राष्ट्रिय जनगणना : तनहुँमा ४९० गणक खटाइने, ९१ हजार घरपरिवार सूचीकृत

तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खटिने गणकका लागि पाँच ठाउँमा तालिम सञ्चालन गरिसकिएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पस, भिमाद नगरपालिका र घिरिङ तथा ऋषिङ गाउँपालिकाको भिमाद बजारमा, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको डुम्रे बजारमा, देवघाट र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारमा र शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको बेलचौतारामा तालिम सञ्चालन गरिएको थियो । तालिममा ४९० गणक र ३२ जना सुपरीवेक्षकको सहभागिता थियो ।

उहाँ अनुसार तालिममा घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन् । सोहीका आधारमा अब गणकले यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन् ।

गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व छ ।

९१ हजार घरपरिवार सूचीकृत

जिल्लामा ९१ हजार घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका ९१ हजार घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरणअन्तर्गत १३० सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना अधिकारी सापकोटाले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ७८ हजार ३०९ परिवार सूचीकृत गरिएको थियो भने तीन लाख २३ हजार २८८ जनसङ्ख्या थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker