आमा समूहले बनाए चौतारा र बहुउद्देश्यीय भवन, संरक्षण र प्रवर्द्धनमा सबैको सक्रियता आवश्यक : नगरप्रमुख सुवेदी

भिमाद : तनहुँको भिमाद नगरपालिका–७ कुनाधारा र भिमाद–९ धन्दुरस्थित सिद्ध गुफा परिसरमा भिम्बाद मई आमा समूहले चौतारा तथा बहुउद्देश्यीय एककोठे भवन निर्माण गरेका छन् । उक्त नवनिर्मित भवनको आइतबार भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले दुवै संरचनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
उक्त भवनको संरक्षण, व्यवस्थापन तथा रेखदेखको जिम्मेवारी नगरपालिकाले सम्हाल्ने गरी आमा समूहले भवनको चाबी नगरप्रमुख सुवेदीलाई हस्तान्तरण गरेको छ । समूहका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सर्वसाधारण यात्रु तथा स्थानीयवासीलाई विश्रामस्थलको सुविधा उपलब्ध गराउने उद्देश्यले भिमाद–७ कुनाधारामा करिब तीन लाख ७५ हजार रुपैयाँको लागतमा चौतारा निर्माण गरिएको थियो । त्यसैगरी, पर्यटकीय गन्तव्य धन्दुरस्थित सिद्ध गुफा क्षेत्रमा आगन्तुक तथा धार्मिक पर्यटकलाई लक्षित गरी करिब आठ लाख रुपैयाँको लागतमा बहुउद्देश्यीय एककोठे भवन निर्माण गरिएको हो ।
उक्त कार्यक्रममा नगरप्रमुख सुवेदीले भिम्बाद मई आमा समूहले समाजका लागि दीर्घकालसम्म उपयोगी हुने संरचना निर्माण गरेर अनुकरणीय सामाजिक योगदान दिएको बताए । आमा समूहहरू सामाजिक तथा सांस्कृतिक गतिविधिमा मात्र सीमित नरही सार्वजनिक हितका पूर्वाधार निर्माणमा अग्रसर हुनु सकारात्मक अभ्यास भएको उनको भनाइ थियो ।
नगरप्रमुख सुवेदीले धन्दुरस्थित सिद्ध गुफाको पर्यटन विकास अपेक्षाअनुसार अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । गुफा क्षेत्रमा पार्किङ, शौचालय, खानेपानी, पिकनिक स्थल तथा सिद्ध बाराही मन्दिरलगायतका पूर्वाधार निर्माण भए पनि प्रभावकारी प्रचार–प्रसार र विकास समिति निष्क्रिय हुँदा यसको पर्यटन सम्भावना ओझेलमा परेको उनले बताए ।
उनले ‘भिजिट नेपाल २०२०’ अभियानअन्तर्गत सिद्ध गुफा नेपालका एक सय प्रमुख पर्यटकीय गन्तव्यमध्ये छनोट भएको स्मरण गराउँदै यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि स्थानीय समुदाय, सरोकारवाला निकाय र नगरपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा भिमाद नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले सार्वजनिक हितलाई केन्द्रमा राखेर आमा समूहले गरेको कार्य प्रशंसनीय रहेको बताए । यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै उनले समूहलाई धन्यवाद दिए ।
भिमाद नगरपालिका–२ का वडा अध्यक्ष दिनेश थापाले पनि समाज विकासमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता रचनात्मक तथा सामाजिक अभियानमा वडा कार्यालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
भिम्बाद मई आमा समूहकी अध्यक्ष बिहिसरा रानाले समूहको आफ्नै कोष, सदस्यहरूको योगदान तथा विभिन्न सहयोगी व्यक्तिको आर्थिक सहयोगबाट दुवै संरचना निर्माण गरिएको जानकारी दिइन्। महिलाहरू एकताबद्ध भए समाजका लागि महत्वपूर्ण काम गर्न सकिने उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामाजिक सेवा र पर्यटन प्रवर्द्धनका क्षेत्रमा समूह सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् । साथै निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, सदस्य तथा स्थानीयवासीप्रति उनले आभार व्यक्त गरिन् ।
कार्यक्रममा जनप्रतिनिधि, सिद्ध गुफा विकास समितिका पूर्वपदाधिकारी, विभिन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, सहयोगदाता र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको समूहकी सचिव सुनिता मास्की रानाले जानकारी दिइन् ।










