तनहुँमा व्यवसायीक फूलखेती : सयपत्री फूल चिस्यान केन्द्रमा भण्डारण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा व्यवसायीक फूलखेती तर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी तनहुँका कृषकहरुले नेपालीहरुको दोश्रो ठूलो चाड तिहार पर्वलाई लक्षित गरी सयपत्री फूलखेती गर्ने गरेका छन् ।
स्थानीय स्तरमा कृषि कर्ममा रमाएका म्याग्दे-५, स्थित ठुलोखेत कृषि तथा पशुपालन फर्मका संचालक सुसन पौडेलले तिहार लक्षित पुष्पखेती गरेका छन् । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ का पुष्प खेती विकास कार्यक्रम अन्तर्गत ४ रोपनी क्षेत्रफलमा आईटी आरेन्ज सयपत्री जातको फूल खेती गरेका हुन् ।
पौडेलले पालिकाबाट प्राप्त ५० हजार रुपैयाँ अनुदान आफ्नो गरी कुल ८० हजार रुपैयाँको लागतमा सयपत्री फूलखेती गरेका छन् । चाडवाडको अवसरमा फूल खरिदका लागि वर्षेनी लाखौ रुपैया विदेशीने गरेकाले स्थानीय बजार र आवश्यकतालाई ध्यानमा राखेर तिहारमा खपत हुने फूल उत्पादनमा लागेको पौडेलले बताएका छन् ।
उनले भने, ‘हेर्दा समान्य देखिएपनि तिहारमा फूल खरिदमा ठुलो रकम वाहिरिने हुँदा त्यसको आपुर्ति स्थानीय स्तरबाट गर्न सकियो भने स्वदेशी उत्पादनसँगै रोजगारको अवसर पनि सिर्जना हुने र आर्थिक रुपमा पनि टेवा पुग्ने देखिएकाले व्यवसायीक रुपमा फूलखेती गरेको छु ।’
बिगतको तिहारमा प्रति फुलको थुँगा ६ रुपैयामा किनेको अनुभव बटुलेको पौडेलले खुद्रा बिक्री गर्न सकेमा करिव ३ लाख रुपैयाँ बराबरको आम्दानी हुने अपेक्षा गरेका छन् । मालाको २०० रुपैयासम्म खुद्रा बजार भाउ रहेता पनि सुपथ मुल्यमा फूलको बिक्री गर्ने लक्ष्य राखेको पौडेलले बताए ।

बन्दीपुरको थुम्कामा ५० रोपनी क्षेत्रफलमा फूल खेती

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित थुम्कामा अहिले ढकमक सयपत्री फुल फुलेको छ । तिहार नजिकिए संगै रमणीय वातावरणमा सयपत्री फुल ढकमक फुलेको हो । थुम्का स्थित करिव ५० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा ताम प्रसाद भट्ट नेत्र प्रसाद लामीछाने, नारायण लामीछाने लगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन ।
फूल फुल्न थालेपछि एक बिरुवाबाट करिव २ वटा माला तयार हुने पुष्प ब्यबसायी  भट्टको भनाई छ । एक बिरुवाबाट न्यूनतम ५० रुपैयाँ आम्दानी गर्न सकिने उनको प्रारम्भिक अनुमान छ । प्रति मुठा न्युनतम ५० देखी प्रति माला न्युनतम २०० रुपियाँको दरले बिक्री गर्न सकिने छ ।
उनले व्यवसायीक रुपमा फूल उत्पादन गरेर आफैले मात्र डेढ लाख  आम्दानी गरेका थिए । यस बर्ष पनि त्यही अनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ । सयपत्री फुल नेपालमा उत्पादन लागत भारतको तुलनमा धेरै पर्ने भएकाले सिजनका बेला छिमेकी मुलुक भारतबाट आउने सयपत्री फूलको मुल्यसंग प्रतिष्पर्धा गर्न कठिन रहेको उनको भनाई छ ।
बिरुवा रोपेको ४ महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ। स्थानीय बजारमा मात्र नभइ आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउन गराउदै आएको बताए ।
शनिबार बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले अवलोकन गर्दै आगामी दिनमा पुष्प ब्यबसायीहरुलाई उत्पादनमा प्रोत्साहन गर्न गाउँपालीकाले बिरुवामा अनुदान दिने बताएका छन् ।

सयपत्री फूल चिस्यान केन्द्रमा भण्डारण

आँबुखैरेनी गाउँपालिका-१ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्रमा सयपत्री फूल भण्डारण गर्न थालिएको छ । लामो समयदेखि बिग्रिएर प्रयोगविहीन बनेको सहकारी संस्थाको चिस्यान केन्द्र गाउँपालिकाले मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
आँबुखैरेनी-१ स्थित याञ्चोक र आँधीमूल आमा समूह तथा मित्रता मावि परिसमा गरी करिब २६ रोपनी क्षेत्रफमा व्यावसायिक फूल खेती गरिएको छ । पालिकाले केन्द्र मर्मत गरी सयपत्री फूल भण्डारणका लागि प्रयोगमा ल्याइएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए । यस वर्षमौसम उपयुक्त भएकाले छिट्टै फूलको वृद्धि विकास भई तिहार अगावै फूल फक्रिन थाल्ने उनले बताए । फूल फक्रिन थालेपछि टिपेर माला बनाइने उनले बताए ।
गोरखा, दमौली, काठमाडौँलगायत स्थानबाट तिहारका लागि आठ हजारभन्दा बढी मालाको माग भइसकेको केसीले बताए । “याममा गुणस्तर हेरी प्रतिमाला रू ४० देखि ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उनले भने, “अन्य समयमा प्रतिमाला रू ७० मूल्य कायम गरिएको छ । खुद्रा भने रू एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने योजना छ ।”
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित यान्चोक आमा समुहले व्यवसायीक रुपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि माला तयार गरिदै । यस वर्ष तीहार पर्व ढिलो भएको र सयपत्री फूल चाँडै फुलेका कारण कृषकहरुलाई फूल जोगाई राख्न समस्या परेको छ । तस्विर : भञ्ज्याङ
पहिलो वर्षो अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका केसीले बताए । उनका अनुसार पूर्ण रूपमा फक्रिएका फूल मात्रै टिपेर माला बनाएर चिस्यान केन्द्रमा राख्न थालिएको छ । करिब पाँच हजार माला चिस्यान केन्द्रमा राख्न सकिने क्षमताको रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न एक सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार अध्यक्षसँग कृषि विकास कार्यक्रम अर्न्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवर्द्धन कार्यक्रमलाई अघि बढाइएको हो ।
अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker