दमौलीमा १५ वर्षपछि आजबाट इलेभेन ए साइड फुटबल प्रतियोगिता सुरु, विजेतालाई रु एक लाख पुरस्कार

दमौली : तनहुँको दमौलीमा १५ वर्षपछि आजबाट इलेभेन ए साइड वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा सुरु हुने प्रतियोगितामा नगरपालिकाका १४ वटै वडाका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा सम्बन्धित वडाभित्रकै खेलाडीले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ र तृतीय हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले व्यवस्थित खेलमैदानको अभावका कारण लामो समयदेखि इलेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुन नसकेको बताए । बीपी वनवाटिकास्थित खेलमैदान व्यवस्थित हुने चरणमा रहेकाले १५ वर्षपछि प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुद क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । खेलकुद गतिविधि विस्तार गर्न वडास्तरमा पूर्वाधार निर्माण भइरहेको र दमौलीमा खेलमैदानको अभाव सम्बोधन गर्न संघीय सरकारको सहयोगमा मैदान स्तरोन्नतिको काम अघि बढाइएको उनले जानकारी दिए ।
लामो समयपछि हुन लागेको प्रतियोगितालाई स्थानीय खेलाडीको प्रतिभा पहिचान र फुटबलको विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ । वडास्तरमा नियमित प्रतियोगिता सञ्चालन हुँदा खेलाडीले प्रतिस्पर्धाको अवसर पाउनुका साथै नयाँ प्रतिभालाई जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुग्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमा फुटबलको विकासका लागि प्रतियोगितासँगै नियमित प्रशिक्षण, खेलमैदानको व्यवस्थापन र खेलाडी उत्पादनमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।










