तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ हुने

दमौली : तनहुँमा आउँदो वैशाख ४ र ५ गते ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कन्द्रीय समितिले शनिबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
सम्मेलन ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा सञ्चालन हुने कार्यक्रम संयोजक पदम थापा मगरले जानकारी दिए । उनका अनुसार मौलिक कौराहा नृत्यको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
सम्मेलनमा कम्तीमा ३० वटा राष्ट्रिय स्तरका मौलिक कौराहा समूह सहभागी हुने अपेक्षा गरिएको छ । तनहुँसहित गोरखा, लमजुङ, कास्की, चितवन, देवघाट र नवलपुरलगायत जिल्लाबाट कलाकारहरूको सहभागिता रहने बताइएको छ ।
कार्यक्रम सञ्चालनका लागि करिब १५ देखि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च स्थानीय तह, विभिन्न कलाकार संघसंस्था तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगबाट व्यवस्थापन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष नन्द घर्ती मगरका अनुसार सम्मेलन राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल, नेपाल मगर संघ र जिल्ला समन्वय समिति तनहुँको सह–आयोजनामा हुनेछ ।
यसैगरी नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाडौं सम्पर्क समिति तथा नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति तनहुँको व्यवस्थापनमा सम्मेलन सञ्चालन गरिने जनाइएको छ । आयोजकले सम्मेलनमार्फत मौलिक संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।










