तनहुँको व्यास नगरपालिकाद्वारा दुइ कार्यविधि संशोधन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले दुइ कार्यविधि संशोधन गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यापालिका बैठकले गर्भवती महिला पोषण कार्यक्रम कार्यविधि, २०७९ र एकल महिला तथा पुरुष सहयोग कार्यक्रम सम्बन्धी कार्यविधि, २०७९ संशोधन गरेको हो ।
कार्यपालिका बैठकले नगरसभाबाट तोकिएका योजनाहरुको उपभोक्ताहरुसंग सम्बन्धित वडा कार्यालयमै भएका सम्झौता र निर्माण एवं भुक्तानि प्रकृयाको सम्बन्धमा गरिएको अभिमुखिकरण कार्यक्रम सकारात्मक भएको हुँदा उक्त कार्यक्रमको समिक्षा गरी निरन्तरता दिने निर्णय गरिएको छ ।
यस्तै, बैठकले वडा नं. १२ छिर्कने निवासी चित्र बहादुर कुवंरका ७ वर्षीय नाति अभिनव कुवंरको बाघको आक्रमणबाट मृत्यू भएको र वडा नं ११ निवासी गंगा प्रसाद सुवेदिलाई सिंगुसको टोकाइबाट मृत्यू भएको घटना प्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटना भई मानवीय क्षति भएकाले राहत स्वरुप मृतकका एकाघर सगोलका हकवालालाई जनही ५० हजार रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
व्यास नगरपालिका-१२ र बन्दिपुर गाउँपालिका वडा नं ३ को क्षेत्रमा हाल बाघको आवत जावत बढिरहेको र विगत २० दिनमा २ जना बालकहरुलाई मारी सकेको हुँदा स्थानीय वडावासी/नगरवासीलाई सजग रहन नगरपालिकाले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला वन कार्यालयलाई बाघ नियन्त्रणमा लिन वा नरभंक्षी बाघबाट नगरवासीको सुरक्षाका लागि कानूनी प्रकृया पुर्याई मार्न समेत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी गराए ।










