तनहुँमा तामझामका साथ शिलान्यास गरिएका आधारभुत अस्पतालले गति लिएनन्

भञ्ज्याङ न्यूज

सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार तनहुँका पालिकाहरुमा पनि धमाधम अस्पताल निर्माण कार्य अगाडि बढाइएको थियो । अस्पताल निर्माणका लागि सरकारले पहिलो चरणमा बजेट समेत निकासा गरी अस्पतालको शिलान्यास र ठेक्का प्रक्रिया समेत अगाडि बढाइएको थियो । दुइबर्ष भित्र अस्पताल संचालनमा ल्याउने गरी टेन्डर आव्हान गर्न सरकारले पालिकाहरुलाई निर्देशन दिएको भएपनि एक वर्ष बितिसक्दा पनि तनहुँका अधिकांश पालिकामा कही जग्गा सम्याउँदै, कतै जग्गाको नै व्यवस्थापन हुन सकेको छैन ।

गत वर्ष१५ मंसिर महिनामा शुक्लागण्डकी-११ र्राईपुर बिसौनामा उल्लासपूर्ण वातावरणमा अस्पतालको शिलान्यास गरिएको थियो । गाउँमा १५ शैय्याको नगरस्तरीय अस्पताल शिलान्यास गरिएसंगै स्थानीयमा हर्षछाएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले तामझामका बीच अस्पतालको शिलान्यास गरेकी थिइन् । सबै नगरवासीलाई पायक नपर्ने ठाउँमा एक्लौटी ढंगले अस्पताल शिलान्यास भएको भन्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कोही कार्यक्रममा सहभागी भएनन् । वडाका जनप्रतिनिधि र कर्मचारी भने सहभागी भएको थिए।

स्थानीयको निरन्तर दबाब, लामो समयको छलफलपछि शिलान्यास भएकै ठाउँमा १५ शैय्याको अस्पताल बनाउन २६ जेठमा बसेको शुक्लागण्डकीको नगर कार्यपालिका बैठकले निर्णय गरेको छ । तर शिलान्यास भएको उक्त अस्पताल खाल्डोमै सिमित बनेको छ । ‘अस्पताल शिलान्यासको खाल्डो मात्र छ । खाल्डोमा पनि घाँसपात उम्रेर भरिएको छ ।

काम सुरु होला भनेर जग्गामा खेती लगाइएको छैन । अब विस्तारै काम होला’, निर्माण उपभोक्ता समितिका सचिव जीवन पोखरेलले बताए । अस्पताल निर्माणका लागि टेन्डर आहृवान गर्नै बाँकी रहेको नगर उपप्रमुख सविता रसाइलीले बताइन । संघीय सरकारले बजेट पठाएपछि टेन्डर आहृवान हुने उनको भनाई छ ।

‘डीपीआर बनाएका छौँ । माथिबाट बजेट आएपछि काम सुरु हुन्छ’, उनले बताइन् । गत वर्षसंघबाट आएको एक करोड रुपैयाँमध्ये डीपीआर निर्माणमा १२ लाख रुपैयाँ मात्र खर्च भएको नगरपालिकाले जनाएको छ ।

शुक्लागण्डकीसँगै सोही दिन भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे र देवघाट गाउँपालिकाले पनि अस्पताल शिलान्यास गरेका थिए । पालिकास्तरीय अस्पतालको काम कुनै पनि स्थानीय तहमा सन्तोषजनक भएको छैन । शिलान्यासको १० महिने अवधिमा जग्गा सम्याउने र जग राख्ने कामबाहेक अरु देखिँदैन । कुनै स्थानीय तहमा शिलान्यास त परको कुरो जग्गा व्यवस्थापन समेत हुन नसकेको पाइन्छ । नगरपालिकाले १५ र गाउँपालिकाले १० शैय्याको अस्पताल शिलान्यास गरेका थिए।

भिमाद नगरपालिकामा शिलान्यास गरिएकोे अस्पताल पनि खाल्डोबाट माथि उठ्न सकेको छैन । भिमाद नगरपालिका-६ भिमाद बजारको भिमाद प्राथमिक स्वास्थ्य चौकी परिसरमा शिलान्यास गरिएको अस्पतालको काम भएको पाइँदैन । यहाँ पनि शिलान्यास गरेको खाल्डोमा घाँसपातले भरिदै छ । ‘कोरोनाको कारणले काम हुन पाएन ।

केही दिनअघि निर्माण कम्पनी फिल्डमा आएको थियो । अब छिट्टै काम सुरु हुन्छ होला’, जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताए । ११ करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँमा ठेक्का लागेको अस्पतालको काम अगाडि बढेको छैन । पेश्की स्वरुप १० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ ।

ऋषिङ गाउँपालिका-४ स्थित भिरकोट स्वास्थ्यचौकीमा शिलान्यास गरिएको अस्पतालको जग्गा सम्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पोखरेलले बताउनु भयो। पोखरेलका अनुसार ओम बुद्ध हरितारा जेभिले अस्पताल निर्माणको ठेक्का लिएको हो । सात करोड ७७ लाख रुपैयाँमा ठेक्का लगाइएकोमा ८० लाख रुपैयाँ भुक्तानी गरिएको पोखरेलले जानकारी दिए ।

देवघाट गाउँपालिका-५ घिनाटारमा बन्ने अस्पतालको काम जग्गा सम्याएर सकिएको छ । गाउँपालिकाका सिनियर अहेब प्रदीपकुमार बुढाथोकीले दिएको जानकारी अनुसार अस्पतालको जग राख्ने काम सुरु भएको छ। सात करोड ६५ लाख रुपैयाँमा अस्पताल निर्माणको ठेक्का लागेको हो ।

म्याग्दे गाउँपालिका-४ थर्पुमा बन्ने अस्पतालको पनि जगसमेत उठेको छैन । यहाँ पनि अस्पताल शिलान्यासकै खाल्डोमा सीमित छ। यतिबेला कामदार निर्माणस्थलमा आएर काम सुरु गरेको गाउँपालिकाका इञ्जिनियर शिवप्रसाद ढुंगानाले बताए ।

शिलान्यास नै ढिला भएको भानु नगरपालिकामा बन्ने १५ शैय्याको अस्पतालमको भने काम सुरु भएको छ । सुरुमा भानुमा कसले शिलान्यास गर्ने विवाद सिर्जना हुँदा १५ मंसिरमा शिलान्यास हुन सकेको थिएन । झण्डै साढे दुइ महिनापछि भानु-५ पुरनडिहीमा बन्ने नगर अस्पतालको गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ माघमा शिलान्यास गरेका थिए । ठेक्का सम्झौता भएर काम सुरु भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले बताए । अस्पताल बन्ने ठाउँको जग्गा सम्याउने काम भइरहेको उनको भनाई छ ।

‘हाम्रोमा शिलन्यास नै ढिला भएको हो । ठेक्का सम्झौताको प्रक्रिया नै लामो भएकाले काममा ढिलाइ भएको छ’, उनको दाबी छ । घिरिङ गाउँपालिकामा अझै जग्गाको व्यवस्थापन हुन सकेको छैन । घिरिङ-३ सुन्धारामा बन्ने १० शैय्याको अस्पताललाई आवश्यक नौ रोपनी जग्गा प्राप्तीको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए।

आँबुखैरेनी गाउँपालिकामा जग्गा अभाव अस्पताल निर्माणमा तड्कारो बनेको छ । स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय भन्नुहुन्छ, ‘ऐलानी जग्गामा अस्पताल बनाउनलाई स्वास्थ्य मन्त्रालय प्रस्ताव पठाएको स्वीकृत भएन् । दर्तावाला जग्गा खोज्यो । अहिले जग्गा दर्ताको प्रक्रियामा छौँ ।’

बन्दीपुरमा पालिकास्तरीय अस्पताल बनाउन संघीय सरकारबाट बजेट नपरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । उनका अनुसार गाउँपालिकाले आफ्नै पहलमा बन्दीपुर अस्पताललाई ५० शैय्याको बनाउन लागेको छ । व्यासलाई पनि गत वर्षसंघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले अस्पताल निर्माणका लागि बजेट नपठाएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker