माघे संक्रान्ति र व्यास अवतरण दिवस
देव बस्न्यात

विषय प्रवेश
हाम्रो पूर्वीय ज्योतिष पात्रो अनुसार एक वर्षमा बाह्र महिना र बाह्रवटा राशी हुने गर्दछ । विक्रम सम्बत अनुसार बाह्र महिनामा बैशाख, जेठ, असार, श्रावण, भदौ, असोज, कार्तिक, मंसिर, पुष, माघ फागुन र चैत्र महिनाहरु पर्दछन । यी बाह्र महिना मध्ये माघ दशौ महिना हो । यसै गरी बाह्र राशीहरुमा मेष, वृष, मिथुन, कर्कट, सिंह कन्या, तुला, वृश्चिक, धनु, ज्ञमकर, कुम्भ र मीन राशी पर्दछन । पृथ्वीले सूर्यको परिक्रमा गर्दा प्रत्येक महिनाको पहिलो दिन सूर्य एक राशि बाट अर्को राशिमा सर्ने मान्यता छ । यसरी एक राशिबाट अर्को राशिमा सर्ने महिनाकोे प्रथम दिन लाई सक्रान्ति भनिन्छ । धनु राशी बाट मकर राशिमा सर्न, Transmigration हुने, स्थानान्तरण हुने, मकर रेखामा पर्ने तथा दक्षिणायणबाट उत्तरायण सुरु हुने दिनलाई मकर संक्रान्ति भन्ने जनाउँछ । नेपालमा प्रचलित विक्रम सम्वतको परम्परागत पात्रो चन्द्रमासमा आधारित रहेको पाइन्छ । चन्द्रमासमा आधारित पात्रो अनुसार महिना Reconcile गर्न गाह्रो हुने भएकाले पनि विक्रम सम्वतमा महिना परिवर्तन हुने प्रकृया भने सौर्य प्रणालीमा विकास गरेको पाइन्छ ।
संक्रान्तिको महत्व
मत्स्यपुराण अनुसार संक्रान्तिका दिन तिलयुक्त सहितको जलले नुहाएर व्रत बस्न पर्दछ । व्रताधारी पुरुषले सक्रान्तिका दिन पितृहरुलाई तर्पण दिइ सकेपछि ब्राह्मणलाई भोजन र यथासक्य सुनको गरगहना दान गरी दिनको मध्यान्हमा एक छाक भोजन गरेमा महापूण्य मिल्ने बताइएको छ । विशेषत मेष सक्रान्तिमा भेडा, वृषमा गाइ, मिथुनमा कपडा, भोजन र पिउने कुरा, कर्कटमा घिउ, सिंहमा सुन, हाती, घोडा वा मोटर, कन्यामा कपडा, अन्न र गाई, तुला र वृश्चिकमा कपडा र घर, कुम्भमा सागपात घाँस, पानी र गाई र मीन संक्रान्तिमा फूल, दान गरेमा पूण्य मिल्ने गर्दछ। आइतवार पर्ने संक्रान्ति घोरा, सोमवार पर्ने ध्वाँशी, मंगलवार पर्ने महोदरी, बुधवार पर्ने मन्दाकिनी विहीवार पर्ने मन्दा शुक्रवार पर्ने मिश्रिता र शनिवार पर्ने संक्रान्तिलाई राक्षशी भनिन्छ। ब्राह्मणका लागि मन्दा, क्षत्रीका लागि मन्दाकिनी, वैश्यका लागि ध्वांशी, शुद्रका लागि घोरा, चोरका लागि महोदरी र रक्सीजन्य पदार्थ बेच्ने व्यापारीहरुका लागि राक्षसी र चाण्डाल र शिल्पिकारहरुका लागि मिश्रिता सक्रान्तिमा उपवास एवं व्रत गर्न उपयुक्त मानिएको छ । वास्तवमा माघे सक्रान्तिको उपवास र व्रत तीन दिनसम्म गर्नु पर्दछ । धर्मशास्त्र अनुसार संक्रान्तिका दिनहरु अति नै पवित्र मानिन्छन्। यस्ता पवित्र दिनहरुमा नदी स्नान, व्रत, दान र उपवास जस्ता कार्यहरु गर्न सकिने र यस्ता कार्यहरु गरेमा शाश्त्रानुसार पूण्य मिल्ने कुरा उल्लेख भएको पाइन्छ ।
नयाँ मौसम सुरुवातको संकेत
जाडो याम समाप्त भएर गर्मी समय आउने संकेतको रुपमा माघे संक्रान्ति पर्वलाई लिने गरिन्छ । अर्थात यस माघे संक्रान्तिले जाडो समयलाई बिदा दिएर गरम दिनहरुको स्वागत तथा नयाँ मौसम शुभारम्भको संकेत दिने गरेको विश्वास रहेको छ । वर्षान्तका महत्वपूर्ण फसल तथा अन्नवाली भित्र्याएर वर्ष भरी आनन्दसाथ गांसवासको व्यवस्था मिलाइ सकिएको खुशीयाली तथा नयाँवर्षको शुभारम्भ भएको उपलक्षमा माघे सक्रान्ति मनाउने गरिन्छ । अर्को तर्फ गरम मौसमको सुरुआतसंगै गाउँ शहरमा फैलन सक्ने अनेक प्रकारका रोगव्याधीहरुले सताउने भएकाले मानिसहरु भयका साथ बाँचिन्छ की मरिन्छ भनेर डराई डराइ मनाउने पर्वको रुपमा पनि यसलाई हेर्ने गरिन्छ । यसै गरी वर्षान्तको मध्य समय साउने संक्रान्तिमा अब जाडो समय आउने भयो रोग व्याधा हटेर जाने भएकाले अब त बाँचियो भनेर मनाउने परम्परा रहेको छ । हिन्दु धर्म शास्त्र अनुसार यही मकर संक्रान्तिका दिन देखिनै नयाँ शुभकार्य तथा पवित्र धार्मिक अनुष्ठानहरु सुरु गर्न सकिने जनविश्वास रहेको पाइन्छ ।
माघे संक्रान्ति सूर्यदेव उपासनाको संक्रान्ति
हिन्दु धर्मानुसार यस ब्रह्माण्डमा ३३ कोटी देवी देवता भएको स्वीकारिएको छ । ३३ कोटी देवी देवता मध्ये हाम्रो शरिरमा भएको स्पर्शले थाहा हुने वायु देवता, आँखाले प्रत्यक्ष देखिने सूर्य र चन्द्रमा बाहेक अन्य देवता अनुभूत गर्न सकिने भएकाले माघे सक्रान्तिलाई सूर्य दर्शनको रुपमा पनि हेर्ने गरिन्छ । अर्थात यस दिनलाई सूर्य देवताको प्रतिक, देवत्व र सतबुद्धिको पर्वको रुपमा उपासना गर्ने परम्परा रहेको छ। त्यसैले यसलाई सूर्य सक्रान्ति पनि भन्न अतिसयोक्ति नहोला ।
माघे संक्रान्ति तिले संक्रान्ति
कुनै समयमा भक्तपुरमा एक जना व्यापारी बस्ने गर्दथ्यो । विशेषत उ तिलको व्यापारी थियो। एक पटक माघे संक्रान्तिका दिन उस्ले तिल माधव स्थानमा तिल बेची रहेको थियो । जती तिल बेचे पनि उस्को तिल सिद्धिने लक्षण देखिएन । व्यापारी आश्चर्य चकित भयो ।उक्त व्यापारीले तिलको थुप्रोमा खोस्रेर हे¥यो । तिल भएको स्थानमा खोसे्रेर हेर्दा विष्णुको मूर्ति भेटियो । व्यापारीले तिल बेचेको सोही स्थान भक्तपुरको तौमढी टोलको तिलमाधव स्थानमा सम्मान पूर्वक तिलमाधव विष्णु देवताको मूर्ति स्थापना गरेको थियो । तिलमाधवको पुजा आरधना गरेमा सम्बृद्धि र धन प्राप्त हुने विश्वास गरिन्छ । माघे सक्रान्तिमा तिल, चाकु, घिउ दान गर्ने परम्परा रहेको छ । यस दिन मासको खिचडी र फूलौरा खाने र खुवाउने पनि गरिन्छ । त्यसैले सोही समय देखि माघे सक्रान्तिलाई तिले संक्रान्ति पनि भनिन्छ । यसै गरी माघे संक्रान्तिमा बागमती र शंखमूल संगम स्थलमा नुहाएपछि रातो मत्स्येन्द्रनाथको दर्शन गर्ने र भक्तपुरमा भने दिपंकर बुद्धको पूजा र पञ्चदानगर्ने परम्परा रहेको छ ।
माघे संक्रान्ति कन्दमूल दिवस
मानव जातिले सभ्यताको विकास गरेसंगै यस दिनलाई कन्दमूल दिवसको रुपमा मान्दै आएको धेरै वर्ष भयो । पौष मसान्तका दिन बनस्खण्डी तरुल, पिंडालु, शखरखण्डलाई पौष मसान्तका दिन उसिनेर तथा पोलेर माघे संक्रान्तिका दिन खाने र खुवाउने गरिन्छ । यसैले माघे संक्रान्तिको यस दिनलाई कन्दमूल दिवस भनिएको हो माघे सक्रान्ति पर्वका दिन नेपाल सरकारले राष्ट्रिय योगदिवस मनाउँदै आएको हुनाले यस दिन जिल्ला आर्युवेद अस्पताल दमौली तनहुँले राष्ट्रिय योग दिवसका साथ साथै कन्दमूल खाने र खुवाउने कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।
माघे संक्रान्तिको मरण पुनर्जन्म नहुने जन विश्वासयुक्त महान पर्व
वेदव्यास रचित महाभारत ग्रन्थमा हस्तिनापुर नरेश शन्तनु र गंगा रानीका तर्फबाट भिष्म नाम गरेका छोरा जन्मेका थिए । तिनै भिष्मले महान प्रतिज्ञा गरेकाले उनले आफ्ना पिता सान्तनुबाट इच्छामृत्युको वर प्राप्त गरेका थिए । पाण्डव र कौरव पक्षबीच भएको धर्मयुद्धमा कौरव पक्षका सेनापति भिष्म अर्जुनका सहस्र वाणबाट घाइते भएका थिए । जीवन र मृत्युको दोसांधमा सरशैय्यामा रहेका भिष्म पितामहले स्वर्ग गमन र पुनःजन्मबाट मोक्ष प्राप्त गर्ने हेतुले उत्तरायणको दिन यही माघे सक्रान्तिका दिन मृत्युवरण रोजेका थिए रे भन्ने वृहत चर्चा महर्षि वेदव्यास रचित महाभारत ग्रन्थमा पाइन्छ । यसैले माघे सक्रान्तिलाई जन्म मृत्युको चक्करबाट मुक्त हुने पर्वको रुपमा मान्ने गरिएको हो भन्ने जनविश्वास रहेको छ ।
नेपालमा माघे संक्रान्ति
मकर संक्रान्ति विशेषत पवित्र (Holi) तीन नदीको संगमस्थल तथा त्रिवेणीमा मनाउने गरिन्छ । काठमाण्डौको वागमती नदी र शंखमूलको संगमस्थल, पनौतीको त्रिवेणीघाट, नवलपरासीको गण्डकी तथा नारायणी नदी, पञ्चखोला र तमसा खोलाको संगमस्थल त्रिवेणीघाट, कालीगण्डकी र त्रिशुलीनदीको संगमस्थल देवघाट, दमौली सेती, मादी र व्यासनदीको त्रिवेणी दमौलीघाट, मस्र्याङ्गदी र चेपेनदीको संगमस्थल चेपेघाट, सुनकोशी, तमोर नदी नदी र कोकानदीको संगमस्थल वराहक्षेत्र, इन्द्रावती नदी र सुनकोशी नदीको संगमस्थल दोलालघाट, रिडी खोला र कालीगण्डकी संगम स्थल रिडी, रामपुरक्षेत्र स्थित कालीगण्डकी स्थल केलादीघाट, झापाको कन्काई नदीको संगमस्थल माघी स्नानका लागि प्रसिद्ध स्थानहरु मानिन्छन् ।
नेपालका १२६ जातजाति सबैले माघे संक्रान्तिको पर्व हर्सोल्लासका साथ मनाउने गर्दछन् । विशेषत तराइका थारुहरु र पहाडका मगरहरुले माघे संक्रान्तिलाई महानपर्वको रुपमा मनाउने गर्दछन् । यसै गरी काठमाण्डौका र अन्यत्र छरिएर रहेका नेवारहरुले पनि आफ्नो शरिर र टाउकोमा तीलको तेल मालिस गरेर घिउ चाकु र तीलको लड्डु, खुदोमा भुजा तथा खट्टे मलेर बनाइएको लड्डु खाने परम्परा रहेको छ । पौराणिक यस्ता प्रविधिले मानिसको शरीरलाई स्वास्थ्य राख्न मद्यत गर्दछ भन्ने जन विश्वास रहेको छ । यस पर्वलाई बांँके, बर्दिया, कैलाली कञ्चनपुरका थारुहरुले पौषको अन्तिम हप्ताको तीन दिन अगावै देखि नै माघी मनाउने परम्परा रहेको छ । थारुहरुले माघी महान उत्सव मनाउने र भोज खाने समयमा घरका सबै सदस्य अनिवार्य घरमा उपस्थित हुन पर्ने परम्परा रहेको छ। यदी परिवारको कुनै सदस्य उपस्थित भएन भने माघीपर्व नरमाइलो हुने परम्परा रहेको छ । जाडोको अन्त्य र गरम महिना आगमनको चिनो स्वरुप मनाइने माघीपर्वलाई थारुहरुले नयाँवर्षको उत्सवको रुपमा पनि मनाउने गर्दछन्। यस माघीपर्वका अवसरमा थारुहरुले फुलौरा, सेलरोटी, सुंगुर तथा कखुराको मासुका साथ रक्सीजन्य पेय पदार्थ खाने र तन्देरी तरुनी मिलेर हर्षोल्लासका सथा नाँच गान गरेर मनाउने गर्दछन्। थारु जातिहरुले आगामी नयाँ वर्षका लागि समाजमा आवश्यक न्याय दिनका लागि न्यायाधिश भल्मन्सा, उपचार गर्नका लागि गुरौ, गाउँको मुखिया, महतो, चिरागी जस्ता महत्वपूर्ण व्यक्तित्वहरु आफ्नै समाज भित्रबाट माघीपर्वकै बेलामा छान्ने परम्परा रहेको पाइन्छ जस्लाई खोजिनी र भोजिनी भन्ने गरिन्छ ।
साँच्चै भन्ने हो भने तनहुँको व्यास भूमि दमौली मगरात क्षेत्रमा पर्दछ। यहाँका मगरहरुले माघे संक्रान्ति लाग्नु केही दिन अगावै वनजंगलमा गएर तरुल गिट्ठा भ्याकुर जस्ता कन्दमूल संकलन गर्ने, पौष मसान्तका दिन रातभर रोदी बस्ने र माघे सक्रान्तिका दिन धनुवाण खेल्ने, धनुवाणमा विजयी खेलाडीलाई फूलामाला लगाउने, महादेव मन्दिरमा घुमाएर उल्लासमय वातावरणमा केटाकेटी कोैराको गीत गाउने र नाच्ने गर्दछन् । यस दिन मगरहरुले जौका मुना–झोप्ल्यानी उखेलेर पितृलाई चढाएर आफ्नो शीरमा सिउरने र मान्यजनहरुबाट दही चामलको सेतो टिका लगाउने चलन थियो । यही चलनलाई नेपालको खस–आर्य समुदायका मानिसहरुले दशैंमा टिका तथा जमरा लगाउने प्रचलन चलाएका हुन् । तनहुँ दमौली भेगका आदिवासी मगर तथा दरैहरुले माघे संक्रान्तिलाई धार्मिक हिसावले भन्दा पनि सांस्कृत्तिक हिसावले भव्य रुपमा मनाउने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन बागलुङ गलकोटका मगरहरु पितृको नाममा माघेको पातमा पाएसम्म वंदेलको सुकुटी र घिउमा फुराएको चामललाई अगेनाको नजिक अम्टोमा र छानामा घुसारेर राख्ने गर्दछन् । यसै गरी रुकुमका मगरहरुले सिस्नो जरा खान आउने वदेलको सिकार गर्ने परम्परा अझपनि जीवन्त रहेको पाउँदछौं ।
गण्डकी प्रश्रवण तथा तनहुँ भेगका मगरहरु भने बिहानै नजिकको जलाशय (कुवा, पंधेरा खोला, तथा नदी) मा गएर स्नान गरेर पितृलाई सझेर केराको पातमा एक/एक मुठी चामल, मासको दाल, अदुवाको टुक्राहरु, सिद्रा माछा, घर वरपरका फलफूल र मकै तथा चामलबाट बनेको जाँडहरु सात ठाउँमा राखेर व्यक्तिगत र सामुहिक हिसावले चढाउने गर्दछन् जस्लाई मगर भाषामा ‘याहाँके’ र पितृलाई पानी चढाउने प्रकृयालाई ‘डिहाके’ भन्ने गरिन्छ । प्रकृतिका उपासक मगरहरुले आफ्ना पितृ र प्रकृतिको सामुहिक पूजाआजा गरेर पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षको सुरवात भएको उपलक्षमा आफ्नै किसिमका नाच गान प्रस्तुत गरेर हर्षोलासका साथ माघे संक्रान्ति पर्व मनाउने गर्दछन्। विशेषत माघे संक्रान्ति पर्वलाई मानिस कृषि युगमा प्रवेश गर्नु पूर्वको शिकारी युगको झल्को दिवश हो भन्दा अत्युक्ति नहोला ।
छिमेकी राष्ट्र भारतको हरियाणा, हिमाचल र पञ्जावमा माघी, तमिलनाडुमा पोङगाल, आसाममा माघ बिहु तथा भोगाली बिहु, कश्मिरमा शिशुर शयन्क्रान्त, थाइलैण्डमा सोङ्गक्रान, कम्बोडियामा मोहासङक्रान, बर्मामा थिङ्गयान र लाओसमा पि–मा–लाख नामले माघे सक्रान्ति पर्व मनाउने गरेको पाउँदछौं ।
दमौलीमा माघे संक्रान्ति
व्यास जन्म भूमि दमौलीमा पनि सेती, मादी र व्यास नदी (बुल्दी खोला)को त्रीवेणीमा हरेक वर्ष माघे संक्रान्तिको मेला लाग्दछ । कुरुक्षेत्रको युद्धमा मृत्युवरण गरेका एक अरब ८६ करोड योद्धाहरु मध्ये अगती प्राप्त गरेका भूतप्रेत पिचास मसानहरु र दमौलीको जयशीला चौर तथा व्यासेश्वर महादेव मन्दिर (शैलशम्भु) रहेको स्थानमा रातभर जाग्रम रही नाँचगानका साथ रमाइलो गरी बसेका नरनारीहरु विहानको ब्रह्म मुहुर्तमा दमौलीघाटमा स्नान गरेर सेती नदीमा पाक्ने खिरको प्रसाद लिन तंछाडमछाड गर्थे रे भन्ने जनोक्ति रहेको छ । अर्को तर्फ बैशाख महिनाको दशहरा तिथिमा पराशर ऋषिबाट गर्भवती भएकी मत्स्यगन्धाले माघे संक्रान्तिका दिन दिउँसोको ४ बजेको समयमा वेदव्यासको जन्म दिएको जनश्रुति सुनिन्छ । पराशर–मत्स्यगन्धा सहवास समयमा सृष्टि गरिएको कुहिरोको भुल्कोलाई वेदव्यास जन्मको सांकेतिक स्वरुपको दर्शन गर्न खोलाटोलामा भूतप्रेत पिचास मसान र सेती, मादी र व्यास नदीको त्रीवेणीको बीचको पाखावारीमा नरनारीको भिड लाग्ने कहावत रहेको छ । यस सन्दर्भमा योगी नरहरिनाथले दमौलीको सेतीमादी संगम नजिक दिनको ३ बजेको आसपासमा कुहिरोको भुल्को देखेको र सो भुल्को आफु स्वयंले पनि देखेको कुरा दमौली गाउँ पञ्चायतका तत्कालीन पूर्वप्रधानपञ्च स्व. पुरुषोत्तम काफ्लेले यस लेखकलाई बताएका थिए ।
माघे संक्रान्ति नै व्यासको अवतरण (जन्म) दिवश
वेदव्यास ज्ञानको असीम र अनन्त सागर हुनुहुन्छ । भगवान व्यास समान अर्को महानगुरु यस जगतको उपलव्ध इतिहांसमा अर्को कोही नभएकाले महर्षि वेदव्यासको जन्म र कर्मभूभि दमौली हो र माघे संक्रान्ति उहाँको अवतरण दिवस (जन्मोत्सव) हो भनेर यस विश्वमा सन्देश पु¥याउने बेला आइसकेको छ। महर्षि वेदव्यासले आफ्ना शिष्यहरु पैल, जैमिनी, शुकदेव र रोमहर्षलाई गुरुपूर्णिमाको दिनमा नै श्रुतिमा रहेको वैदिक ज्ञानलाई लिपिबद्ध गरी प्रदान गरेका थिए। तिनै शिष्यहरुले गुरु वेदव्यासबाट ज्ञान आर्जन गरेका हुनाले आफ्ना गुरुको स्मरणमा प्रतिवर्ष गुरु पूर्णिमा मनाई यसको प्रचार प्रसार संसारभर गरी ज्ञानको ज्योति फैलाएका थिए रे । ज्ञानको ज्योति प्रवाह गरेको दिनलाई गुरुपूर्णिमा र विक्रम सम्वत २०३१ साल माघ १ गतेदेखि माघे संक्रान्तिलाई व्यास अवतरण दिवस (वेदव्यास स्मृति पर्व)को रुपमा पत्येक वर्ष मनाउने गरिएको हो भनेर व्यासका अध्येता काशीनाथ न्यौपानेले आफ्ना लेख मार्फत प्रकाश पार्नु भएको र यसबारेमा योगी नरहरिनाथको सर सल्लाहमा आफूले व्यास अवतरण दिवश मनाउँदै आएको कुरा तत्कालीन दमौली गाउँ पञ्चायतका प्रधानपञ्च पुरुषोत्तम काफ्लेले बताए । कहिले काही प्रमाण नभेटिएको सन्र्दभमा शास्त्रानुसार “सतां सन्देह पदेषुवस्तुसु प्रमाणमन्तकरण प्रवृत्तय ।।” भन्ने गरिन्छ । अर्थात विद्वान र साधुहरुको जहाँ अन्तकरण आकर्षित हुन्छ र त्यही नै उस्को प्रमाण हो भनिन्छ । यस सम्बन्धमा इतिहासविद योगि नरहरिनाथले “देवभूमि भारत एवं आध्यात्मिक नेपाल”को पृष्ठ ४३ मा व्यास अवतरणको सन्दर्भमा यसरी उल्लेख गर्नु भएको छ ।
व्यास (जन्म–तिथौ माघी–संक्रान्तौ स्मृतामाञ्जनः ।
व्यास जन्मोत्सवं यत्र कुरुते प्रतिवत्सरम् ।।५६।।
व्यास जन्म तिथिमिति माघे संक्रान्ति हो । यहाँ प्रतिवर्ष माघे सक्रान्तिमा व्यास अवतरण दिवश मनाइन्छ। तर व्यास अवतरण दिवसको सन्दर्भमा हाम्रा पुरोहित विद्वान पण्डितहरु सत्य शब्द भन्न लजाउँछन्। महर्षि वेदव्यासको जन्म माघे संक्रान्ति भन्ने हिम्मत जुटाएमा अरुबाट अपमानित हुनु पर्छकी भन्ने मन भित्र भयले बास गरेको छ । मनमा त्रास पालेका विद्वानहरु योगि नरहरिनाथलाई सराप्दै कुटिल शासक तथा विद्वान मूर्खहरुको नुनको सोझो गर्न तत्पर हुन पुगेका छन् । जानेर वा बुझ पचाएर भएपनि महर्षि वेदव्यासको जन्म माघे संक्रान्ति हो भन्न हिम्मत गर्न सक्दैनन । जन्म दिवस नमनाएर मृत्यु तिथिलाई पितृ श्रद्धाको खातिर श्राद्ध गर्ने हाम्रो परम्परा हो । यसैले महर्षि वेदव्यासले वेदलाई लिपिबद्ध गरी आफ्ना शिष्यहरुलाई गरुमन्त्र सहित ज्ञानको ज्योति प्रदान गरेको दिन गुरुपूर्णिमालाई नै व्यास जयन्ति भन्न रुचाएका हुन भन्दा अत्युक्ति नहोला ।