“राजनीतिमा अब युवा नेतृत्व आवश्यक छ”
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी तनहुँले दमौलीमा युवाको नेतृत्व विकास प्रशीक्षण कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं-५ का प्रतिनिधी सभा सदस्य प्रदीप पौडेलले शुभारम्भ गर्दै राजनीतिमा अब युवा नेतृत्व आवश्यक रहेको बताएका छन् ।
‘युवाले समय अनुसार विकासको गतिलाई नेतृत्व दिन सक्ने भएकाले युवालाई राजनीतिमा स्थान दिनु पर्छ’, नेता पौडेलले भने, ‘पार्टीभित्रको दुइ प्रकारको सदस्यताले गर्दा युवाहरुलाई राजनीतिक नेतृत्व लिन कठिनाई भएको छ ।’
केन्द्रीय सदस्य हुन क्रियाशिल सदस्य लिएको १५ वर्ष सभापति हुन २० हुनुपर्ने प्रावधान हटाउनु पर्ने नेता पौडेलले बताए । उनले भने, ‘राजनीति योगदानको आधारमा नभई क्षमताको आधारमा हुनुपर्दछ । सांसद तीन पटक, मन्त्री बन्न दुइपटक पदीय अवधि तोकियो भने मात्रै पुस्तान्तरणको प्रक्रिया अघि बढ्न सक्छ ।’
समानुपातिक सांसद बन्न एउटै मान्छेलाई पटक पटक अवसर दिन नहुने बताउँदै नेता पौडेलले भने, ‘समानुपातिकबाट चार पटक सांसद हुन मिल्छ, त्यो त भुइ मान्छेलाई लैजाने हैन, मन्त्री भईसकेको मान्छेले समानुपातिकमा राख्ने, पैसा हुनेले मात्रै टिकट पाउने अवस्थाको अन्त्य हुनुपर्छ । युवालाई पदमा पुग्ने अवसरका बाधाहरु हटाउन युवाहरुले दबाब दिनुपर्छ ।’
रेडक्रसको भावाना आजको समाज विकासको निम्ति असाध्यै महत्वपूर्ण भएको बताउँदै नेता पौडेलले भने, ‘रेडक्रसको अनुभव र दक्षताले राजनीतिक नेतृत्व लिने सक्ने परिस्थिति निर्माण गर्न सक्छौ । राजनीतिमा सबैभन्दा समर्पण, त्यागको भावाना हुनुपर्छ । त्यसको आफ्नो लागि बाँच्ने हुँदैहैन । समाजको निम्ति समर्पित हुने काम नै राजनीति हो ।’
रेडक्रस तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, गण्डकी प्रदेशका महासचिव रामदक्त पौडेल, तनहुँ शाखाका उपसभापति नारायणी अधिकारी, मन्त्री सूर्यचन्द्र हड्खलेले लगायतले समाजसेवाको भावाना विकास गर्न सकेमात्रै देशको विकास हुने भएकाले रेडक्रसको माध्यमबाट समाजसेवा लाग्न सबैलाई प्रेरणा दिने गरी काम गर्नु पर्ने बताएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा २६ जिल्लाका ३० जना युवा रेडक्रस सोसाइटीमा आबद्ध युवाहरुको सहभागीता रहेको थियो ।










