तनहुँमा डेंगु संक्रमणको ग्राफ बढ्दो, लामखुट्टे उत्पादन गर्ने अखडा बन्दै दमौलीका सरकारी कार्यालय

भञ्ज्याङन्यूज

तनहुँका २५१२ जना डेंगु संक्रममित मध्ये २२१८ जना व्यास नगरपालिकाका

पछिल्लो दुइ हप्ता यता तनहुँमा डेंगु संक्रमणको ग्राफ बढ्दै गएको छ । गत असारमा एक जनामा देखिएको डेंगु संक्रमण शनिबारसम्म २ हजार ५१२ जनामा संक्रमण पुष्टि भएकोमा यी मध्ये २ हजार २१८ जना संक्रमित व्यास नगरपालिकामा रहेका छन्। यो अवधिमा डेंगुका कारण तीन जना बालबालिका सहित चार जनाको मृत्यु भइसकेको छ ।

तनहुँको सदरमुकाम दमौली डेंगु संक्रमणको हटस्पोट बन्दै गएपछि अहिले सरोकारवाला निकाय र स्थानीय बासिन्दाको सक्रियतामा लामखुट्टेका लार्भा र अण्डा ‘खोजौ र नष्ट गरौं’ अभियान तीब्र पारिएको छ।

भदौ महिनाको अन्तिम साता यतादेखि व्यास नगरपालिकाको वडा नं. १, २, ३ र ४ का बजार क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ । अचानक डेंगु संक्रमण फैलिएपछि अहिले आम र्सवसाधारणको जनजीवन समेत प्रभावित भएको छ । जिल्लामा उपचारका लागि सुविधासम्पन्न अस्पताल तथा स्वास्थ्य संस्था नहुँदा संक्रमितहरु पोखरा, चितवन र काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ ।

दमौली बजार स्थित व्यासको वडा नं. २ र ३ क्षेत्र डेंगुबाट बढि प्रभावित भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । यी वडामा सरकारी कार्यालयहरु रहेका छन्। सरकारी कार्यालयको फोहोरमैला व्यवस्थापन, कवाडी सामाग्रिको भण्डारण तथा थोत्रा टायर, पानीका ट्याङ्की, एसी जस्ता वस्तुमा पानी जम्मा भई त्यहीबाट डेंगु सार्ने लामखुट्टे फैलिएको हुनसक्ने अनुमान गरी अहिले सरसफाईलाई तीब्रता दिइएको प्रमुख अधिकारीले बताए।

दमौली बजार क्षेत्रमा डेंगु संक्रमण फैलिएपछि अहिले दमौली अस्पतालमा ज्वरोका विरामी र डेंगु परीक्षणका लागि आउनेको भिड लाग्ने गरेको छ । डेंगु संक्रमितको स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा गण्डकी प्रदेश तथा व्यास नगरपालिकाले थप चिकित्सक तथा प्राविधिक टोली खटाएर स्वास्थ्य उपचार सेवा सहज बनाउँदै लगेका छन् ।

यस्तै, डेंगु संक्रमण हृवत्तै बढेपछि अहिले सरोकरवाला निकाय रोकथाम तथा न्यूनिकरणका उपाय खोज्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँको सक्रियतामा जिल्ला समन्वय समिति तनहुँ, व्यास नगरपालिका, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय तनहुँ, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ संस्था लगायतका टोली टोलटोलमा पुगेर लामखुट्टेका लार्भा र अण्डा खोजौ र नष्ट गरौं अभियानमा जुटेका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको चिकित्सक सहितको टोली घरघरमै पुगेर संक्रमितको उपचार तथा स्वास्थ्य परीक्षणमा खट्टएिको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य अधिकृत ताराप्रसाद अर्यालले बताए। उनले भने, ‘लामखुट्टेको लार्भा र अण्डा खोजौ र नष्ट गरौं अभियानमा समेत खट्टएिका छौं । दमौलीका सरकारी कार्यालयमा गरिएको कवाडी वस्तुको भण्डारण, बजार क्षेत्रको खुल्ला नाली, घरघरमा रहेका पानीका ट्याङ्की, एसी, फोहोरमैला, र्सवसाधारणको लापरवाही जस्ता कारणले डेंगु संक्रमण फैलिएको निष्कर्षमा हामी पुगेका छौं ।’

महामारिकै रुपमा डेंगु संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी छबी रिजालले बताए । जिल्लाका स्वास्थ्य संस्थाहरुले व्यवसायिक नैतिकताको मर्यादा भित्र नबसि डेंगु संक्रमित विरामीको उपचार गरेको भेटेपछि दुइ जना क्लिनिक सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको र एउटा ल्याबलाई सिल गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँले इलाज सम्बन्धी कसुरमा व्यास नगरपालिका-३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारा स्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको छ । उनिहरुले अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । यस्तै, प्रशासनले सोही वडाको यूआरएल दमौलीलाई सिल गरेको छ ।

डेंगु संक्रमितको उपचार तथा परीक्षणलाई सहज बनाउन आवश्यक व्यवस्थापनमा सहजिकरण, अनुगमन गर्नुका साथै डेंगु संक्रमण गर्ने प्रजातिका लामखुट्टेको सम्भावित बास्थानलाई खोज्ने र नष्ट गर्ने कार्यलाई तीब्रता दिइएको प्रजिअ रिजालले बताए ।

तनहुँमा डेंगु संक्रमण महामारिकै रुपमा फैलिएपछि गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको दमौली अस्पतालमा एक जना एमडिजिपि डाक्टर सहित ३ जना टोली र व्यास नगरपालिकाको एक जना चिकित्सक सहित पाँचजना स्वास्थ्यकर्मी परिचालन गरी संक्रमितको उपचार तथा परीक्षण सेवालाई सहज बनाइएको छ ।

डेंगुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिन विज्ञहरुले सुझाएका छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्ष्ण भनिएको छ । अत्याधिक पेट दुख्नु, तारन्तर बान्ता भएमा, बान्ता तथा दिशामा रगत देखिएमा, नाक वा गिजाबाट रगत बगेमा, अत्याधिक आलस्यता, बेचैनी वा चिडचिडापन जस्ता समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा उपचारका लागि जान चिकित्सकहरुले सुझाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker