बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि क्यूआरकोड मार्फत नौ भाषामा सामग्री

भञ्ज्याङ समाचारदाता/दमौली

बाह्रै महिना शीतल हावापानी । जाडो महिनामा बिहानै सूर्योदय । भक्तपुरे शैलीका घरहरू । समुन्द्र सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित पर्यटकीय नगरी बन्दीपुरको पहिचान हो ।

बन्दीपुर नेपालमा मात्र नभई विदेशमा समेत उत्तिकै प्रख्यात छ । बन्दीपुरको सौन्दर्यता अवलोकनका लागि विभिन्न देशबाट पर्यटक यहाँ आउने गरेका छन् । कोभिडकालभन्दा अगाडि भीडभाड रहने बन्दीपुरमा यतिबेला त्यस समय जस्तो चहलपहल त छैन तर बिस्तारै लय लिने प्रयासमा छ ।

बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले बन्दीपुर गाउँपालिकाले नौ भाषामा सामग्री तयार गरेको छ । नेपालीसहित विभिन्न नौ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

“बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका बारेमा स्वअध्ययन गरी जानकारी लिन सहज होस् भन्नका लागि क्युआरकोडमार्फत नौ भाषामा सामग्री तयार गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “यसले गर्दा विदेशी पर्यटकलाई बन्दीपुर घुमघाममा सहयोग पुग्नेछ ।”

सारङ नामक संस्थासँगको सहकार्यमा गाउँपालिकाले क्युआरकोडसहितको सामग्री तयार गरेको हो । बन्दीपुरका बारेमा जानकारी दिने उक्त क्युआरकोड बजार क्षेत्र, विभिन्न होटलमा राखिएको छ । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाई भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ ।

क्युआरकोड ‘स्क्यान’ गरेपछि एउटा पेज खुल्नेछ । उक्त पेजमा भाषा छनोट गरी गाउँपालिकाका गन्तव्यका बारेमा जानकारी लिन सकिनेछ । जहाँ बन्दीपुरका संस्कृति, जातजातिका साथै घुम्नका लागि प्रमुख गन्तव्यका बारेमा जानकारी राखिएको छ ।

खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

गाउँपालिकाले तयार गरेको विभिन्न भाषाका सामग्रीले यहाँ आउने पर्यटकलाई सहज हुने पर्यटन व्यवसायीको विश्वास छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान यो सामग्रीले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुहुन्छ । “यहाँका सबै होटल र सार्वजनिक स्थानमा क्युआरकोडसहितको सामग्री टाँसेका छौ, यसले गर्दा बन्दीपुर घुम्न आउने विदेशी पर्यटकले आफैँ यहाँका बारेमा जानकारी लिन सक्नेछन्”, उहाँले भन्नुभयो ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकषिर्त हुने गरेको होटल व्यवसायी वैश गुरुङ बताउनुहुन्छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका-२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ ।

विगत दुइ वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ-नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ, गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।

कूल साढे दुइ किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टिमेट गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्नेहरू लोभिने गर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker