राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह

पोखरा । नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन तथा व्यवस्थापन सम्बन्धी नियमावली जारी गरेको छ ।वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले राइड सेयरिङलाई वैधानिकता दिने गरी नियमावली पारित गरिएको हो । नियमावली पारित भएपछि राइडर्सहरु उत्साहित देखिएका छन् ।

राइडर्स तथा सेल्फ ड्राइभ व्यवसायीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर नियमावली पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका हुन् । राइडर्स नेपाल पोखराका अध्यक्ष अनिल श्रेष्ठले नियमावलीसँगै हजारौं युवाको रोजगारीमा स्थायित्व ज्ञारेण्टी भएको बताए । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो र हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए । हामीले पनि सेवा दिइरहेका थियौं,’ उनले भने, ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरुको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’

सेल्फ ड्राइभ व्यवसायी रमेशराज पाण्डेले पनि नियमावलीको प्रशंसा गर्दै सरकारले सेवामैत्री नियमावली पारित गरेको बताए । ‘पहिले व्यवसाय गर्न अनेकन समस्या थियो । अब भने स्पष्ट कानुनी ढाँचाभित्र रहेर व्यवसाय गर्न सहज हुनेछ,’ उनले भने, ‘पर्यटकलाई गुणस्तरीय सेवा दिन सकिने भएको छ । जुन पर्यटन प्रवद्र्धनका लागि समेत सकारात्मक संकेत हो । अब पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा विस्वस्त छौँ ।’

भेटमा मुख्यमन्त्री पाण्डेले यात्रुको सुरक्षा र सुविधामा विशेष ध्यान दिन राइडर्सहरुसँग आग्रह गरे । ‘सरकारले नियमावली ल्याएको छ । यसलाई व्यवस्थित गर्ने दायित्व तपाईंहरुकै हो,’ उनले भने, ‘यात्रुले सुरक्षित र सहज सेवा पाउन सकुन् भन्ने हाम्रो मान्यता छ । तपाईंहरु सचेत रहनुपर्छ ।’ उनले राइड सेयरिङ नियमावलीले यातायात व्यवसायीहरुलाई समेत मर्का नपर्ने बताए ।

‘नियमावलीले यातायात संचालन गरिरहेका व्यवसायीलाई पनि घाटा हुँदैन,’ उनले भने, ‘भाडाका सवारी सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिइएको छ ।’

राइड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पुरा गरेको हुनुपर्छ । प्रक्रिया पुरा नगर्नेहरुलाई जरिवाना धेरै रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने ‘अटेर गर्नेलाई छुट हुँदैन । सबैले नियम पालना गर्नुहोला, सबैलाई गर्न भन्नु पनि होला ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker