अरुण उपत्यका पर्यटन र मझुवाबेंसी
के.बि. मसाल

पर्यटन शब्द अहिले सबैलाई प्यारो हुन्छ । कसैले पर्यटन सम्वन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा जस्लाई पनि जानपाए हुन्थो भने झै लाग्छ । पहाड, हिमाल उपत्यका र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरुलाई ती क्षेत्रमा पुग्न मन लाग्दछ । यो मानविय स्वभाव हो । पर्यटक भनेको नयाँ कुरा बुझन, नयाँ ठाउ जान, अनि सकेसम्म वढी ज्ञान र अनुभवहरु प्राप्त गर्नु हो। अहिले घुमफिरको सस्कृति बिकास भएको छ । नेपालीहरु पनि हिमाल देखि ताल तलैया, उपत्यका, जैविक अनि सास्कृतिक पुरातात्विक स्थलहरुमा घुमफिरको लागि पुग्ने गर्दछन ।
घुमफिरको योजनामा हुनुहुन्छ ? यदी हुनुहन्छ भने अरुण उपत्यका पुग्नु होस। अरुण उपत्यका वरपर रहेका प्राकृति ऐतिहासिक र पुरातात्विक स्थलहरुको बारेमा अध्यन अनुसन्धार गर्न सक्नुहुन्छ। नेपालमा दुई प्रकारका उपत्यका रहेका छन । पहाडी उपत्यका र भित्री मधेशमा पर्ने उपत्यका । पहाडी उपत्यकालाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ । अरुण उपत्यका, अरुण नदिको बनाएको उपत्यका हो । अरुण उपत्यका अरुण नदीको दुवै किनारमा अर्थात संखुवासभा र भोजपुरको भूगोलमा फैलिएको छ । अरुण उपत्यका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल र जातीय विविधिताले पनि पर्यटकहरु को राजाइमा पर्ने गरेको छ । अरुण उपत्यका साँस्कृतिक रुपले पनि धनी छ । पर्यटकहरुले उपत्यकामा राई, लिम्बु र शेर्पा समुदायको विशिष्ट सँस्कृतिको अध्यन अवलोकन गर्न सक्दछन । साँस्कृतिक रुपले धनि ती समुदायका सुन्दर गाउँबस्तीहरुमा पुग्दा पर्यटकहरु रमाउछन । उनीहरुको लवाइ खवाइ, भेषभुषा, चालचलन, जीवनशैली, सामाजिक धार्मिक एवं साँस्कृतिक मुल्यमान्यताले पर्यटकलाई छुट्टै आभास गराइ दिन्छ ।
कोशी प्रदेशको संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट १२ किलोमिटरको दुरीमा तुम्लिङटार अर्थात अरुण उपत्यका पर्दछ । अरुण उपत्यका विश्वकै सबैभन्दा धेरै प्रजातिको चरा पाइने उपत्यका पनि हो । अरुण उपत्यकामा ६५० भन्दा बढी प्रजातिको चराहरु पाइन्छ। त्यसैगरी आठ सय भन्दा बढी प्रजातिका पुतली पनि अरुण उपत्यकामा पाइन्छ । तर पर्यटकहरुले चरा र पुतलीका बारेमा अध्यन गर्न भने बिज्ञ मानिस साथमा चाहिन्छ । अरुण नदीमा ८३ भन्दा बढी प्रजातिको माछा पाइन्छ । अरुण उपत्यका जैविक विविधता, मनमोहक प्राकृतिक सुन्दरता र साँस्कृतिक विविधताले पनि भरिपूर्ण रहेकोले घुमफिरको लागि पर्यटकहरु पुग्ने गर्दछन । अरुण उपत्यकाको बीचबाट नागवेलीझै बगीरहने अरुण नदीको सुन्दरताले पर्यटकहरु मोहित हुन्छन ।
अरुण नदी चिनको तिब्बतबाट नेपाल प्रवेश गरी बग्ने नदी हो । अरुण नदी कोशी नदीको सहायक नदी पनि हो । अरुण नदी तिब्बतको शिशापाङमा हिम नदीबाट उदगम भएर नेपालमा प्रवेश गर्नुअघि हिमालय पर्वत श्रृंखला हुँदै बग्दछ। अरुण नदीको पौराणिक नाम महाप्रभा हो। अरुण उपत्यका विश्वकै सबैभन्दा गहिरो उपत्यका हो । अरुण उपत्यका समुन्द्र सतहभन्दा ४५७ मिटर उचाइमा पर्दछ । मकालु हिमाल उदगम क्षेत्र भएको बरुण नदी अरुण नदीको सहायक नदी हो । बरुण नदी भोटखोला गाउँपालिकाको वाड नं. ४ बरुण दोभानमा अरुण नदीमा मिसिन्छ। नदी र खोलामा एउटा प्रकृतिक नियम छ सानो नदी अथवा खोला ठूलोमा मिसियसी सानो नदीको नाम त्यहिनै सकिन्छ । अर्थात त्यो नदी अथवा खोलाको नाम ठूलो नदीमा जोडिन्छ । बरुण नदीको नाम अरुण नदीमा मिसिए पछि अरुण नदी ठूलो हुन्छ । बरुण दोभानबाट अरुण नदी गोला, हाइटार, सिरुटार, निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनास्थलको बाँध, फुकबेसी, कात्तिकेघाट, सतिघाट हुदै तुम्लिङटार सम्म आइपुग्दा अरुण नदीले ठूलो उपत्यका बनाएको छ ।
तुम्लिङटार अरुण नदीको किनारमा पर्दछ। सभाखोला र अरुण नदीको दोभानमा रहेकाले तुम्लिङटारलाई सभा उपत्यका समेत भनिन्छ । तुम्लिङटारमा नेपालको पहाडी क्षेत्रमै सबै भन्दा ठूलो विमानस्थल रहेको छ । हवाई मार्गबाट तुम्लिङटार जान केहि असुबिधा छैन । आजभोली बुद्ध एयरले काठमाडौं–तुम्लिङटार एटिआर–७२ जहाज उडान गर्दै आएको छ। अर्को तर्फ तुम्लिङटार–विराटनगर पनि हवाइसेवा छ। संखुवासभालाई जोडने वसन्तपुर–चैनपुर सडक र हिले तुम्लिङटार दुबै सडक प्रयोग गर्न सकिन्छ । इटहरिबाट धरान हुदै भेडेटार भएर जादा भेडेटार र धनकुटाको पाख्रीवास कृषिकेन्द्र समेत अवलोकन गर्न सकिन्छ । सडक किनारमा साना ठूला बजार पर्दछन । पर्यटकहरुलाई खाना बस्नको लागि केहि असुबिधा हुँदैन । हिलेबाट पदमार्गमा पाख्रीबास, डिकुरे भञ्ज्याङ हुँदै पनि संखुवासभा पुग्न सकिन्छ । मोटरमार्गबाट तुम्लिङटार यात्रा गर्दा लेगुवाघाटबाट अरुणको पुल तरी बायाँतर्फ लाग्नु भयो भने भोजपुर पुग्नुहुन्छ। लेगुवाघाटबाट करिब ७२ किमीको यात्रामा भोजपुरको सदरमुकाम पुगिन्छ । लेगुवाघाटदेखि दायाँतर्फ अरुण किनारै किनार लाग्दा चानुवा, खहरे, सातटारे भएर सभा र अरुण नदी दोभान कत्लेभञ्ज्याङ पुगिन्छ । त्यहीबाट संखुवासभा जिल्लाको पुरानो सदरमुकाम चैनपुर पुग्ने सडक पनि छुट्टिन्छ । सभा खोलाको बेलीब्रिज तरेपछि अरुण उपत्यकाको तुम्लिङटार पुगिन्छ ।
पर्यटनको लागि अरुण उपत्यका अर्थात तुम्लिङटारदेखि पर्यटकहरु पदयात्रा गर्दछन । अरुण उपत्यका सगरमाथा र मकालु पदमार्गको बीचमा पर्ने भएकाले पदयात्राको लागि पनि वाह्य पर्यटकहरु तुम्लिङटार पुग्दछन । अरुण उपत्यकाबाट सुन्दर हिमालयको दृष्यवालोकन गर्न सकिन्छ। तुम्लिङटारबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, वरुण, ल्होत्से, नुप्से, आमादव्लम, थामसेर्कु लगायत हिमाललाई नजिकैबाट पर्यटकहरुले देख्न सक्दछन । रमाइलो कुरा के छ भने पर्यटकले विश्वकै गहिरो उपत्यकाबाट विश्वकै अग्लो शिखर सगरमाथा देख्न सक्दछन । अरुण उपत्यका घुमफिर गर्न जादा यात्राको समय बढाउन सके संखुवासभा जिल्लाको अन्य रमणिय पर्यटकीयस्थल समेत पुग्न सकिन्छ। संखुवासभामा विश्वको पाँचौं अग्लो मकालु हिमालदेखि सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले जस्ता चर्चित पर्यटकीयस्थल पर्दछ । भौगोलिक विविधताले भरिएको संखुवासभा जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थान मानिन्छ । तुम्लिङटारबाट सभाखोला तरेर चैनपुर, माम्लिङ, मुढे शनिश्चरे र टुटे देउराली हुँदै गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले पुग्न सकिन्छ । तीनजुरे, मिल्के, जलजले क्षेत्रमा ३२ प्रजातिका गुराँस पाइन्छन् ।
तुम्लिङटार बजारबाट करिब ३ किलोमिटर दुरीमा मनकामना पर्दछ । मनकामना मन्दिर भन्दा तल अरुण नदीको बगरमा सती ढुङगा रहेको छ । सति प्रथाको बेला यो ढुङ्गा अरुण नदीको बिच भागमा थियो भन्ने कुरा तुम्लिङटारका पुराना मानिसहरुको भनाई छ । सति प्रथाको समयमा पतिसंगै जल्न नमान्ने श्रीमतीलाई मलामीहरुले बलजस्त नाउमा राखेर त्यहि ढुङ्गा माथी छाडिदिने रहेछन। एकातिर श्रीमानको लास आगोमा जलिरहेको पीडा अर्को तर्फ नदीको छाल हेर्दै रुदै कराउँदै सतिजान नमान्ने धेरै श्रीमतीहरुको मृत्यु हुँदो रहेछ । पुराना इतिहासका कुराले पर्यटकहरु भावुक हुन्छन। ठूलो कालो ढुङ्गाको फोटो खिच्दछन । अरुण नदीको वारी संखुवासभा र पारी भोजपुर पर्दछ । नदी पारी भोजपुर जिल्लामा जान झोलुंगे पुल तर्न पर्दछ । अरुण नदीमा पर्यटन र मनोरञ्जनका लागि मकालु इको रिसोर्ट पर्दछ । अरुण नदीमा पर्यटन प्रवद्र्धनका लागि अरुण नदीमा ¥याफ्टिङ सञ्चालन भएको छ । अरुण मकालु रिबर साइडले अरुण नदीमा साहसिक पर्यटकहरुका लागि जलायात्राको समेत सुबिधा दिएको छ। अहिले चेवाबेशीदेखि लम्सुवा, मनकामना र मझुवावेसिसम्म ¥याफ्टिङबाट पर्यटकहरु रमाउन सक्दछन ।
तुम्लिङटार जादा सामाजिक अभियन्ता योगमायाको समाधिस्थल मझुवाबेँसी पुग्नै पर्दछ । तुम्लिङटारदेखि मझुवाबेँसी जाँदा अरुण नदी अर्थात अरुण मकालु रिबर साइडले सञ्चालन गरेको ¥याफ्टिङबाट पनि पुग्न सकिन्छ। अर्को तर्फ सतिघाटबाट फेरी हुँदै गाडीमा पनि जान सकिन्छ। मझुवाबेँसीमा योगमायाले तपस्या गरेको ठाउँ कौडेनी डाँडा, तपस्या गर्दा बस्ने गुफा, योगमायाको समाधिस्थल पर्यटकहरुले अध्ययन अवलोकन गर्न सक्दछन ।
योगमायाले वि.सं. १९९८ असार २२ गते आफ्ना ६७ जना अनुयायीहरुसहित अरुण नदीमा जलसमाधि लिएकी थिइन । नेपालको इतिहासमा मात्रै नभएर विश्व इतिहासमै समाज सुधारका लागि यति धेरै मानिसले एकै पटक आत्मदाह गरेको कमै पाइन्छ। मझुवाबेँसीमा पुगेपछि पर्यटकहरु योगमायाको इतिहास खोज्दछन । योगमायाको जन्म वि.सं. १९३४ मा भोजपुर जिल्लाको नेपाले डाँडाको सिम्ले गाउँमा बुवा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाको कोखबाट भएको थियो। योगमायाको ७ वर्षको उमेरमै बालविवाह भएको थियो । विवाह भएको २ वर्षमै विवाहित पतिको निधन भयो । योगमाया विलक्षण प्रतिभाकी धनी थिइन् । योगमायाले समाजमा देखिने विकृति र विसंगति जति पनि छन् तिनको अन्त्य गर्ने प्रण गरिन ।
भोजपुरको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए । योगमायालाई विद्रोही चेत भएकी, समाज सुधारक, राजनीतिज्ञ, अग्रगामी विचारक, मानवीय न्यायको पक्षमा तथा अत्याचारका विरुद्ध निर्भिक लडाकू र साहसी महिलाका रुपमा लिइन्छ। योगमायाले सती प्रथा र जातीय प्रथा पूर्ण रुपमा अन्त्य हुनुपर्ने, मानापाथीको दुरुपयोग बन्द गरिनुपर्ने, बालविवाह बहुविवाहको प्रथा तुरुन्त बन्द गरिनुपर्ने, विधवा विवाहलाई पूर्ण रुपमा मान्यता दिनुपर्ने माग सरकारसँग राखेकी थिइन। योगमायाले नेपाली समाजमा भएको शोषण, उत्पीडनका विरुद्ध र त्यसका लागि जनपक्षीय सुधारका लागि त्यसबेलाका राणा प्रधानमन्त्रीहरुलाई निवेदनसमेत दिइन् । तर निवेदन उपर राणा प्रधानमन्त्रीहरुले कुनै कारबाही गरेनन् र त्यसको विरोधमा उनले आत्मदाह गर्ने सोच राखिन् । प्रशासनले यो कुरा थाहा पाएर उनलाई जेल हाल्यो । उनका अनुयायीहरुलाई पनि भोजपुर र धनकुटाका जेलमा राखियो । उनले जेलमा समेत आफ्नो विरोध जारी राखिन् । जेलबाट पछि छोडियो र पनि शासकीय सुधारका लागि आफ्नो र आफ्ना अनुयायीहरु समेतको शान्तिपूर्ण आन्दोलन जारी राखिन् ।
संखुवासभा र भोजपुरमा अहिले रुद्राक्ष खेती गर्ने व्यवसायीहरु धेरै छन । अरुण उपत्यका जाने धेरै पर्यटकहरु रुद्राक्षका बोट हेर्न गाउँमा पुग्दछन। नेपाली व्यवसायीले चिनियाँ व्यापारीसँग सहकार्य गरेरै कृषकको रुद्राक्ष बोटमा लगानी गर्दै आएका छन् । भने कतिले आफ्नै मात्र लगानीमा रुद्राक्षको बिरुवा हुर्काएका छन । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारीहरु संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गर्दछन । चीनमा सजावट र श्रृंगारिक गहनाका रुपमा रुद्राक्ष प्रयोग हुने भएकोले रुद्राक्ष चिनिया ब्यपारिहरुले खरिद गर्ने गर्दछन। संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्दछ । अरुण उपत्यका कृषकहरु रैथाने बालीको खेती गर्दछन । अरुण उपत्यकामा धेरै गाउँहरुमा उखुको पनि खेती गरिन्छ। लोहाकोट र तुम्लिङटारमा उखु खेती बिस्तार भएको छ । तुम्लिङटार जाने पर्यटकहरुले घरमा फर्कदा सक्खर ल्याउने गर्दछन । अरुण उपत्यकाको हालपुरा र डल्लेतौली जातका धान आनापाछी, भुटाङ, मनीपुरे, मार्सी, अटेमार्सी, मनसरा, जलवीरे, जिरासारी आदि विभिन्न धान अहिले पनि कृषकहरुले लगाउने गर्दछन । अरुण उपत्यका आँप, कटहर, उखु, भुइँकटहर र केरा खेतीको लागि पनि प्रख्यात छ। यहाँका केही गाउँमा सात–आठ थरीका रैथाने केरा पाइछ । पर्यटकहरु गाउँघरमा घुमफिर गर्दा रैथाने खानाको स्वाद समेत लिन पाउँछन ।
अरुण उपत्यकामा पर्यटन बिकासका लागि पूर्वाधारको कमि छ । अहिलेसम्म पनि लेगुवाघाट बाहेक अन्य ठाउँमा अरुण नदीमा मोटरेबल पुल बन्न सकेको छैन। पुल नहुँदा पर्यटकहरुले भोजपुर र सखुवासभाका धेरै पर्यटकियस्थलमा पुग्न सकेका छैनन । पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको खाँचो छ । अरुण उपत्यकामा रहेका सम्पदाहरुको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसर श्रृजना गर्न सके पर्यटनको बिकास हुन्छ । त्यसका लागि अरुण उपत्यका र भोजपुर र सखुवासभामा रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागितामा हुनु पर्दछ ।
कसरी जाने ?
तुम्लिङटार जानको लागि इटरीदेखि धरान भेडेटार हुँदै धनकुटा, पाख्रीवास भएर मुलघाट हुँदै लेगुवा बजार पुग्नु पर्दछ । मुलघाटमा तमोर नदी पर्दछ भने लेगुवामा अरुण नदी। हिलेदेखि लेगुवासम्म २६ किलोमिटर पर्दछ। लेगुवा बजारदेखि अरुण नदीको पुल नतरी नदीको किनार किनारै साततारे, अक्करभिर हुँदै तुम्लिङटार पुगिन्छ। भने मध्यपहाडी लोकमार्गबाट यात्रा गर्दा घुर्मी, जयरामघाट खोटाङ भएर भोजपुर हुँदै लेगुवा बजार भएर पनि तुम्लिङटार जान सकिन्छ । लेगुवा बजार देखि तुम्लिङटार करिव २५ किलोमिटर पर्दछ ।










