भानुको चन्द्रावती-पोखरीछाप सडक : कार्ययोजना सहितको विवरण २ दिन भित्र पेश गर्न निर्माण पक्षलाई निर्देशन

भञ्ज्याङ न्यूज

तनहुँको भानु मार्ग अन्तर्गत चन्द्रावती-पोखरीछाप सडक खण्ड विस्तार कार्यको सम्झौता भए अनुसार तोकिएको समयमा सम्पन्न गर्ने गरी २ दिन भित्र कार्यायोजना पेश गर्न निर्देशन दिइएको छ ।

भानु नगरपालिका-१३ को चन्द्रावतीदेखि भानु-चन्द्रावती-पोखरीछाप-पुलिमराङ-कुन्छा-कालीमाटी रुट योजनाका सम्बन्धमा भानु-१३ को चन्द्रावतीमा आइतबार बसेको सर्वपक्षीय सरोकारवालाहरु बीचको अन्तरक्रियामा निर्माण पक्षलाई उक्त निर्देशन दिइएको हो ।

गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, भौतिक तथा यातायात मन्त्रालयका सचिव गणेशराज वस्ती, भानु-१३ का वडाध्यक्ष कृष्ण बहादुर अधिकारी, भानु-१२ का वडाध्यक्ष बेल बहादुर अधिकारी, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरे, इन्जिनियर अमेन्द्र कुमार यादव, जिल्ला समन्वय समितिका निवर्तमान सदस्य गल गुरुङ, निर्माण व्यवसायीका प्रतिनिधि दिपक सापकोटा, संगम खड्का तथा स्थानीयहरुको उपस्थितिमा बाटो निर्माणमा भएको ढिला सुस्तीका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया पश्चात निर्माण व्यवसायीले सडक आयोजनाको निर्माण कार्य गर्नेगरी पूर्वाधार विकास कार्यालयसंग भएको सम्झौता बमोजिमको अवधिमा गुणस्तरीय कार्य सम्पन्न गरिसक्ने गरी कार्ययोजना सहितको विवरण आगामि दुइ दिन भित्र पूर्वाधार विकास कार्यालय तनहुँमा पेश गर्ने निर्ण्र्ाागरिएको छ ।

उक्त सडक खण्ड विस्तार गरिएको करिब ३० वर्ष बितेको छ । तनहुँको पूर्वीउत्तर क्षेत्रका बासिन्दालाई सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ पृथ्वीराजमार्गको डुम्रेबाट भानु मार्ग विस्तार गरिएको छ । तनहुँका गाउँगाउँमा कच्चि सडक विस्तार गरिएपनि समयमै स्तरोन्नती नहुँदा स्थानीयले सुविधा भन्दा सास्ती झेर्ल्र्दै आएका छन् ।

भानु मार्गको चन्द्रावतीबाट भानु नगरपालिकाको वडा नं. १२, १३ का ग्रामीण क्षेत्रमा कच्चि सडकहरु विस्तार गरिएका छन् । सडकलाई बिकासको पहिलो खुड्किलोको रुपमा पनि लिइन्छ । ग्रामीण क्षेत्रलाई सडकसञ्जालसंग जोड्नका लागि खनिएका सडकको समयमै स्तरोन्नति हुन नसक्दा सुविधा भन्दा बढि दुःख झेल्नुपर्ने अवस्था आएको छ ।

हिउँदको समयमा धुलो र वर्षायाममा हिलोको समस्या सामान्य जस्तै बनेका ग्रामीण कच्चि सडक अहिले सानो झरी पर्दा यातायातका साधान समेत चल्न नसक्ने अवस्थामा पुगेका छन् । भानु मार्गको चन्द्रावती-पोखरीछाप-ठूलोढुंग खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्ने काम अगाडि बढाइएपनि अहिले अलपत्र अवस्थामा छ । निर्माणपक्षले सडक कालोपत्रे, नाला निर्माण लगायतका पूर्वाधार तयार गर्ने जिम्मा लिएको समय सकिएको करिब वर्षदन बित्नै लागेपनि प्रगति सून्य अवस्थामा छ ।

२०४९ सालमा भानु मार्गको चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएका छन्। यो सडकको १० किलोमिटर खण्ड २०७८ माघ १५ गतेभित्र कालोपत्रे, नाला निर्माण तथा ग्याबिङ्ग जाली भर्ने लगायतका कार्य सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता गरिएको थियो ।

शंकरमाली कन्ट्रक्सन काठमाडौंले उक्त सडक खण्डको स्तरोन्नतीका लागि २३ करोड २ लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको भएपनि ठेक्काको समयसिमा सकिदा १० प्रतिशत पनि भौतिक प्रगति गर्न सकेको छैन । निर्माण पक्षले पहिलो चरणमा नियमानुसार पेश्की स्वरुप २ करोड ६८ लाख ६४ हजार १११ रुपैयाँ निकासा लिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

प्रदेश सरकार अन्तरगत रहेको उक्त सडक निर्माण पक्षकै लापरवाहीका कारण हालसम्म सडक निर्माण कार्यले गतिलिन सकेको छैन । यता सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्ट्रक्सनले भने आफुले कामको जिम्मा लिए लगत्तै कोभिड-१९ संक्रमण फैलिपछि मुलुक लकडाउनको अवस्थामा पुगेकाले आवश्यक मजदुर समेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउने गरेको पूर्वधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरे बताउँछन् ।

सार्वजनिक खरिद ऐनको १२औं संशोधन पश्चात निर्माण पक्षलाई २०८० असार मसान्तसम्म म्याद थपिएको छ । सडक दयनीय अवस्थामा पुग्नुमा स्थानीय सरकार, राजनीतिक दलका नेता तथा अन्य सरोकारवाला निकाय पनि उत्तिकै जिम्मेवार देखिएका छन् । सडक निर्माणमा ताकेता नदिनु, काम भए नभएको अनुगमन नगर्नु, विकास निर्माणमा राजनीतिक स्वार्थ बाझिनु जस्ता कारणहरु रहेको स्थानीय उपभोक्ताहरुले आरोप लगाउने गरेका छन् ।

भानु मार्ग हुँदै गण्डकी प्रदेशकै नमुना समुदायीक होमस्टेका रुपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे जाने गरिन्छ । सडकको स्तरोन्नती नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था छ । यसै मार्ग हुँदै तनहुँको दोश्रो अग्लो पहाड मिर्लुङकोट, शहीदको गाउँका रुपमा परिचित पुलिमराङ लगायतका ऐतिहासिक, धार्मिक, प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अध्ययन अवलोकन गर्न जाने बाटोको अवस्था नाजुक बन्दै गएको छ ।

निर्माण पक्षले उक्त सडक खण्डमा केही ठाउँमा सडक सिमालाई चौडा बनाउने, ग्याबिङग जाली भर्ने तथा केही मात्रमा नाला निर्माणको काम गरेपनि अन्य काम हुन सकेका छैन ।

यस्तै, शंकरमालीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा-हर्कपुर मोटर मार्गको पनि सोही मितिमा ठेक्का सम्झौता गरेपनि काम सम्पन्न गरेको छैन । दुलेगौंडा-हर्कपुर मोटर मार्गमा जम्मा ४० प्रतिशतको हाराहारीमा कामको प्रगति भएको र तत्काल काम अगाडि बढाउने प्रतिवद्धता सहित अगामि असार मसान्तसम्म समय थप गरिएको पूर्वाधार कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker