तनहुँका ७३ हजार बालबालिकालाई दुइ चरणमा टाइफाइड विरुद्ध खोप लगाइने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका करिव ७३ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका ७३ हजार ३७४ जना बालबालिकालाई उक्त खोप लगाइने बताइएको हो ।
कार्यालय अनुसार जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरि १० वटा स्थानीय तहमा दुइ चरणमा खोप अभियान सञ्चालन गरिने छ ।
पहिलो चरणमा व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाका बालबालिकालाई खोप लगाइने छ भने दोस्रो चरणमा ऋषिङ गाउँपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका बालबालिकालाई खोप लगाइने बताइएको छ ।
जिल्लाका ८५ वडामा ४६९ खोपकेन्द्र सञ्चालन गरिएको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । जिल्लामा १२४ वटा स्वास्थ्य संस्था छन् । उक्त अभियानको क्रममा ३१६ जना खोप कार्यकर्ता र ६३२ जना स्वयंम सेवक गरी ९६८ जना जनशक्ति खटाइने उनले बताए ।
टाइफाइड संक्रमणको जोखिम १५ वर्षमुनिका बालबालिकालाई बढी हुने र प्रभावित पनि बढी हुने भएकाले उक्त उमेर समूहलाई लक्षित गरी खोप अभियान सुरु गरिएको उनले बताए । ‘स्वास्थ्य कार्यालयले खोप स्थानीय तहलाई उपलब्ध गराउने छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘उनीहरुले नै आ-आफ्नो पालिकाका खोप केन्द्रमा गएर बालबालिकालालर्य खोप लगाउने छन् ।’
यस्तै, टाइफाइड खोप अभियान सञ्चालनका लागि पालिकाका स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, खोप कार्यकर्ता, स्वयंम सेवक लगायतलाई अभिमुखिकरण दिइसकिएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिए ।










