व्यासको भद्रुडाँडामा बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल

तनहुँ : तनहुँ सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा । चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ । आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर छाक टार्दै आएका छन्। यो समस्या त छँदैछ, जंगल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव ।
स्थानीय हस्तबहादुर नेपालीले भन्नुभयो, “बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ । करिब १५/२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो” उहाँले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाउनुभयो । “चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नु परेको छ”, उहाँले भन्नुभयो, “जङ्गलको बाटो हँुदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ ।”
यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ । व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र संघीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो। बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन् ।
यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन् । सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ। सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
“बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो”, उहाँले भन्नुभयो, “यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ ।” श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ ।
विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन । संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताउनुभयो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker