गण्डकीका मुख्यमन्त्रीले वैशाख ९ मा प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिने तयारी

पोखरा । संवैधानिक व्यवस्थाअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान भएको छ । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता छ । ९ गते सरकार अल्पमतमा परेपछि १० गते पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

अधिकारीले प्रत्युत्तरमा संविधानले दिएको समय सुविधा प्रयोग गर्दै संसदमै आफ्नो परीक्षण गर्ने बताएका थिए । तर, अधिकारीले बिहीबारको मन्त्रिपरिषदको बैठकबाट ९ गते संसद अधिवेशन बोलाउने आह्वान गरेका छन् ।

प्रमुख प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुगिसकेको छ । तर, अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संवोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

‘विश्वासको मत लिन त्यतिञ्जेलसम्म अरु दलसँग पनि छलफल गर्ने छौं । १-२ दिनभित्रै संसदीय दलको बैठक पनि बस्छ,’ सरकारका प्रवक्ता तथा कानुनमन्त्री मन्त्री रोशन गाहामगरले भने, ‘विश्वासको मतै नपाउने अवस्थामा राजीनामा दिने कुरा त भइ नै हाल्यो ।’

गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज मुख्यमन्त्री बन्न तयारी गरिरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्न गठबन्धन फेरेपछि गण्डकीको मुख्यमन्त्रीकै एजेण्डासहित चुनावमा होमिएका सुरेन्द्रराजको अवसर पनि गुमेको थियो ।

कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति दिएर फेरि सत्ता समीकरण फेरिएसँगै सुरेन्द्रराजको अवसरको ढोका पनि खुलेको छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ ।

माओवादीबाट कृष्ण धिताल सभामुख रहेकाले कांग्रेस–माओवादी मिल्दा सरकार बनाउन पुग्ने सहज ३४ जना हुन्छन् ।

मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि मिल्दा अबको सत्ता गठबन्धन ३५ सदस्यीय रहन्छ । अहिले एमालेका २७ र राप्रपाका २ सदस्यसहित खगराज नेतृत्वको अल्पमतको सरकार छ ।

सरकार अल्पमतमा परे पनि एक महिना पुरै अवधि मुख्यमन्त्रीमा रहेर मात्र अधिकारीले छोड्ने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले अहिले तीव्र रुपमा आयोजनाहरुको उद्घटन गर्ने गरिरहेका छन् भने आफ्ना योजनामा बजेट हाल्ने गरी रकमान्तरको कसरतसमेत गरिरहेका छन् । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker