प्रेसमाथि अंकुश लगाउन हुँदैन् : मुख्यमन्त्री पोखरेल
भञ्ज्याङ समाचारदाता/लमजुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताएका छन् । बेँसीशहर नगरपालिका-३ मिलन टोलमा आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको चार तले भवनको शिलान्यास गर्दै उनले पत्रकारिता र लोकतन्त्र एकअर्काका अभिन्न अङ्ग भएको उल्लेख गरे।
मुख्यमन्त्री पोखरेलले लोकतन्त्रविना पत्रकारिताको अर्थ नहुने बताउँदै उनले भने, ‘प्रतिपक्ष र पत्रकार सक्रिया भए मात्र लोकतन्त्र फस्टाउछ ।’ मुख्यमन्त्री पोखरेलले नेपालमा संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले कुनै पनि बाहानामा अंकुस लगाउन नहुनेमा जोड दिए । प्रदेश सरकार पत्रकारको सुझावको सम्मान गर्दै अघि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आगामी अधिवेशनमा प्रेस ऐन, सूचनाको हकलगायत ऐन ल्याउने तयारीमा रहेको सो अवसरमा जानकारी दिए ।
‘प्रदेश सरकार पत्रकारको साथमा रहेको सन्देश दिनका लागि ६ जिल्लालाई रु १०/१० लाख सहयोग गरेका छौँ’, उनले भने । संघीयताको मर्म केन्द्र सरकारले बुझन नसकेको आरोप लगाउँदै उनले भने, ‘स्थानीयदेखि प्रदेश सरकार केन्द्रले नै चलाएको छ, संघीयता कार्यान्वयन हुन नसक्दा सिंहदरबारतर्फनै फर्किनुपर्ने अवस्था रहेको छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका विना विभागिय मन्त्री दोबाटे विकले प्रेस विधेयक प्रेसमैत्री बनाइने बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताविना नागरिकका अन्य स्वतन्त्रा पनि खोसिने भएकाले योविना नागरिकले अन्य स्वतन्त्रता उपभोग गर्न नसक्ने बताए ।
उनले भने, ‘स्वतन्त्रताको आभास गर्न पनि प्रेस स्वतन्त्रता अनिवार्य रहन्छ । प्रेस स्वतन्त्रता पत्रकारको लेख्ने मात्र नभइ, नागरिकलाई अभिव्यक्त गर्न प्रेरित गर्ने स्वतन्त्रता पनि हो ।’ दश आना जग्गामा नयाँ भवन बन्न लागेको र भवन निर्माणका लागि प्रदेश सरकारले रु १० लाख उपलब्ध गराएको पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।









