भानुका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधीकरण तालिम
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नयाँ एकीकृत पाठ्यक्रम कक्षा २ र ३ को प्रबोधीकरण तालिम मंगलबार सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको सहयोगमा कर्मदा माध्यमिक विद्यालयको केन्द्रमा दुइवटा समूह र होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालयको केन्द्रमा दुइवटा समूह गरी चार समूहमा तालिम सञ्चालन गरिएको थियो ।
उक्त तालिममा प्रशिक्षकहरू होमनारायण श्रेष्ठ, ज्ञानेन्द्र पण्डित, कृष्ण पोखरेल, बसन्ती घिमिरे, रिदय भट्ट, दामोदर कार्कीले नयाँ एकीकृत पाठ्यक्रमका विषयमा सहजिकरण गरेका थिए । साथै तालिमलाई शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा र भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले पनि विषयवस्तुका विषयमा सहजीकरण गरेका थिए ।
नगरपालिकाका सबै सामुदायिक विद्यालयका कक्षा २ र ३ मा अध्यापनरत २/२ जना शिक्षकहरूको सहभागिता रहेको र सहभागिहरुलाई नयाँ पाठ्यक्रमको कार्यान्वयन सम्बन्धमा तालिममा सिकेका ज्ञान, सीप, धारणा र अनुभवहरूलाई कक्षाकोठा शिक्षणमा लागू गर्ने गराउने दिशामा सबैको ध्यान केन्द्रित हुन सहज हुने बताइएको छ ।










