तनहुँसुर इको ट्रेक सम्भाव्यता सर्वेक्षण
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिका-११ मा इको टुरिज्जमको अवधारणा अनुसार ‘तनहुँसुर इको ट्रेकिंग मार्ग’को सर्वेक्षण गरिएको छ । वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकुल असर पर्दै गइरहेको अवस्थालाई ख्याल गर्दै उक्त मार्गको सर्वेक्षण गरिएको हो । वडा नं. ११ को मुलपानीदेखि तनहुँसुरसम्म इको ट्रेक स्थापनार्थ पर्यटनविज्ञ सहितको टोलिले आइतबार र सोमबार सो मार्गको सर्वेक्षण गरेको छ । ट्रेकिंगमार्गमा पर्ने प्राकृतिक एंव ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रुपमा इको ट्रेक स्थापनाको लागि पहिलो चरणको सर्वे गरिएको छ ।
मुलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त ट्रेल समुन्द्र सतहबाट ५ सय मिटरको उचाइबाट सुरु हुने र १ हजार २५० मिटरको उचाईमा समाप्त हुने पर्यटनविद् हरिसिं गुरुङले बताए। ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नंक्शाङ्कन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिती विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रहरुको छनोट लगायतका क्षेत्रको अध्ययन गरिएको थियो । पर्यटकीय गतिविधिहरु बढ्दै जाँदा प्राकृतिक र सांस्कृतिक वातावरण, स्थानीय पहिचान पनि संरक्षण गर्ने उद्देश्यले इको ट्रेकको अवधारण अघिबढाइएको गुरुङले बताए । यस ट्रेल स्थापनाको लागि विगत ६ महिनादेखि नै तनहुँसुरबासीलाई वन संरक्षण, वृक्षारोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन लगायतका विषयमा प्रशिक्षण दिइदै आइएको छ ।
स्थानीयमा पर्यावरण सम्बन्धी सचेतना भएमात्र इको पर्यटनका गतिविधि सफलता पूर्वक सञ्चालन हुने हुँदा सचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरुङले बताएका छन् । सर्वेक्षणको आधारमा डिपिआर तयार गरिने गुरुङले बताए । तीनै तहका सरकार, संघसंस्था र स्थानीयको सहभागितामा आउँदो बैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँवर्ष २०७८ को अवसरमा रुट परिचयात्मक कार्यक्रम समेत राखि सञ्चालनको घोषणा गरिने बताइएको छ ।
रुट सञ्चालन पूर्व रुटको वरिपरि हरियाली र आकर्ष देखिने खालका वृक्षारोपण गर्ने, केही अप्ठ्यारो ठाँउ मिलाउने, साइनबोर्ड, सुचना पाटी राख्ने लगायतका काम गरिने गुरुङले बताए । तनहुँसुरमा होमस्टे, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा लगायत पहिल्यै भएकाले पूर्वाधार थप्नपर्ने हुनाले इको ट्रेल निर्माणको लागि ठुलो लागत लाग्नेब ताइएको छ । धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो जो कोहीले ट्रेक गर्न सकिने, हरियाली वातावरण, ठाँउठाँउमा पानीको स्रोत, गाँउठाँउमा सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरु, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट सावित हुने गुरुङको दावि छ ।
उक्त रुटमा पर्ने चमेरी गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदाहरुलाई प्रकुतिसँग जोडने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतको विविधतालाई संरक्षणग र्दै स्थानीयको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य हो । संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जैविक विविधताको संरक्षण महत्वपूर्ण भएकाले बिकास गर्दा जैविक विविधतालाई विशेष ध्यानदिन आग्रह गरे । पोख्रेलले स्थानीयलाई पर्यटकहरुलाई सुरक्षित वातावरणदिन सक्नुपर्छ र पर्यटकहरुले हाम्रा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई सम्मान गर्न सक्नुपर्ने बताए । छ महिनादेखि स्थानीय सरकार र विभिन्न संघसंस्थाबीच यस क्षेत्रमा इको ट्रेकको विकास सम्बन्धमा अन्तरक्रिया र छलफल भइरहेको वडाअध्यक्ष निरबहादुर खड्काले बताए । स्थानीय सम्भावना बेचेर त्यसै ठाँउका जनताको आर्थिक उन्नती होस् भन्ने उद्देश्यले गाँउगाँउमा पर्यटकीय गतिविधिलाई तीव्रता दिइएको खड्काको भनाई छ ।
त्यस्तै डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपुर्ण भएपनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताए । जैविक विविधता संरक्षणको पाटोमा बेलैमा सचेत हुन नसक्ने हो भने धेरै गुणकारी प्रजातिहरु लोपभएर जाने खतरा बढेको काफ्लेले बताए । स्थानीयहरुलाई व्यवसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धी क्रियाकलाप सञ्चालनको लागि व्यास नगरपालिका र एसजिपि, जिइएफ लगायतका कार्यक्रम मार्फत सहयोग भएको तनहुँसुर देवस्थल होमस्टे सञ्चालन समितिकी सदस्य मनिषा रानाले बताइन्।