तनहुँ जलविद्युत आयोजना : आगामी मनसुन अगावै बाँध निर्माण सकिने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ । आयोजनाको प्याकेज-१ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि सुरु गरिएको हो ।
त्यसका लागि उक्त गाउँपालिकाको वडा नं १ र व्यास नगरपालिकाको वाडा नं ५ सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट एक सय ४० मिटर अग्लो कङ्क्रिटको ६२६दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी पानी फर्काइएको छ । डार्इभर्सन सुरुङ मार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ ।
सन् २०२१ देखि निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण भएपछि नदी फर्काउने काम गरिएको हो । सेती नदी अब सोही डाइभर्सन टनेल भएर बग्नेछ । मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर डयाम) निर्माण गरिने आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी मनसुन सुरुहुनुभन्दा पहिले नै बाँध निर्माण गरिसक्ने गरी काम अगाडि बढाइएको छ । नदी फर्काइएपछि अब बाँध निर्माणका लागि जग खन्ने काम अब सुरु हुन्छ ।”
प्याकेज-१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन -प्राली) नेपाल जेभीसँगको ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम गरिएको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ को निर्माण कार्यका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता गरिएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माणकार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
भूमिगत विद्युत्गृह खनेर कङ्क्रिट राख्ने तथा टर्वाइन लगायत उपकरण जडान गर्ने काम भइरहेको र टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ । मुख्य सुरुङ भनेखनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । चौँतिस दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।
तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका-६ मा ३३/११ केभीका दुइवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने भएकामा एशियाली विकास बैँकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।










