बन्दीपुरको डुम्रेमा सञ्चालित कपडा बैंकमा २० केजी कपडा सहयोग

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ मा सञ्चालित कपडा बैंकमा भानु नगरपालिका–५, सेपाबगैंचाकी सीता बानियाले २० केजी पुनः प्रयोग गर्न मिल्ने कपडा सहयोग गरेकी छन् ।
आवश्यकतामा रहेका व्यक्तिलाई कपडा उपलब्ध गराउने तथा प्रयोग गर्न मिल्ने कपडाको पुनः उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कपडा बैंकमा बानियाले कपडा सहयोग गरेकी हुन् ।
घरमा प्रयोग गर्न नमिल्ने तर पुनः प्रयोग गर्न सकिने कपडा फाल्नुको सट्टा कपडा बैंकमा उपलब्ध गराउन सकिने गरी वडा कार्यालयमा कपडा बैंक सञ्चालनमा ल्याइएको बन्दीपुर गाउँपालिका–१ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी गराए । उनले भने, ‘यसबाट आर्थिक रूपमा कमजोर तथा कपडाको आवश्यकता भएका व्यक्तिलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
वडाले घरमा रहेका पुनः प्रयोग गर्न मिल्ने कपडा कपडा बैंकमा जम्मा गरी सामाजिक सहयोगको अभियानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ । इच्छुक व्यक्तिले बन्दीपुर गाउँपालिका–१ को वडा कार्यालय भवन परिसरमा राखिएको कपडा डोनेसन बक्समा कपडा उपलब्ध गराउन सक्नेछन् । कपडाको पुनः प्रयोगले स्रोतसाधनको सदुपयोग हुनुका साथै आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।










