पृथ्वीराजमार्गको स्वरूप फेरिंदै, पोखरा जोड्ने सडक अन्तिम चरणमा
पश्चिम खण्डको भौतिक प्रगति ७०.८ प्रतिशत, मुख्य काम मंसिर १० भित्र सक्ने लक्ष्य

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि कास्कीको पोखरासम्म सडक स्तरोन्नतिले यातायातको पुरानो स्वरूप बदल्दै लगेको छ । पाँच दशकअघि निर्माण भएको दुई लेनको राजमार्ग अहिले सहरी क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार भइरहेको छ । स्तरोन्नतिपछि राजधानी काठमाडौँ र गण्डकी प्रदेशको प्रमुख सहर पोखराबीचको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारयोजना अन्तर्गत पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम खण्डमा मुख्य सडक निर्माणका अधिकांश काम पूरा भएका छन् । सडक विस्तारसँगै पुल, सहायक सडक, फुटपाथ र अन्य संरचना निर्माणले राजमार्गको स्वरूप फेरिँदै गएको छ। यद्यपि, पश्चिम खण्डमा सर्भिस लेन, फुटपाथ, रङरोगन तथा केही सौन्दर्यकरणका काम अझै बाँकी छन् ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर सडकलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्मको ३८.४ किलोमिटरलाई पश्चिम खण्ड बनाएर योजना सञ्चालन गरिएको हो । पश्चिम खण्डको समग्र भौतिक प्रगति ७०.८ प्रतिशत पुगेको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।
निर्माण कम्पनीको पछिल्लो म्याद आगामी मंसिर १० गतेसम्म रहेकाले त्यस अवधिभित्र मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । सडक निर्माणको काम निर्धारित समयमै सक्ने तयारी भए पनि केही सौन्दर्यकरणसम्बन्धी काम भने त्यसपछि पनि जारी रहन सक्ने उनको भनाइ छ ।
कुँवरले भने, ‘पृथ्वीचोकका दुई सिग्नेचर पुल यो वर्षभित्र सकिने गतिमा छन् । सडक खण्ड पनि म्यादभित्रै सकिन्छ, केही सौन्दर्यकरणका काम बाँकी रहलान् ।’
वि.सं. २०७८ जेठमा ठेक्का सम्झौता भएको पश्चिम खण्डको निर्माणको जिम्मा चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस खण्डको ठेक्का लागत सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
सडक विस्तारले बदलिँदै सहरी स्वरूप
पश्चिम खण्डमा पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको सडक निर्माण गरिएको छ । अन्य क्षेत्रमा चार लेनको सडक बनाइएको छ। आयोजनाअन्तर्गत चार लेनको १८ मिटर चौडा सडक १२ किलोमिटर, चार लेनको २३ मिटर चौडा सडक ८.५ किलोमिटर र छ लेनको ४६ मिटर चौडा सडक १८.३ किलोमिटर निर्माण गरिएको छ ।
सडक विस्तारसँगै सवारीसाधनको चाप व्यवस्थापन, सहरी आवागमन सहज बनाउने र यात्राको समय घटाउने अपेक्षा गरिएको छ। तर, सडकको चौडाइ बढे पनि आवश्यक सहायक संरचना र पुलको निर्माण पूरा नभएसम्म यातायात व्यवस्थापनमा अपेक्षित सुधार आउन कठिन हुने देखिन्छ ।
पश्चिम खण्डमा चार ठूला र आठ साना पुल निर्माण गर्ने योजना छ । सेती नदीस्थित पृथ्वीचोकमा निर्माणाधीन दुई सिग्नेचर पुलबाहेक अन्य पुलको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
पोखरा महानगर क्षेत्रमा खानेपानीका पाइप र विद्युत्का पोल व्यवस्थापन गर्न तथा सडक मापदण्डभित्र पर्ने संरचना हटाउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो । कास्की क्षेत्रमा मापदण्डमा पर्ने ३७ घरको क्षतिपूर्ति हालै निर्धारण भएको छ भने तनहुँतर्फ चार घरको क्षतिपूर्ति निर्धारण हुन बाँकी छ ।
कास्की क्षेत्र नं. २ का सांसद उत्तमप्रसाद पौडेलले पृथ्वीराजमार्ग पोखरा र समग्र गण्डकी प्रदेशको आर्थिक तथा यातायात सम्पर्कका दृष्टिले महत्वपूर्ण रहेको बताए । आयोजनामा देखिएका समस्या समाधान गरी थप ढिलाइ हुन नदिन पहल भइरहेको उनको भनाइ छ । पौडेलले भने, ‘आयोजनामा आएका अप्ठेरा हटाउन पनि हामी लागेका छौँ, कुनै पनि बहानामा थप ढिलाइ हुनु हुँदैन ।’
पृथ्वीचोकका दुई पुलले जाम घटाउने अपेक्षा
पोखराको पृथ्वीचोकस्थित चाइनापुल अहिलेको सडक विस्तारअनुसार पर्याप्त क्षमताको नहुँदा सवारी चापका बेला जाम हुने गरेको छ। चार लेनको सडकमा दुई लेनको पुल मात्र रहेकाले सवारी आवागमन प्रभावित हुँदै आएको छ । यही समस्या समाधान गर्न पुरानो पुलको उत्तर र दक्षिणतर्फ दुई लेनका छुट्टाछुट्टै सिग्नेचर पुल निर्माण भइरहेका छन् ।
दुवै पुल निर्माण सम्पन्न भएपछि सेती नदीमाथि पुरानो पुलसहित तीन पुल सञ्चालनमा आउनेछन् । यसले पृथ्वीचोक क्षेत्रमा सवारीसाधनको आवागमन सहज बनाउने र सडकको क्षमताअनुसार यातायात सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाका इन्जिनियर अनन्त बरालका अनुसार उत्तरतर्फको पुल पुस दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य छ भने दक्षिणतर्फको पुल असारभित्र निर्माण सक्ने योजना छ । माथिल्लो पुल जनवरीदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए ।
बरालले भने, ‘निर्माणका केही जनशक्ति चीनबाट झिकाउनुपर्ने भएकाले यो प्रक्रिया अघि बढाइएको छ, जनवरीबाट माथिल्लो पुल सञ्चालन गर्ने योजना छ ।’
एक अर्ब सात करोड २४ लाख रुपैयाँ लागतमा रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुवै पुल निर्माण गरिरहेको छ । प्रत्येक पुल १९० मिटर लामो र दुई लेनको हुनेछ । उपलब्ध विवरणअनुसार पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
पृथ्वीराजमार्गको स्तरोन्नतिले सडकको चौडाइ मात्र बढाएको छैन, पोखरा प्रवेश गर्ने मुख्य मार्गको यातायात संरचना पनि परिवर्तन गर्दैछ । तर, सडक र पुल निर्माणसँगै बाँकी सहायक संरचना, मापदण्डमा पर्ने घरको क्षतिपूर्ति तथा व्यवस्थापनका काम समयमै पूरा गर्नु आयोजनाका लागि उत्तिकै महत्वपूर्ण छ ।
मुख्य निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरी सडकलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सके मात्र स्तरोन्नतिको प्रत्यक्ष लाभ यात्रु, स्थानीय बासिन्दा र व्यवसायीले पाउनेछन् ।










