तनहुँको बन्दिपुरमा पर्यटकीय गतिविधि लयमा फकँदै, स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै पर्यटकलाई स्वागत गर्न आतुर व्यवसायी

  • नारायण खड्का (बन्दिपुर)

कोरोना कहरका कारण सुस्ताएको पर्यटकीय गतिविधिलाई पुरानै लयमा फर्काउने तयारीमा तनहुँका पर्यटन व्यवसायीहरु कसिएका छन् । पहाडकी रानी उपनामले परिचित बन्दिपुरमा उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी पर्यटकलाई स्वागत गर्ने तयारी गरिएको छ ।

कोरोनाका कारण थल परेको तनहुँका पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । भाइरस संक्रमण त्रासका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटकीय गतिविधि ठप्प बनेको बन्दिपुरमा दशैतिहार पर्वसंगै पर्यटक आवगमन बढ्दै गएको छ ।

कोरोना संक्रमण जोखिमलाई छिचोल्दै आन्तरिक पर्यटक आउन थालेपछि यहाँका पर्यटन व्यवसायीहरु पनि उत्साहित बनेका क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर इकाईका अध्यक्ष विपिन प्रधान बताउँछन् । ‘आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छुट प्याकेज समेत सार्वजनिक गरेका थिए’, उनले भने, ‘चार्डपर्वलाई लक्षित गरी बन्दिपुरमा रहेका करिब ७७ वटा होटेल तथा रेष्टुरेन्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिएका थिए ।’

‘पर्यटकहरु आउन थालेपछि बन्दिपुरका पर्यटन व्यवसायीहरुले पर्यटकलाई सुरक्षित साथ स्वागत र सुरक्षित साथ विदाई गर्ने अभियाननै चलाउन थालेका छन्’, अध्यक्ष प्रधानले भने, ‘व्यवसायिहरुले कोभिडबाट बन्दिपुरमा कुनै पनि जोखिम छैन भन्ने हिसाबले अगाडि बढाउने योजना समेत बनाएका छौ ।’

कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो । परिस्थिति सहज हुँदै जान थालेपछि बन्दिपुरमा आन्तरिक पर्यटक आउन थालेको बन्दिपुर सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष राजु बनियाँ बताउँछन् । अहिलेको मौसम बन्दिपुरमा पर्यटकको भीड हुने समय हो । कोभिडका कारण विगत वर्षजस्तो चहलपहल भने देखिदैन ।

‘अघिल्ला वर्षहरुमा यो समय बन्दिपुरमा अत्यधिक विदेशी तथा स्वदेशी पर्यटकको थामिनसक्नु भीड हुन्थ्यो’, बानियाँले भने, ‘कोभिडले गर्दा अहिले परिस्थिति बदलिएको छ । दशैतिहारसंगै आन्तरिक पर्यटकको आगमनले हामीलाई केही राहत मिलेको छ ।’

थलपरेको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा स्थानीय पालिका, बैंक तथा वित्तीय क्षेत्र, होटल, होमस्टे व्यवसायी तथा अन्य सरोकारवाला निकायसंग समन्वय र सहकार्य गर्दै उच्च स्वास्थ्य सुरक्षालाई ध्यान दिएर पर्यटकलाई स्वागत गर्न बन्दिपुर आतुर रहेको संस्थापक अध्यक्ष बानियाँ बताउँछन् ।

बन्दिपुरका पर्यटन व्यवसायीहरुले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई लाक्षित गरी पूर्वाधार विकास तथा मर्मत सुधारमा ठूलो लगानि पनि गरेका थिए । कोभिडका कारण लगानि डुब्ने अवस्थामा पुगेको भन्दै यहाँका पर्यटन व्यवसायीहरु चिन्तित पनि छन् । बन्दिपुरको पर्यटन क्षेत्रमा कोभिडको असर न्यूनिकरण गर्न गाउँपालिकाले पनि व्यवसाय कर छुट, बैंकको किस्ता भुक्तानीमा सहजिकरण जस्ता कार्यमा चासो देखाएको पर्यटन व्यवसायी एवं तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाईका सभापति वैंस गुरुङ बताउँछन्।

‘कोभिड संक्रमण त्रासका कारण राती बास बस्ने पर्यटकको संख्या कम रहे पनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहेको छ । हाल दैनिक एक हजारसम्म पर्यटक बन्दिपुर भित्रिने गरेका छन् । शुक्रबार र शनिबार पर्यटक आउने क्रम बढ्ने गरेको छ’, सभापति गुरुङले भने, ‘व्यवसायिहरुले बन्दिपुरको पर्यटनलाई चलायमान बनाउन सबै पक्षसंग समन्वय, परामर्श तथा छलफल गरी सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने र होटलका कोठहरुको सरसफाईमा विशेष सावधानी अपनाइएको छ ।’

पृथ्वीराजमार्गको डुम्रे बजारबाट करिब ८ किलोमिटरको दुरीमा पर्ने बन्दिपुर प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक आयमले भरिपूर्ण छ । यहाँकाबाट अन्नपूर्ण, माछापुच्छे्र, धौलागिरि लगायतका हिमशृंख्ला अवलोकन गर्न पाइन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker