिक काल–खण्ड देखिनै कास्की पोखरा ऐतिहासिक स्थल मानिन्छ । सडक यातायात नहुँदा पश्चिम नेपालका मानिसहरु काठमाण्डौ जादा पोखरा उपत्यका भएर जाने गर्दथिए । रेडियो नेपालबाट बज्ने गित देउराली उकाली चडेर, विजयपुर खोला तरेर…. गितको भावना जस्तै विजयपुर खोला तरेर देउरालीको उकालो ओरालो हुँदै पैदल यात्रीहरु मादी नदीको सिसाघाट तरेर काठमाण्डौको यात्रा गर्दथिए।
पोखराको सुन्तला प्रख्यात थियो । आज त्यो सबै इतिहास मात्र बनेको छ । कास्की अहिले यातायातको विकास भएको छ । सुनौली–पोखरा राजमार्ग सुरुमा निर्माण भएपछि ०२८ साल देखि काठमाण्डौ–पोखरामा सडक यातायात चल्न थालेको छ । वर्तमान अवस्थामा पोखरालाई केन्द्र मान्ने हो भने वाग्लुङ, मुस्ताङ मात्र होइन कास्की जिल्लाका दुर्गम गाउँमा समेत सडक यातायात सन्चालनमा आएका छन । पोखरामा भएको हवाई मैदानलाई अन्तराष्ट्रिय हवाई मैदान निर्माण गर्न कास्की जिल्लाका मानिसहरु लागेका छन ।
कास्की जिल्ला नेपालमा पर्यटक भित्राउने काठमाण्डौ पछिको जिल्ला मानिन्छ । पोखरा वजार वरपरका धार्मीक एवं ऐतिहासिक स्थल मात्र होइन पर्यटकहरुलाई दुर्गम गाउँ र बस्तीहरु पनि उत्तिकै मनपराउँछन। नेपालको च्यारापुजि मानिने कास्कीको लुम्ले डाडाले पनि कास्की जिल्लाको महत्व बढाएको मानिन्छ । पोखरा पुगेपछि अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुक गाउँ पुग्ने गर्दछन । घान्द्रुक कास्की जिल्लाको गुरुङ जातीहरुको बसोवास भएको गाउँ हो । कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाउ पनि हो । घान्द्रुकमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु मेश्वमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरु रहेका छन । गुरुङ अर्थात तमु सस्कृतिको धनी मानिने घान्द्रुकमा पर्यटकहरुको लागि होमस्टे सञ्चालन गरेका छन ।
कास्कीकोट ऐतिहासिक कोट मानिन्छ। कुलमण्डल शाहको दरवार तथा अन्य भग्नावशेषहरु रहेको कास्कीकोटमा गुप्तकालिका मन्दिर, भुमेस्थान मन्दिर, खड्कगाउँकोट र देउराली मन्दिर समेत रहेको छ । यस स्थलबाट थामको गहरा भ्युटावर, ठूलीपोखरी र हिम श्रृखंलाहरको अवलोकन गर्न सकिन्छ । पोखरा उपत्यका मात्र नभएर पूर्वी कास्कीको थुम्की मा रहेको ऐतिहासिक फल्याङकोट दरवार र चण्डीस्थान डाडाबाट कास्की र लमजुङ जिल्लाको सिमा बगेको मादी नदीको तरेली परेको नागवेली आकारको दृष्य र नयाँ कास्की र लमजुङ जिल्लाको धेरै प्राकृतीक डाडाकाडाको समेत दृष्यावलोकन गर्न सकिन्छ । कास्की जिल्ला आन्तरिक एवं वाह्य पर्यटकहरुको लागि अत्यन्त मनमोहक मानिन्छ । वातावरण, इतिहास, प्रकृति भित्रका सम्पदा अध्ययन गर्ने पर्यटकहरुको लागि पोखरा पुग्नै पर्ने हुन्छ ।