मुग्लिन-पोखरा सडक विस्तार : दमौली खण्डमा घर भत्काउने तयारी
भञ्ज्याङन्यूज

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारमा सडक सिमाभित्र रहेका घरहरु भत्काउने तयारी गरिएको छ । सडक विस्तारका लागि बजार क्षेत्रका केही घर भत्काउनुपर्ने भएकाले त्यसमा स्थानीय सकारात्मक भएका छन् ।
व्यास नगरपालिका-२ वडा कार्यालयमा आइतबार भएको अनौपचारिक छलफलमा स्थानीयले यथाशक्य चाँडो सडक किनारमा पर्ने आफ्ना घर भत्काएर कामलाई तीव्रता दिन सहमति जनाइएको हो ।
मुग्लिन-पोखरा सडक विस्तार योजना पूर्वीखण्डका इन्जिनियर, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रसहितका पदाधिकारीको बैठकले बाटो विस्तारका निम्ति भत्काउनुपर्ने ठहर भएका घर यथाशीघ्र भत्काउने निर्णय गरेको छ ।
व्यास नगरपालिका-२ मुख्यचोकका धरधनी मिश्रले फागुन १ गते आफैँले आफ्नो घर भत्काउन सुरु गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आयोजनाको कामलाई तीव्रता दिन हामी सहयोगका गर्न तयार रहेको बताए ।
व्यास नगरपालिका-२ का वडा सदस्य सुरेश वाग्लेले दमौली बजारमा घरहरु भत्काउन ढिलाइ भएकाले छिटो घर भत्काएर काममा सहयोग गर्न आग्रह गरेका छन् ।
मुग्लिन-पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले यो खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीका संरचना हटाउन विलम्ब भएको बताए । ‘आजको अनौपचारिक छलफलमा स्थानीय घर भत्काउन सहमत हुनुभएको छ । अब मुख्य बजार क्षेत्रको कामले गति लिनेमा विश्वस्त छौं’, पाण्डेले भने, ‘दमौली बजारका ७४ घर भत्काइनेछ ।’
उक्त सडक अन्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कने लगायतका ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ । बन्दीपुर र आँबुखैरेनी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ ।
पूर्वी खण्ड अन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण सुरु भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पोखरामा कालोपत्र सुरु
यस्तै, मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।

आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा-३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उनको भनाइ थियो ।
पौडेलले भने ‘सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।’ मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।
राजमार्गको सहरी क्षेत्रमा र्सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताए । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौंडासम्म छ लेन हुनेछ । यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो ।
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इञ्जिनियर पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।
एशियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुइ लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन-पोखरा सडक योजनामार्फ काम भइरहेको पौडेलले बताए । उनका अनुसार राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुइ भागमा विभाजन गरिएको हो ।
पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन-पोखरा सडक योजनाको कार्यालय रहेको छ ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । पश्चिम खण्डको निर्माणका लागि रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको काम विसं २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।










