सरकारले दुईतिहाइको दम्भ देखाए कांग्रेस चुप बस्दैन : महामन्त्री पौडेल

दुलेगौंडा : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले सरकारले दुईतिहाइ बहुमतको दम्भ देखाएर लोकतन्त्र र कानुनी शासनमाथि प्रहार गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले आइतबार दुलेगौंडामा आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारका सकारात्मक काममा समर्थन गर्ने तर लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भए प्रतिवाद गर्ने बताए । उनले भने, ‘सरकारले राम्रो गर्दा खुलेर समर्थन गर्नेछौँ । दुईतिहाइको दम्भ देखाएर कानुनभन्दा माथि जाने र लोकतन्त्र समाप्त गर्ने बाटोमा गए कांग्रेस चुप लागेर बस्दैन ।’
पूर्वमन्त्रीसमेत रहेका पौडेलले नयाँ राजनीतिक शक्तिले ठूलो जनसमर्थनसहित नेतृत्व गरिरहेकाले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । कांग्रेसको १५औँ महाधिवेशनको प्रसङ्ग उठाउँदै उनले पार्टीभित्र सबैलाई समेट्ने प्रयास गरिएको बताए । केही नेता तथा कार्यकर्ता बाहिर रहे पनि उनीहरूलाई पार्टीको मूलधारमा फर्कन उनले आग्रह गरे ।
विशेष महाधिवेशन विधिविपरीत भएको भन्ने असन्तुष्टि भए नियमित महाधिवेशनमा सहभागी भएर आफ्ना धारणा राख्नुपर्ने उनको भनाइ थियो। महाधिवेशनपछि पार्टीमा व्यापक एकता कायम भएको उल्लेख गर्दै पौडेलले अग्रज नेताहरूको योगदानको सम्मान गरिने स्पष्ट पारे ।
‘हिजो जिम्मेवारी सम्हालेर संघर्ष गर्दै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । अग्रजलाई अपमान गर्ने कुनै मनसाय थिएन’, उनले भने, ‘पार्टीको जिम्मेवारी महाधिवेशनसम्बन्धी विवादमा मात्र सीमित नरहेको र जनताका समस्या तथा जनजीविकाका सवालमा कांग्रेस केन्द्रित हुनुपर्दछ ।’
नगर सभापति कृष्णप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक भट्टराई, तनहुँका निवर्तमान सभापति एवं व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला उपसभापति एवं ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले र कृष्ण केसी, शुक्लागण्डकी नगरप्रमुख कृष्णराज पण्डित तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
राजनीतिक दलबीच आपसी सम्बन्ध सुदृढ गर्ने, चाडपर्वको खुसी साटासाट गर्ने र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले पहिलोपटक स्थानीयस्तरमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने नगर कार्यसमितिले जनाएको छ ।










