मादी पुलमा जीप दुर्घटना : एक किलोमिटर यात्रामै अन्त्य भयो तीन युवाको जीवनयात्रा
सविन लामिछाने/भञ्ज्याङ

रात छिपिँदै जाँदा दमौली बजारको कोलाहल शान्त बन्दै थियो । होटेल, रेष्टुरेन्ट बन्द हुँदै थिए । व्यास नगरपालिका–५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए ।
रातको करिब ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला रेष्टुरेन्टका नियमित ग्राहक रोहित गुट्टासँग भेट भयो । रोहित बोलेरो गाडी चलाउँथे । शनिबार पनि बोलेरोसहित आएका थिए ।
रातिमा चिनजान भएका व्यक्तिहरू भेटिएपछि उनले ‘चापाघाटसम्म पु¥याइदिन्छु’ भने । उनीहरु तीन जना गाडीमा चढे । उनीहरूसँगै बोलेरोमा थिए– रोहितका साथी धिरज रौनियार ।
यात्रा धेरै लामो थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताका राजु अधिकारीका अनुसार दमौली बजारबाट मादी नदीको पुल पार गर्नासाथै चापाघाट सुरु हुन्छ । दमौली बजारको केन्द्र भागबाट मादी पुलबीचको दूरी जम्मा एक किलोमिटर मात्रै छ ।
उनीहरू चढेको ग२च ५७६० नम्बरको बोलेरो गाडी केही मिनेटमै मादी पुलमा पुग्यो र रेलिङमा ठोक्किँदै तल बगरमा खस्यो। गाडी पुलको रेलिङमा सुरुमा ठोक्किएर ५० मिटर परसम्म पुगेर नदीमा खसेको प्रहरीको भनाइ छ ।
चिनेका साथीको गाडी चढेर घर हिँडेका कुशल, प्रवीन र कुमार त्यहीँ नदीमै अस्ताए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुल भएको उक्त दुर्घटनामा परी व्यास–५ पाटन बेतेनीका २८ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा मगर र २२ वर्षीय कुशल थापा मगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुट्टा र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्। घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । उनको घाँटी, छातीमा भित्री चोट, दायाँ खुट्टामा काटेको हुँदा गम्भिर अवस्था देखिएकाले राती १ बजेनै मणिपाल अस्पताल पोखरा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी गराए । घाइते चालक गुट्टा दमौली अस्पतालमा उपचार भएको बताइएको छ ।
घाइते चालक रोहितका अनुसार बसले ओभरटेक गर्दै आइरहेकाले दुर्घटना भएको हो । ‘हामी यताबाट जाँदै थियौं, त्यो बेलामा विपरीत दिशाबाट बस ओभरटेक गर्दै आइरहेको थियो’, उनले भने, ‘डर लागेर मैले बायाँ मोड्न खोजें तर गाडी पुलबाट खस्यो ।’
१२ वर्ष अघिको त्यो दुर्घटना
यस्तै, यही पुलबाट १२ वर्षअघि पनि रेलिङ भत्काउँदै एउटा बस मादी नदीमा खसेको थियो । त्यसबेला ११ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । यो पुल वि.सं. २०२८ सालमा बनेको हो । रेलिङ पुरानै भएकाले कमजोर र सजिलै भाँचिने खालका छन् ।
पुलको किनारमा रहेको बीम (पर्खाल) पनि एक बित्ता मात्रै अग्लो छ । यो उचाइ गाडी रोक्न पर्याप्त नभएकाले पुलमा दुर्घटना हुने गरेको व्यास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अनुमान छ ।
तर, मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णु पाण्डे धेरैजसो सवारी दुर्घटना चालकको असावधानी र तीव्र गतिका कारण हुने गरेको बताउँछन् । गएरातिको दुर्घटना पनि सोही कारण भएको हुनसक्ने उनको अनुमान छ ।
तीव्र गतिका गाडी पनि रोक्ने गरी पुलको रेलिङ नबनाइने बताउँदै उनी भन्छन्, ‘दुर्घटना रोक्ने भनेको ट्राफिक नियमको पालना र चालकको सावधानी नै हो ।’
यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीले उक्त दुर्घटना अस्वभाविक ढंगले भएको देखिन्छ । उनले भने, ‘चालकले मापासे गरेको पनि देखिएन, चालकका अनुसार विपरित दिशाबाट तीब्रगतिमा आएको बसका कारण भएको बताएका छन् । त्यो भन्दा अन्य कारणले दुर्घटना भएको जस्तो देखिदैन ।’










