कोभिड-१९ संक्रमणको जोखिम पुनः बृद्धि भएसंगै देवघाटमा मलामी संख्या कम गर्न आग्रह
भञ्ज्याङ समाचारदाता (देवघाट)

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम पुनः बृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी संख्या कम गर्न आग्रह गरेको छ । कोरोना संक्रमण पुनः बृद्धि भएसंगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएपछि समितिले मंगलबार सूचना जारी गर्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।
कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी गराए । उनले भने, ‘सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना संक्रमणको उच्च जोखिममा छ । रोग लागिसकेपछि चिन्ता गर्नुभन्दा बेलैमा सतर्कता अप्नाउनु उत्तम हुन्छ ।’
मलामीहरुलाई न्युन संख्यामा आएर धेरै घुमफिर नगर्ने, नुहाईधुवाई गरी चोखो शुद्ध भएर घर फर्किन समितिले आग्रह गरेको छ । यस्तै, कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा थप क्रियाशिल भई नेपालमा समेत संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत बृद्धि भएको हुँदा जिल्लामा भिडभाड नगर्न, जात्रा, मेला महोत्सव, कर्न्र्सट नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ ।
यस्तै, कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकबाट कोरोना भाइरस संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी थप प्रभावकारी बनाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
जिल्लाबासीलाई स्यानिटाइजर, माक्स र सामाजिक दुरीको संस्कृति विकास गर्न आग्रह गरिएको छ भने, यसो गरेको नपाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।