पर्यटक स्वागत गर्न आतुर पदमार्गका होमस्टे

भञ्ज्याङ समाचारदाता/दमौली

शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रेक (सहश्राब्दी मार्ग) विगत दुइ वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना त्रासका कारण दुइ वर्षदेखि सुनसान रहेको हो । कोरोना कहर न्यूनीकरण हुँदै जनजीवन सामान्य बनेपनि यो पदमार्गमा भने पर्यटकको चहलपहल बढ्न सकेको छैन । हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने यहाँ पर्यटक आउन सकेका छैनन् । पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुइ जिल्लालाई जोडेको ७२ किलोमिटर दूरी रहेको पदमार्गका घरबास (होमस्टे) सञ्चालक पर्यटक बाटो कुरिरहेका छन् ।

यस पदमार्गअन्तर्गत १७ गाउँमा घरबास सञ्चालन गरिएको छ । कोरोना संक्रमण न्यूनीकरण भएकाले अब यहाँ पर्यटक आउने आशा गरिएको शुक्लागण्डकी नगरपालिका-१२ घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताए । “पहिला-पहिला पदयात्रामा पर्यटक आइरहन्थे, दुइ वर्षदेखि पर्यटक आउन सकेनन्”, उहाँले भन्नुभयो, “अब त कोरोना पनि विस्तारै कम हुँदै गयो, पर्यटक आउनेमा आशावादी छौँ ।” आर्थिकस्तर उकास्ने उद्देश्यसहित सञ्चालन गरिएको होमस्टेमा पर्यटक नआउँदा आम्दानीको स्रोत पनि बन्द भएको उनको गुनासो छ ।

कोरोना त्रास सामान्य बनेकाले पदमार्गले पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । “पछिल्लो समय अन्य पर्यटकीय गन्तव्यमा चहलपहल बढेपनि यहाँ भने पर्यटकको आगमन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पदमार्गमा पर्यटक भित्रयाउन प्रचारप्रसारको तयारीमा छौँ ।” अध्यक्ष गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जङ्गल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ । व्यवस्थापन समितिले दशौं वर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्ने गरी अद्यावधिकको काम थालेको छ ।

उक्त पदमार्ग सन् २००० देखि सञ्चालनमा आएको हो । छ रात सात दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वीराजमार्ग (गाछेपानी)बाट सुरु भएको पदमार्ग स्याङ्जाको सिद्धार्थ राजमार्ग (रामबाच्छा) पुगेर टुङ्गिन्छ । पदमार्गको सुरुआत विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको बहावले कुँदेर बनाएको ढुङ्गे बगैँचा हुँदै पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् ।

यसपछि उकालो चढेर रजस्थल होमस्टे हुँदै ऐतिहासिक ढोर मूलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राइपुरको जन्तेढुङ्गा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङ्जातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीयस्थललाई पदमार्गले जोडेको छ । गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचौ दिन डाँडागाउँ, छैटौँ दिन सुन्तलाबारी होमस्टेमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङ्जाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको छ ।

हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सूर्योदय र सूर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जङ्गली जनावर र ग्रामीण परिवेशले पर्यटकलाई आकर्षित गर्छ । पदमार्गमा पर्ने बस्तीमा पर्यटकलाई कौराहा, सालैजो, झयाउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालनलगायतका मौलिक लोक संस्कृतिले स्वागत गर्ने गरिन्छ । पदमार्गमा पर्ने बस्ती रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन वर्ष अगाडि चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । जिल्लाको मगरनाससहित स्याङ्जाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिए पनि काम अगाडि बढेको छैन । गुरुयोजना तयार गरे पनि काम अगाडि बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker