मानव–वन्यजन्तु द्वन्द्व : तनहुँमा १७ जनाले ज्यान गुमाए, २१ जना घाइते

नारायण खड्का/तनहुँ

मानव–वन्यजन्तु बीचको बढ्दो द्वन्द्व र चुनौती, सहअस्तित्वको खोजी

वन क्षेत्रको विस्तार, मानव बस्तीको बढ्दो अतिक्रमण, प्राकृतिक बासस्थानमा आएको परिवर्तन तथा खाद्य स्रोतको अभावका कारण नेपालका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व गम्भीर चुनौतीका रूपमा देखा परेको छ ।

तनहुँ जिल्लामा पनि पछिल्ला वर्षहरूमा चितुवा, बाँदर, भालु, बँदेल लगायतका वन्यजन्तुसँगको द्वन्द्व बढ्दै गएको तथ्याङ्कले देखाएको छ। यसले मानव जीवन, पशुधन, कृषि उत्पादन तथा वन्यजन्तु संरक्षणमा समेत प्रत्यक्ष असर पु¥याइरहेको छ ।

डिभिजन वन कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँमा बिगत आठ वर्षको अवधिमा चितुवाको आक्रमण परी १७ जनाले ज्यान गुमाएका छन् भने २१ जना घाइते भएका छन् । वि.सं. २०७४ देखि २०८२ सम्मको अवधिमा मानव–वन्यजन्तुका ३८ घटना हुँदा १७ जनाले ज्यान गुमाएको डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी गराए ।

कार्यालयले विहीबार आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्वन्धी संचारकर्मीहरुसँग अन्तरक्रिया गोष्ठीमा यो अवधिमा चितुवाको आक्रमणमा परी भानु नगरपालिकामा चितुवा, भालु र बाँदरबाट १४ वटा घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका थिए ।

बन्दीपुरा गाउँपालिकामा चितुवा आक्रमणका ११ घटना हुँदा ७ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भए भने व्यास नगरपालिकामा चितुवा र भालुको आक्रमणका ६ घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका थिए ।

यस्तै, शुक्लागण्डकी नगरपालिकामा चितुवा आक्रमणको ३ घटना हुँदा २ जनाको ज्यान जानुका साथै १ जना घाइते भएका थिए । आँवुखैरेनी गाउँपालिमा भएको चितुवा आक्रमणको ३ घटनामा १ जनाको मृत्यु भएको र २ जना घाइते भएका थिए भने म्याग्दे गाउँपालिमा चितुवा आक्रमणको १ घटना हुँदा १ जना घाइते भएका थिए । केही महिना यता भने जिल्लामा चितुवा आक्रमणको घटना नभएको डिभिजन वन अधिकृत रानाभाटले जानकारी गराए ।

मानिस र वन्यजन्तुको आवश्यकता, गतिविधि वा हित एक–अर्कासँग जुद्धा उत्पन्न हुने अवस्थालाई मानव–वन्यजन्तु द्वन्द्व भन्ने गरिएको छ । यसले कहिले मानिसलाई क्षति पु¥याउँछ भने कहिले वन्यजन्तु नै जोखिममा पर्छन्। कतिपय अवस्थामा दुवै पक्षले नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यस्तै कार्यालयको तथ्याङ्क अनुसार यो आठ वर्षको अवधिमा १७ वटा चितुवा मरेका छन् भने १५ चितुवा घाइते भएका छन् । भालु ४ र बाँदर २ घाइते भएका छन् ।

बालबालिका सबैभन्दा जोखिममा

मानवीय क्षतिको विश्लेषण गर्दा बालबालिका सबैभन्दा बढी प्रभावित समूहका रूपमा देखिएका छन्। विशेषगरी ६ देखि १० वर्ष उमेर समूहका बालबालिकामाथि चितुवाको आक्रमण बढी भएको तथ्याङ्कले देखाउँछ। यस उमेर समूहमा १० जनाको मृत्यु तथा ६ जना घाइते भएका छन् ।

अधिकांश घटना घरआँगन, घर नजिकको बाटो तथा खेलिरहेको अवस्थामा भएका छन्। साँझको समयमा घर बाहिर खेलिरहेका बालबालिकामाथि चितुवाले आक्रमण गरेका घटनाहरू उल्लेख्य छन्।

वयस्क उमेर समूहमा भने मृत्युको संख्या कम भए पनि घाइते हुने घटना बढी छन् । खेतबारीमा काम गर्ने, घाँसदाउरा गर्न जाने तथा गोठमा पशुचौपाया हेर्ने क्रममा भालु वा चितुवाको आक्रमणमा परेका उदाहरणहरू प्रशस्त छन् ।

साँझको समय सबैभन्दा जोखिमपूर्ण

समयगत विश्लेषणले साँझ ५ बजेदेखि ८ बजेसम्मको समय सबैभन्दा जोखिमयुक्त रहेको देखाएको छ । यही अवधिमा २२ वटा घटना भएका छन् । १७ वटा मृत्यु घटनामध्ये १३ वटा मृत्यु साँझको समयमा भएका छन् ।

वन्यजन्तुहरू आहारा खोज्न बस्ती नजिक आउने र मानिसहरूको गतिविधि पनि जारी रहने भएकाले साँझको समय द्वन्द्वको सम्भावना बढी हुने विज्ञहरू बताउँछन् ।

बिहान सबेरै खेतबारी तथा गोठतर्फ जाने क्रममा पनि चितुवा र भालुसँग जम्काभेट हुने घटनाहरू भएका छन्। दिउँसोका समयमा भने खेतबारीमा काम गर्ने, घाँस काट्ने वा बाँदरबाट टोकिने घटनाहरू बढी देखिन्छन्।

घरआँगन नै बन्यो जोखिम क्षेत्र

यस्तै, स्थानगत विश्लेषणले घरआँगन तथा घर परिसरलाई सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा देखाएको छ। मानवीय क्षतिका १८ वटा घटना घरआँगन वा घरमा खेलिरहेका अवस्थामा भएका छन्। अधिकांश पीडित बालबालिका रहेका छन्। घर नजिकको बाटो, करेसाबारी, मकैबारी तथा खेतबारीमा पनि मानव–वन्यजन्तु द्वन्द्वका घटना बढी हुने गरेका छन्। विशेषगरी वन क्षेत्रसँग जोडिएका बस्तीहरू बढी जोखिममा रहेका छन् ।

चितुवा मुख्य चुनौती

तनहुँमा भएका अधिकांश मानवीय तथा पशुधन क्षतिका घटनामा चितुवा प्रमुख कारणका रूपमा देखिएको छ। कार्यालयको तथ्याङ्क अनुसार २०७६ देखि २०८२ सालसम्म मानव–वन्यजन्तु द्वन्द्वका २७५ वटा घटना दर्ता भएका छन्। ती घटनाबाट ४५० वटा पशुधन क्षति भएको छ । कुल घटनामध्ये करिब ९८.९ प्रतिशत हिस्सा चितुवासँग सम्बन्धित रहेको तथ्याङ्कले देखाउँछ ।

चितुवाले विशेषगरी बाख्रा, बोका, बाच्छा तथा अन्य साना घरपालुवा जनावरलाई सजिलै शिकार बनाउने गरेको पाइन्छ । कुल पशुधन क्षतिको ८२ प्रतिशतभन्दा बढी हिस्सा बाख्रा तथा बोकामा केन्द्रित रहेको छ । यसले ग्रामीण समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पु¥याएको छ । बाँदरबाट हुने क्षति तुलनात्मक रूपमा कम देखिए पनि कृषकहरूका लागि यो अर्को ठूलो समस्या बनेको छ । बाँदरसम्बन्धी घटनाहरू कुल घटनाको करिब १.१ प्रतिशत भए पनि मकैबालीमा ठूलो नोक्सानी पु¥याइरहेका छन् ।

वन्यजन्तुको बासस्थानमा बढ्दो दबाब

वन क्षेत्रभित्रका प्राकृतिक आहारा तथा पानीका स्रोतमा कमी आउनु, मानव बस्ती विस्तार हुनु, सडक तथा पूर्वाधार निर्माणका कारण वन्यजन्तुको आवागमन प्रभावित हुनुजस्ता कारणले द्वन्द बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । चितुवा, भालु, बाँदर, बँदेल लगायतका वन्यजन्तु आहाराको खोजीमा बस्ती तथा कृषियोग्य जमिनसम्म आइपुग्दा किसान र स्थानीयवासी प्रत्यक्ष प्रभावित हुने गरेका छन्। अर्कोतर्फ मानिसको गतिविधि वन क्षेत्रभित्र बढ्दा वन्यजन्तु पनि असुरक्षित बन्न पुगेका छन् ।

यस्तै, तनहुँको कुल क्षेत्रफल मध्ये ५२ दशमलव ६१ प्रतिशत वन क्षेत्र रहेको छ भने ४७ दशमलव ३९ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । जिल्लामा ६२५ सामुदायिक वन ४८५ कवुलियती वन, ११ वटा धार्मिक वन र ८४ वटा नीजि वन रहेको डिभिजन वन कार्यालय तनहुँको तथ्याङ्कले देखाएको छ ।

सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण मानिएको डिभिजन वन अधिकृत रानाभाटले बताए । उनले भने, ‘सही, तथ्यपरक र सन्तुलित सूचना प्रवाहमार्फत समुदायमा जनचेतना फैलाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका खेल्न सक्छन्।’

‘द्वन्द्वका घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गर्दा वन्यजन्तुप्रति नकारात्मक धारणा बन्न सक्ने भएकाले जिम्मेवार पत्रकारिता आवश्यक रहेको छ’, उनले भने, ‘सञ्चारकर्मीले प्रभावित समुदायको आवाज सम्बन्धित निकायसम्म पु¥याउने, संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्ने तथा नीति सुधारका लागि बहस सिर्जना गर्ने कार्य गर्न सक्छन् ।’

समाधानको बाटो

विशेषज्ञहरूका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको बासस्थान संरक्षण, आहाराको व्यवस्था, पानीका स्रोतको विकास तथा समुदायमा आधारित व्यवस्थापन आवश्यक छ ।

कृषि क्षेत्रको सुरक्षाका लागि सौर्य विद्युतीय बार, तारजाली तथा सामूहिक निगरानी प्रभावकारी हुन सक्छ । बाँदरले कम रुचाउने अदुवा, बेसार, खुर्सानी, लेमनग्रास लगायतका बालीको खेती विस्तार गर्न पनि सुझाव दिइएको छ ।

बस्ती वरिपरिका झाडी सफा राख्ने, रातिको समयमा पर्याप्त उज्यालोको व्यवस्था गर्ने, पशुचौपायालाई सुरक्षित गोठमा राख्ने तथा बालबालिकालाई साँझपछि एक्लै बाहिर नपठाउने जस्ता उपायले जोखिम घटाउन सकिन्छ । वन्यजन्तु देखिएमा नआत्तिने, नभाग्ने, सुरक्षित दूरी कायम गर्ने तथा सम्बन्धित निकायलाई जानकारी गराउने बानी बसाल्नुपर्ने विज्ञहरूको सुझाव छ।

सहअस्तित्व नै दीर्घकालीन समाधान

वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ । मानव–वन्यजन्तु द्वन्द पूर्ण रूपमा अन्त्य गर्न नसकिए पनि वैज्ञानिक व्यवस्थापन, समुदायको सक्रिय सहभागिता, प्रभावकारी सरकारी पहल र जिम्मेवार सञ्चारमार्फत यसको प्रभाव न्यूनीकरण गर्न सकिन्छ ।

वन्यजन्तु प्रकृतिको अभिन्न अंग हुन् । उनीहरूलाई उक्साउने होइन, सुरक्षित दूरी कायम गर्दै सहअस्तित्वको संस्कृतिलाई प्रवर्द्धन गर्नु नै दीर्घकालीन समाधानको आधार हो । सचेतना, सावधानी र सहकार्य नै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय मानिन्छ ।

 

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker