शुक्लागण्डकीको लिलाचोकका १०६ घरमा मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रम
अनुदान प्राप्त गर्न कानुनी प्रक्रिया अत्यन्तै झन्जटिलो: कृषक

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
दुइ बर्षअघि तनहुँको भीमाद नगरपालिका-९, पाथर्दीबाट शुरु गरिएको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम गण्डकी प्रदेशका विभिन्न ३६ गाउँमा संचालन गरिएको छ । प्रदेशमा रहेका करिब १४ प्रतिशत गरिबीलाई ५ बर्षमा आधा घटाउने गरी उत्पादन दोब्बर बनाउने लक्ष्यका साथ कार्यक्रम शुरु गरिएको थियो। पहिलो बर्ष कार्यक्रमका लागि छनोट भएका प्रत्येक गाउँलाई प्रदेश सरकारले ३० लाख रुपैयाँको दरले १० करोड ८० लाख विनियोजन गरेको थियो ।
दोस्रो बर्ष १५ लाखको दरले अनुदान आएको छ । उक्त अनुदान स्थानीय कृषि सहकारी तथा कृषक समुहमार्फत उपलब्ध गराइएको थियो । स्थानीय कृषकहरुले गोठ तथा भकारो सुधार, च्याप कटर, पानी तान्ने मोटर, तरकारी खेतीका लागि टनेल वितरण, फोहोर व्यवस्थापन गर्न व्यवस्थित खाल्डो खन्ने जस्ताका कार्यहरुमा लगाएका थिए ।
यस कार्यक्रम शुक्लागण्डकीको वडा नं. ९ र १२ मा पनि संचालन गरिएको छ । ९ नं. वडाको भाटडाँडा र १२ नं. वडाको लिलाचोक टोलका गरी १०६ घरमा मुख्यमन्त्री वातावरणमैत्री कार्यक्रम संचालन भएको छ । आइतबार गण्डकी प्रदेश साँसद आशा कोइराला, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कृषि विकास अधिकृत कुलप्रसाद तिवारी, भेटेरीनगरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठ, वडाध्यक्षद्वय लोकनारायण श्रेष्ठ, मनराज गुरुङ, कार्यक्रम संयोजक कोषबहादुर तामाङ लगायतले कार्यक्रम संचालन टोलमा अनुगमन गरेका छन् ।
स्थलगत अनुगमन गर्दा शुरुका वर्षमा कार्यक्रमप्रति स्थानीय कृषकमा देखिएको उत्साह कम हुँदै गएको पाइएको छ । सरकारबाट अनुदान स्वरुप प्राप्त च्याप कटर प्रयोगहिन भेटिए । गाईभैंसी र बाख्राको गोठ भौतिक रुपमा सुधार भएपनि व्यवसायिक ढङ्गले गाईभैंसी पालेको देखिएन । तरकारीका टनेल टाँगेको देखियो तर टनेलभित्र तरकारीका बोट सुकेको अवस्थामा भेटियो । अधिकांश माछाका पोखरीहरु खाली छन् । गएको बर्खामा बाढीले पोखरीको सबै माछा बगाएपछि भुरा नहालिएको माछापालक कृषकहरु बताउँछन् । केही महिनापछि भुरा हाल्ने तयारीमा जुटेको उनीहरुको भनाई छ । अनुगनमका क्रममा अधिकाँश घरमा अपेक्षित परिणाम नभेटिए पनि ८/९ घरले भने नमुनाकै रुपमा व्यवसायिक पशुपालन, माछापालन र तरकारी खेती गरेको पाइएको छ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम कार्यक्रमका १०६ मध्येका एक सदस्य हुन् लिलाचोकका विष्णुबहादुर तामाङ। २७ बर्षका विष्णुले विष्णु एग्रो फार्म दर्ता गरी व्यवसायिक रुपमा करिब ७ रोपनी १२ आना जमिनमा तरकारी खेती, २ रोपनीको पोखरीमा माछापालन हुर्काउलो पाठापाठी र माउसहित, १० वटा बंगुर, एक हजार ब्रोइलर कुखुराको चल्ला गरी बर्षमा ६/७ लट हाल्ने गरेको विष्णु सुनाउँछन् । ब्रोइलर कुखुराबाट मात्र एक लटमा ३ लाख बढीको कारोबार हुने बताए । बाबा, आमा, भाञ्जा र आफै दैनिक ४ जना काममा खटिने गरेको उनले सुनाए । मुख्यमन्त्री कार्यक्रमबाट आफुले पहिलो बर्ष तरकारीका लागि टनेल र गत बर्षपानी तान्ने मोटर पाएको कृषक विष्णुबहादुरले बताए । उनले यतिबेला बारीमा काउली, बन्दा, साग, सलगम, तोरी गोलभेडा लगाएका छन् ।
त्यस्तै लिलाचोकका नुमबहादुर गुरुङले पनि पशुपालन र तरकारी खेतीलाई व्यवसायिकतामा जोडेका छन् । उनले बाख्राको खोरसुधारमा प्रदेशबाट प्राप्त लगानी सदुपयोग गरेका छन् । स्थानीय प्रजातिका करिब ४० वटा बाख्रा रहेको उनले बताए । खेतमा टनेल हालेर गोलभेडा, सिमी, आलु र उन्नत घाँस लगाएका छन् । त्यस्तै फिरफिरे अर्गानिक कृषि फार्मले पनि फूलखेती र तरकारी उत्पादन गर्दै आएको समुहका सदस्य मदन पौडेलले बताए । स्थगलगत अनुगमनपछि भएको अन्तरक्रियामा उनले कृषकहरुबीच आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।
भाटडाँडा टोल विकास समितिका अध्यक्ष नेत्रबहादुर रानाले स्थानीय कृषि गर्न इच्छुक भएपनि सिंचाइको समस्या भएको बताए । उनले खानेपानी तथा सिंचाई समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरे । त्यस्तै लिलाचोक टोल विकास समितिका अध्यक्ष एवं कृषक खिमलाल पोख्रेलले कृषकलाई अनुदान उपलब्ध गराउने सरकारको नीति भएपनि अनुदान प्राप्त गर्न कानुनी प्रक्रिया अत्यन्तै झन्जटिलो र लामो भएको गुनासो गरे । किसानलाई अनुदान लिन स्थानीय पालिकाको हकमा भने केह सहज भएको उनले बताए ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमका संयोजक कोषबहादुर तामाङले कार्यक्रमको प्रभावकारीता बढ्दै गएको बताए । कृषकहरुबाट प्राविधिक, सिँचाइ र बजारीकरणको मुख्य समस्या रहेको गुनासो आउने गरेको जानकारी दिए ।
वडा नं. ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले आफु आत्मनिर्भर मात्र नभई टोलवासी कृषकहरुले आम्दानी पनि लिनुपर्ने बताए । उनले कृषि सहकारीमा आवद्ध सदस्यहरुले कृषिमा लगानी पनि बढाउनु पर्ने र सरकारले गरेको लगानीलाई पनि माया गर्नुपर्ने बताएका थिए । वडा नं. १२ का वडाध्यक्ष मनराज गुरुङले गुणात्मक उत्पादन समिक्षाको विषय पनि यस कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए । हिजोको परम्परागत तरकारी तथा पशुपालन प्रणालीमा सुधार आएको उनको भनाई थियो । जसका कारण गाईबाख्रा रिष्टपुष्ट भएको पाइएको छ- उनले भने यो कार्यक्रम अहिले पनि निरन्तर छ, दुइबर्षे अवधिमा जसले नमुनायोग्य काम गर्नुभएको छ । उहाँहरुलाई छनोट गरी वास्तविक किसानको आधारभुत आवश्यकता के हो पहिचान गरी बजेटको सदुपयोग गर्नुपर्छ ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले निर्वाहमुखी भन्दा व्यवसायीमुखी हुन कृषकहरुलाई सुझाव दिए । अनुगमनको क्रममा परम्परागत पद्दतीबाट कृषकहरु आधुनिक र प्राविधिक हिसाबले व्यवस्थित हुने कोशिसमा रहेको देखिएपनि व्यवसायिक हुन सरकारले तयार पारेको मापदण्ड पार गर्न आग्रह गर्दै सहयोग गर्न आफु तयार रहेको बताए । उनले नाफा कमाउन उत्पादनशील गाईभैसी र बाख्राको छनोट वा नश्ल सुधार गर्नुपर्ने, घाँसमा आधारित पशुपालन गर्नुपर्ने, खोरगोठको व्यवस्थापन तथा पशुको स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने बताए ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जिल्ला तरकारीमा आत्मनिर्भर भएको बताए । तर पनि प्याज, लसुन, आलु र गोलभेडा बाहिरबाट आउने गरेको भन्दै कृषकहरुलाई कम्तीमा पनि आफु र छरछिमेकीलाई पुग्ने गरी तरकारी खेतीको क्षेत्रफल बढाउन सुझाव दिए । बजेटको सिमितताले गर्दा कृषकले चाहे जस्तो सुविधा दिन नसकिए पनि हाल प्राप्त भको बजेटले राम्रै शुरुवात भएको पाइएको छ उनले भने । नमुना कृषि गाउँ बनाउन ज्ञान सीप र दक्षता भएका किसानले अर्को किसानलाई ज्ञान हस्तान्तरण गर्दै जानुपर्ने बताए । सबै ठाँउमा प्राविधिक पुर्याउन नसकिने उनको भनाई थियो । प्रमुख तिवारीले हरेक बर्ष फार्म दर्ता गरेर साउनमा विभिन्न कार्यक्रमका लागि दस्खास्त आहृवान गरिने जानकारी गराउँदै जनप्रतिनिधिहरुले पनि किसान सामु ती कार्यक्रमबारे जानकारी पुर्याउन भुमिका खेल्न आग्रह गरे ।
किसानहरुको जिज्ञासाका जवाफ दिदैँ प्रदेश साँसद आशा कोइरालाले नमुना गाउँ सबै किसिमले नमुना हुनुपर्ने बताइन् । यहाँको वातावरणको हावापानी स्वच्छ हुनुपर्छ, हामीले पालेको गाइभैसी गोठबाट आएको फोहोरको उचित व्यवस्थापन हुनुपर्छ, हाम्रो घर, बाटो, गल्ली सफासुग्घर राख्नुपर्छ उनले भनिन् तब वातावणमैत्री नमुना गाउँ बन्छ ।
उनले सबै किसानहरुले खेतीपाती तथा पशुपालन गरेर आम्दानी गरी आर्थिक उन्नति यहिबाट हुनुपर्ने बताइन् । गर्नुपर्नेमा जोड दिदै अझ विस्तार गर्नुपर्ने बताइन् । तपाईहरुले एउटा गाई, एटा भैसी र दुइचार वटा बाख्राबाट, एउटा टनेलोबाट मनग्य आम्दानी गर्न सक्नुहुन्न उनले भनिन् ‘शुरुवातमा एउटाबाट शुरु गरियो अब बढाउँद लैजानुपर्छ, बिक्री गर्ने ठुलो व्यवसायी बन्नुपर्छ, जसले ठुलो व्यवसायी बन्ने हिम्मत गर्नुहुन्छ, उहाँहरुलाई व्यवसायतर्फ उन्मुख गराउन तेस्रो चरणको कार्यक्रम गरिनेछ ।’
सांसद कोइरालाले नमुना गाउँ भइसकेकाले पोखरा काठमाडौँबाट जग्गा खरिदका लागि आएको भन्दै उर्वरभुमि नबेच्न कृषकहरुसंग आग्रह गरिन् । यहाँको जग्गा मलिलो छ, उत्पादन योग्य छ, शहरबाट नजिक छ, ठाउँ ठाउँबाट मान्छेहरु जग्गा किन्न आइरहेका छन् । उनले भनिन्, ‘कृषिको नमुना गाउँले खेतीयोग्य जमिनको संरक्षण गर्न पर्यो, उर्वभभुमिको खेतीगरेरै सदुपयोग गनुपर्छ, घर बनाउने होइन ।’