गुमनाम रहेको पाथ्राको मत्स्यशिला र क्यामिनबेसी पाथ्राघाट

देव बस्न्यात

विषय प्रवेश

पाथ्राघाट भन्नाले व्यास नगरपालिकाको वडा नं. ६ र ७ को बीचमा बहने मादी नदीको दायाँ वायाँ भू–भागलाई जनाउँछ। मादीनदीको पश्चिम किनार तर्फको भू–भाग साविक श्याम्घा गाउँ विकास समितिको हाल व्यास नगरपालिका वडा नं. ६ मादीबेसीमा पर्दछ भने मादीको नदीको पूर्वी किनारको भू–भाग साविक क्यामिन गाउँ विकास समितिको हाल व्यास नगरपालिका वडा नं. ७ को क्यामिन बेसीको पाखो जग्गालाई अहिले पनि पाथ्रा भन्ने गरिन्छ । पाथ्राघाटसम्म पुग्न व्यास नगरपालिकाको वडा नंं. २ र ४ को भोर्लेटार चोकबाट १० किलोमिटरको दुरी पार गर्नुपर्दछ । पाथ्रासम्म हामी सार्वजनिक सवारी साधन तथा आफनै नीजि सवारसाधनको प्रयोग गर्न सक्दछौं ।
वास्तवमा पाथ्रा व्यास–७ बोटेटार र दुलहीपानीको बीचमा पर्दछ । बाइसेचौविसे कालमा पाथ्राघाटको मादी पश्चिम गलेखामकोट राज्य र मादी पूर्वको भू–भाग मिर्लुङकोट राज्यभित्र पर्दथ्यो। मिर्लुङकोटको भूमि भित्र पर्ने पाथ्रामा व्यास पौराणिक कालको मत्स्यशिला भएको व्यास–८ बर्लाचीका रामनाथ लम्सालले उजागर गरेका थिए । मत्स्यशिलाको विषयमा लम्सालको भनाइमा पूर्ण सत्यता रहेको व्यास–७ का पूर्व वडाअध्यक्ष सतिष न्यौपाने पनि बताउँछन् । व्यास–६ मा रहेको भू–भागमा मादीबेसीका कविराज शिवप्रसाद र दमयन्तीदेवी न्यौपानेहरुले वि.सं. २०२८ सालमा शिवालय र ठाँटी निर्माण गरेका थिए । मादीबेसीकै यदुनाथ न्यौपानेले आफ्ना छोरा अगम न्यौपानेको शव घरमा नल्याई पाथ्रघाटमै राखी त्यसको भोलिपल्ट घाटमा लगि अन्तिमसंस्कार गरेको थियो । छोरा अगमप्रसादको नाममा लालपूर्जा भित्रकै जग्गामा यदुनाथले प्रतिक्षालय निर्माण गरिदिएको बताइन्छ ।
ब्यास–७ क्यामिन बेसी तर्फको भू–भागमा भेटिएको शिलालाई चिप्लेटी ढुङ्गा भन्ने गरिएता पनि हेर्दा अन्नापूर्ण देवीको शिला जस्तो देखिन्छ । यस्तै, पौराणिक कालमा सेतीमादी बेनीमा स्नान गरिरहेका लक्का जवान ब्राह्मणलाई देख्दा अद्रिका अप्सरामा कामवासनाले पीडित गरायो । तुरन्तै अद्रिका अप्सराले कामवासना तृप्तिका लागि माछाको स्वभाव देखाउँदै ब्राह्मणलाई सेतीमादी नदीको बीचकोे गहिरो भू–भाग तर्फ तानी रहेको दृष्यले बालब्रह्मचारी ब्राह्मणलाई विचलित बनायो । त्यही बेला ब्राह्मणले दिएको सरापले माछी बनेर मादी नदीको शिर पुच्छार जलमा विहार गरेर ओहोर दोहोर गरिरहने अद्रिका अप्सराको माछीरुपको शिला भएको व्यास–७ का वडाअध्यक्ष श्रीकृष्ण न्यौपाने तथा स्थानीयहरु बताउँछन् । उक्त शिला स्थानीय दिपेन्द्र न्यौपानेको घर पछाडि रहेको छ। यसैगरी, पाथ्रा कालिकादेवी मन्दिर, पाथ्रा भयेंरथान र बोटेहरुको दशहरा देवी, बोटेहरुको कुलायन देवी खम्वादेवीहरुका शिलाहरु पनि उक्त क्षेत्रमा रहेका छन् । बाइसे चौबिसेकालको तनहुँ राज्यको राजधानी तनहुँसुरको काखमा रहेर गुमनाम बन्न पुगेका क्यामिन बेसीको, कलेस्तीघाट, दुलहीपानी, शेषघाट र पाथ्राघाटको सेरोफोरोका विषयलाई यस लेखमा समेट्ने प्रयास गरिएको छ।

पाथ्राघाट स्थान एक चर्चा अनेक (पराशरघाट, पोथ्राघाट, पितृघाट, पित्तरघाट, पाथरघाट हुँदै पाथ्रा घाट)

पाथ्राघाट क्यामिन गाउँको बेसी भू–भाग हो । विकास पथमा लम्कदैं गरेको क्यामिन बेसी दमौली बाह्रविसे हुँदै शिःसाघाट जाने मोटर मार्ग बनेको छ । मादीनदी र मोदी खोलाले बनाएको बेनी भन्दा थोरै तल मादी र लमादी खोलाको दोभानमा पात्थरघाट (पितृघाट) रहेको छ। व्यासका अध्येता काशीनाथ न्यौपानेले व्यास–६ सपनकोट वनमा पराशरगुफा रहेकाले ऋषि पराशर पाथरघाटमा आएर दिनहुँ स्नान गर्दथे । कहिलेकाही त्यहाँ अबस्थित ठूला शिलामा ध्यानमग्न रहने गर्दथे । पराशर आइजाइ गर्ने र स्नान गर्ने घाट भएको हुनाले यस स्थानको नाम पराशरघाट रहन गएको र कालान्तरमा त्यही पराशरघाट शब्द अपभ्रंश भइ पाथरघाट हुँदै पाथ्राघाट हुनगएको न्यौपानेको तर्क छ ।
हाम्र्रो बोलचालको भाषामा साल एवं चिलाउने लगायतका वनस्पति जगतका साना रुखहरुलाई पोथ्रा भन्ने गरिन्छ । चेदी देशका पौराणिक राजा उपरिचर वसु सिकार खेल्ने क्षेत्र सायद हालको सपनकोट वन र मादीनदीको किनारमा रहेको क्यामिन बेसीको क्षेत्र नै हुनु पर्दछ । त्यो समयमा हुर्कदै गरेका नयाँ साना रुखहरु प्रशस्त थिए होलान । त्यही पोथ्राहरुलाई फडानी गरिएपछि नयाँ बस्ती बसाइएकोले यस स्थानलाई पोथ्रा भन्न थालियो । कालान्तरमा त्यही पोथ्रा शब्द अपभ्रंश हुनगई यसलाई पाथ्रा र डुङ्गा चढेर नदीमाथि वारपार गर्ने स्थानलाई घाट भनिने हुँदा पाथ्रा शब्द र घाटशब्दको आपसमा मेल हुनगई पाथ्राघाट भनिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
अर्को तर्फ पाथ्राघाट आइपुग्दा मादीनदीको वहावमा आउने परिवर्तनले मादीनदीको बीचमा रहेको विशाल ढुङ्गा कहिले पाथ्रा पारी कहिले पाथ्रा वारी पर्ने गर्दथ्यो । प्रकृतिले सजिएको सुन्दर स्थान देखेर नै श्याम्घा र पाथ्राका बरुवंशका न्यौपानेहरुले यस स्थानमा आफ्नो कुलायन मन्दिर निर्माण गरेको देखियो । बेलाबेलामा मादीनदीमा बाढी आउँदा नदीको वहाव परिवर्तन भइरहने कारणले गर्दा मन्दिर भएको स्थान अहिले व्यास–६ मादीबेसीमा पर्न गएको देखिएको भएता पनि अधिकाँश समय ब्यास–७ क्यामिन बेसी तर्फको भूभागमा पर्ने गर्दथ्यो । नेपाली तथा संस्कृत शब्दकोष अनुसार ढुङ्गालाई पत्थर भनिएता पनि यहाँका स्थानीय आदिवासी दराइ तथा बोटेहरु ढुङ्गालाई पाथर भनेर सम्वोधन गर्दछन्। व्यास–१ निवासी यमबहादुर दराईका अनुसार स्थानीय दराइ एवं बोटेहरुको बोलचालको भाषामा पितृलाई पित्र एवं पित्तर पनि भनेर संवोधन गरिने र अर्को तर्फ ढुङ्गालाई दराइ भाषामा पाथर भनिने हुँदा पित्तर एवं पाथर दुबै शब्द अपभ्रंश भएर पाथर हुँदै पाथ्रा हुन गएको  हो र डुङ्गा चढेर नदीमाथि वारपार गर्ने स्थानलाई घाट भनिने हुँदा पाथ्रा शब्द र घाटशब्दको आपसमा मेल हुनगई पाथ्राघाट भनिएको हुन सक्ने बताए । मादीनदीको बीचमा रहेको “बडका पाथर” (ठूलो ढुङ्गा) रहेकोले त्यही पत्थरघाटबाट पाथरघाट र पाथरघाटबाट पाथ्राघाट बनेन भन्न सकिंदैन ।
मादी प्रसवण क्षेत्रमा दिवंगत भएका पितृहरुको अस्तु विर्सजन गर्ने स्थान भएकाले धार्मिक क्षेत्रको हिसावले पनि पाथ्रघाट अति महत्वपूर्ण स्थान बन्न पुगेको छ । गण्डकीका अन्य जलाधार क्षेत्रका जनताहरुले मृतक पितृको शेषअङ्ग “अस्तु” कालीनदीमा लगेर विर्सजन गर्ने परम्परा अद्यापि रहेको छ । (श्रोत–लोक संस्कृतिको घेरामा लमजुङ ः धर्मराज थापा) कालीगण्डकी जान टाढापाइ भएको र ऐतिहासिक कालमा अर्को राज्यमा जाँदा सुरक्षाको कुनै प्रत्याभूति नहुने भएकाले पनि मादी जलाधर क्षेत्रका तनहुँ, लमजुङ र कास्कीका नागरिकहरुले लाश जलाई बाँकी रहेको “अस्तु” केही वर्ष अगाडिसम्म यही मादी, मोदी र लमादी नदीको संगम त्रिवेणीलाई पितृघाट (संस्कृत शब्दकोषको पितृघाट शब्द अप्रभ्रंश भइ पित्तरघाट हुँदै पत्थरघाट र शेषअङ्ग अस्तु विसर्जन गरिने ठाउँ भएकाले माथिल्लो घाटलाई शेषघाट) भन्ने गर्दथे रे भन्ने जनश्रुति सुन्नमा पाइन्छ ।
करापुटारका इशानेश्वर महादेवसंगको युद्धमा पराजित भइ मृत्युवरण गरेको ताराकासुरको शेषअङ्ग अस्तु पनि यही स्थानमा विसर्जन गरिएको हुनाले पनि यस स्थानलाई मथिल्लो ठाउँलाई शेषघाट र माथिको टारलाई शेषटार भन्ने गरिएको हो भन्ने किंबदन्ती रहेको छ । (श्रोत ः लोक संस्कृतिको घेरामा लमजुङ–धर्मराज थापा) । यस विषयमा व्यास–५ मादी बेसी निवासी महेन्दनाथ्र न्यौपाने र जयराम परियारको भनाइमा क्षत्री सन्यासी र अन्य जातिका मानिसहरुलाई मादी मोदी दोभानमा जलाइने र श्याम्घाका तथा मादीबेसीका न्यौपाने बाहुनहरुको शवलाई मादी लमादी दोभान पत्थरघाटमा लगेर विसर्जन गरिन्थ्यो र अहिले पनि त्यसै गरिंदै छ भनेका थिए ।

खण्डहर बनेको पाथ्राघाटको शिवालय  र न्यौपानेहरुमा छाएको उदासिनता

वि.सं. २०२८ साल चैत्र महिनाको दिन व्यास–६ मादीबेसीका कविराज शिवप्रसाद र दमयन्ती देवी न्यौपानले शिवालय र पाटी निर्माण गरिदिएका थिए। उक्त शिवालय अहिले पुरै सिरुघारीले ढाकेको छ भने पाटी जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ । कम्पाउण्डयुक्त उक्त शिवालय मसानघाटको भन्दा गए गुज्रेको देखियो । काँडा र कुरोका कारण मन्दिर पस्ने अवस्थामा छैन । छाना बिनाको कुलमन्दिर बनाउनु पर्नेमा विद्वान न्यौपानेहरुमा यसप्रति चासो नदिइ सिमेण्ट कङ्क्रिट युक्त प्यागोडा शैलीको मन्दिर र मन्दिरमा गजुर राखिएको छ । यहींका डिठ्ठा खेचरमाली न्यौपाने वि.सं. २०२५ सालसम्म व्यास गुफामा तपस्या गरेर बसेका थिए। त्यसैगरी यहींका बद्री न्यौपाने वि.सं. २०२८ साल माघ २१ देखि २०३७ चैत्र २२ गतेसम्म व्यास गुफामा तपश्वी बनेर तपश्या गरे । श्याम्घा निवासी काशीनाथ न्यौपाने व्यासका अध्येता नामले सुपरीचित छन् । व्यासक्षेत्र चिनाउन न्यौपानेहरुको ठूलै योगदान रहेको छ । यसै वंशका उनै वद्रीनाथ न्यौपानेले आफ्नो जीवनको उत्तरार्धकालमा व्यास–६ मादीबेसीको शिवालयको तपश्या गरी वि.सं. २०४२ बैसाख ७ गतेका दिन अमूल्य मानव जीवनबाट विश्राम लिएका थिए । काशीनाथ न्यौपानेहरु व्यासगुफाको प्रचार प्रसारमा खटे तर गाउँको शिवालय देख्दा दमौली आएर न्यौपानेहरुले यस पूर्व गरेका कुरा विस्मृतिमा नै पु¥याइदिएको अनुभूति गराउँछ ।

दुलहीपानी चर्चा परिचर्चा

एक पटक लमजुङको राजकुमारीलाई दुइपिपले सत्रसय फाँट कलेस्ती हुँदै तनहुँसुर दरवारमा लैजाँदा दुलहीलाई बाटोमा साह्रै तिर्खा लाग्यो । पानी खोज्दा नजिक कही देखिएन । मादी किनारको छेउमा गएर दुलहीले एकहात गहिरो जमिन खोस्रेर हेर्दा बालुवाका कणहरुबाट छिरेर आएको जरुवापानी भेटियो । त्यही जरुवा पानीले दुलहीले पानीको तिर्खा मेटिन रे ! त्यही बेलादेखि दुलहीले खोस्रेर निकालेको पानी भएकोले यस ठाउँको नाम दुलहीपानी हुन पुगेको किंबदन्ती सुन्नमा पाइन्छ । अर्को कथन अनुसार दुलहीपानी नजिकै दुलोबाट पानीका मूल बाहिर निस्केको छ । यहाँ हिंड्ने हरेक बटुवाले त्यही दुलोबाट निस्केको पानीले आफ्नो प्यास मेट्थे रे । दुलोबाट निस्केको पानी हुनाले दुली पानी हुँदै दुलही पानी हुन पुगेको किंबदन्त सुन्नमा पाइन्छ ।

मादीबेसी जाने पूल नजिकको अन्नापूर्ण देवी शिला

दुलहीपानीबाट मादीबेसी जाने पूलको करिव १०० मिटर तल एउटा चिल्लो आकारको शिला देखिन्छ। यहाँका स्थानीयले यसलाई चिप्लेटी ढुङ्गा भनेता पनि अन्नपूर्णा हिमश्रृंखलाको पेरी हिमालदेखि बग्दै आएकी मादी नदी किनारमा मंसिरमा कुनियोका धान चुटेर बताइ सकेपछि लगाइएको धानको चुली जस्तो देखिन्छ । हामी धान मकै आदिलाई अन्न भन्दछौं । मानिसको उर्जाको श्रोत अन्नापूर्णालाई हामी देवी पार्वतीको रुपमा पुज्दछौ । पार्वतीको हजारौ नामहरुमध्ये एउटा नाम अन्नापूर्ण पनि भएकोले उक्त शिलालाई अन्नापूर्ण देवी सम्झेर पूजा आराधाना गर्ने हाम्रो संस्कृति हो ।

अद्रिका अप्सराको माछारुपि शिला

व्यास–७ स्थित क्यामिनको बेसी पाथ्राघाटको अबलोकनका लागि व्यास–५ निवासी डा. विद्युत केशरी न्यौपाने र यस पंक्तिका लेखक उक्त स्थान पुगेका थियौं । व्यास–७ का पूर्व वडाअध्यक्ष सतिष न्यौपानेले पाथ्रामा माछाको शिला रहेको बताए । व्यास–८ निवासी रामनाथ लम्सालबाट पौराणिक कालको व्यासको हजुरआमाको शिला भएको सुनाए । माछा आकारको शिला भनेपछि हामी उक्तस्थान पुग्यौं । व्यास–७ क्यामिन बेसी पाथ्रामा चारवेद अठारपुराणका लिपिबद्ध गर्ने महर्षि वेदब्यासका हजुरआमा अद्रिका अप्सराको शिला देखियो । यस शिलालाई अद्रिका माछा अर्थात अद्रिकामिन भन्ने गरिन्थ्यो । त्यही अद्रिकामिनका शुरुका दुईअक्षर लोप हुन जाँदा यस स्थानको नाम कामिन हुन गयो । कालान्तरमा कामिन शब्द अपभ्रंश भइ क्यामिन हुन पुगेको व्यास–८ बर्लाची निवासी पण्डित रामनाथ लम्साल बताउँछन् । व्यासका अध्येता न्यौपानेले व्यासकी आमा मत्स्योदरी (सत्यवती)को जन्म माछीका गर्भबाट भएको कुरा आफ्ना व्यास जन्मका सन्दर्भमा उल्लेख गरेका छन् ।
चेदीदेशका राजा उपरीचरवशु व्यास–६ को सपनकोटवन एवं क्यामिनबेसीको द्वैतवन अर्थात हालको बोटेटार भन्दा पितृहरुको माग अनुसारको पिण्ड प्राप्तिको लागि मृगको सिकार गर्न भनेर यसै द्वैतवनमा आएका थिए। अनुपम प्राकृतिक छटा एवं जङ्गली जनावरका खुल्ला यौन क्रिया कलाप देखेर राजा उपरीचर वसुमा पनि कामोत्तेजना बढ्दै गयो । अचानक राजाको वीर्य पतन हुँदा सो विर्य आफैले पालेको बाज मार्फत आफ्नी रानी गिरिकाकोमा पठाउँदा अर्को बाजले खोस्न खोज्दा वीर्य यमुना नदीमा खस्न गइ माछीले खाएको र पछि त्यही माछी माझीको जालमा परी पेट चिरी हेर्दा मत्स्यराज र मत्स्योदरीको जन्म भएको कथाप्रसङ्ग देवी भागवत र गण्डकी महात्म्यम्मा भेटिन्छ । कुनै एक दिन प्रशववेदनाले छटपाटउँदै हिडेकी ठूलो जिउडाल भएकी माछी क्यामिनको बेसीमा आइपुगिन । माछीलाई देख्नासाथ बोटेहरु समाउन पुगे । पाखोमा छटपटिंदै हिंडेको जिउँदो माछा समाउन दौडिएर गए तर माछा भएको स्थानमा बोटेहरु पुग्दा उक्त माछालाई शिलामा परिणत भएको देख्नासाथ अचम्ममा परे । अचानक बाटोमा आवतजावत गर्ने मानिसहरुले माछा आकारको शिला देखेर “सोच्दै नसोचेको आज कया मिन” (ठूलो अर्थात बडेमाको माछो) देखियो भने।” भनी आश्चर्य प्रकट गरे ।

क्यामिनको नामाकरण

संस्कृतको किम शब्द संस्कृत ब्याकरणमा पुलिङ्ग, स्त्रीलिङ्ग र नंपुसक लिङ्गका भिन्न भिन्न तीनवटा रुपहरु पाइने गर्दछन् जसलाई सर्वनाम संज्ञा भन्ने गरिन्छ। संस्कृतको शब्दकोष अनुसार किम स्त्रीलिङ्गको शब्दको रुपहरुमा एक वचनमा कया, द्वीवचनमा काभ्याम् र बहुबचनमा काभिः हुने गर्दछ । संस्कृतमा कयाको अर्थ किम हुन्छ। संस्कृतको त्यही कया शब्दले नेपालीमा अर्थ क्या रु कुन, किन र कस्का लागि भन्ने जनाउँछ भने हिन्दीमा कौन, किस्के लिए र अङ्ग्रेजीमा ध्जबत र ध्जयकभ भन्ने जनाउँछ । एक दिन महर्षि वेदव्यास बाबा पराशरको गुफाबाट मादी नदीको पाथ्राघाट तरेर पाथ्रा गाउँमा प्रवेश गरे । पाथ्राघाट नजिकै रहेको मत्स्यशिला देख्दा महर्षि वेदव्यास नतमस्तक बने। त्यही बेला महर्षि वेदव्यासले “कया मिन पश्यामी” भने । अन्ततः त्यही “कया” (बडेमा अर्थात ठूलो) शब्द र मिन (माछो) दुबै शब्दको आपसमा मेल हुन पुग्यो । त्यही “कया मिन” कालन्तरमा शब्द अप्रभंश भइ क्यामिन हुन पुगेको हो भन्दा अत्युक्ति नहोला ।
क्यामिनमा अर्को यस्तै कथा कहानी पनि भेटिन्छ । कुनै एक समयमा यही क्यामिनको जौबारी भन्ने गाउँमा सोतीपसलबाट काटीखान किनेर ल्याएको गोरु भोलिपल्ट गएर हेर्दा उक्त गोरु बसाह आकारको शिला बनेको कहानी पढ्न र सुन्न पाइएको हुँदा यहाँ गोरु एवं माछा लगायत कुनै पनि बस्तु शिला बन्दा रहेछन भन्न मिल्ने सबुतहरु भेटिन्छन् ।

क्यामिनकोट

तत्कालिन मिर्लुङकोट राज्यको पश्चिमतर्फको सुरक्षाकवचको गढीको रुपमा रहेको थियो। सोही क्यामिनकोट हाल व्यास न.पा. ८ को कोटथोकमा पर्दछ । कलेस्ती दोभानदेखि रिस्ती दोभानसम्म फैलिएको क्यामिनकोट गौंडाले सुराकी र मिर्लुङकोटको रक्षाकवचको रुपमा उभिएर रहेको थियो । व्यास गर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य हरि सिंह गुरुङले क्यामिनकोटको परिचय दिने क्रममा बाइसी चौबिसीको समयमा तनहुँसुर कालिका, क्यामिनकालिका र दुम्सीकोट कालिकाको  मन्दिरहरुमा ऐनाको संकेतबाट एउटै समयमा कालिकामाइको पूजाआजा हुने कुरा आफ्ना अग्रजहरुबाट सुनेको बताउँछन् । मिर्लुङ्कोटका गुरुङहरु र दलभञ्ज्याङका थापाहरु मिर्लुङकोटको सुरक्षाको ढाल बनेर रहेका थिए । समुन्द्र सतहबाट १२०० मिटरको उचाइमा रहेको यस कोटमा क्यामिन कालिका माइको मन्दिर, मर्मादेवी मन्दिर, कन्यादेवी मन्दिर रहेका छन् । क्यामिनकोटमा पूजा गरिने कन्यादेवी मन्दिर उनै अद्रिका अप्सरा भएको क्यामिन निवासीहरु बताउँछन् ।
क्यामिनकोट कालिकामा यहाँका साविक १ देखि ७ सम्मका र ९ नं. वडाका बासिन्दाहरुले कालिका माताको पूजाआजा क्यामिनकोटमा गर्दै आएका छन् । साविक क्यामिन–८ पाथ्राका बासिन्दाहरु पाथ्रा नजिकको कालिकामाईको मन्दिरमा बडादसै र चैतै दसैंका बेलामा दिल खोलेर पूजाआजा गदैं आएका छन् । व्यास–७ बोटेटारका बाहुन, बोटे, गुरुङ एवं अन्य जातजातिका मानिसहरुले सप्तमिका दिन हरेक घर घर पसेर फूलपाती टिप्ने र उखुको लाँक्रा तथा बेलपत्र सहितको फूलपातीको डोली बोकेर कालीका माताको मन्दिरमा फूलपाती भित्र्याउँदै आएको पाइन्छ ।
बाइसी चौबिसी कालको तनहुँराज्यका काजी खलक बरुवंशका न्यौपानेहरुमा देखिएको उदासिनतामा क्यामिन कालिका, पाथ्रा कालिका अन्नापूर्ण देवी, थानीमाइ, शिःसाघाटका गणेशरुपि हात्तीढुङगा, शिःसाकोटी महादेव, लमजुङ तर्फको गौरीशङ्कर मन्दिर, क्यामिन बेसीकैअद्रिका अप्सरा रुपी मत्स्यशिला र न्यौपानेहरुका कुलायन देवताले सद्बुद्धि प्रदान गरुन भन्दै सनातन धर्ममा जोडबल पुगोस यही शुभेच्छा छ । अस्तु ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker