तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको अचेत, १५ घाइतेको उद्धार, अन्यको खोजीकार्य जारी

तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–आँवुखैरेनी खण्डस्थित तनहुँको आँबुखैरेनी ऐना पहाराबाट यात्रु बहाक बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस आज बिहान करिब ११ः३० बजेको समयमा उक्त स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेको बसमा करिब ४० जना भारतीय पर्यटक सवार रहेको तनहुँ प्रहरीले अनुमान गरेको छ । उक्त दुर्घटनाबाट हालसम्म १४ जनालाई अचेत अवस्थामा र १५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपकुमार रायले बताए । उनका अनुसार अन्य यात्रुको खोजीकार्य भइरहेको छ ।
दुर्घटनास्थल भिरालो र अप्ठ्यारो ठाउँमा रहेको र मर्स्याङ्दी नदीमा पानीको वहाब उच्च रहेका कारण उद्धारकार्यमा कठिनाई भइरहेको उनले जानकारी गराए ।
दुर्घटनाग्रस्त बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीको अनुमान छ ।
तनहुँका प्रहरी नायव उपरीक्षक रायका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धार कार्य भइरहेको छ ।










