गत आर्थिक वर्ष तनहुँमा १२ वटा पुल शिलान्यास, एउटा पनि सम्पन्न भएनन्

कृष्ण न्यौपाने

आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

विगतमा प्रदेश सरकारका लगानीमा जिल्लामा पक्की पुल शिलान्यासको लहर चलेको थियो । विभिन्न नदी तथा खोलामा ती सबै पक्की पुल निर्माणाधीन छ । तीमध्ये तीन आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आव रहेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । “कोरोना कहरका कारण समयमै सकिनुपर्ने पुलको काम सम्पन्न हुन सकेन”, उहाँले भन्नुभयो ।

कोरोना कहरका बाबजुद निर्माण कम्पनीले काम पनि गरेका थिए । लक्ष्यअनुसार भने पूरा नभएको उहाँ बताउनुहुन्छ । निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उहाँको भनाइ छ । कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार छ महिना म्याद थप गरिनेछ । “म्याद सकिएका पुल छ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन गरिएको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको हो । “दुवै पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ, अब स्ल्याब राख्ने काम मात्र बाँकी छ”, उहाँले भन्नुभयो ।

निर्माणाधीन ती पुललाई रु २९ करोड एक लाख २९ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । यसआवमा प्रदेश सरकारले ती पुललाई रु २६ करोड ४० लाख विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न रु ८९ करोड ६६ लाख ६१ हजार २४० आवश्यक पर्दछ ।

चालू वर्षमा पनि प्रदेश सरकाले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । ती पुललाई तीन करोड ३० लाख बजेट विनियोजन भएको छ । बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि विस्तृ आयोजना प्रतिवेदन (डिपिआर) तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल काम शुरु गरिने कार्यालय प्रमुख ढुङ्गानाले बताउनुभयो ।

वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यस वर्षामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आशा थियो । भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी बरखोलामा शिलान्यास गरेको पुल गत असार २२ मा सम्पन्न हुनुपर्ने थियो । मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का पाएको पुलको चार वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन ।

हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानीवासी घाँस दाउरा र मेलापात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि सास्ती छ ।

वर्षांैदेखि मोटरेवल पुल चाहियो भन्दै आएका स्थानीयवासीको मागलाई सुनवाइ गर्दै प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास भएको थियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत असार २७ मा सकिएको छ ।

पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताउनुभयो । “यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो”, उहाँले भन्नुभयो, “पुल र सडकका बीचमा फिल्डिङ गर्ने काम बाँकी छ ।”

ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको छ । ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चार वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker