बुद्धसिंह मार्ग र घुमाउने पुल : १२ वर्षमा बनेन घुमाउने पुल, फेरि मन्त्रीको आश्वासन !

घुमाउने पुल एक महिनाभित्र निर्माण सुरु गर्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता, पृथ्वीराजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग अलपत्र हुँदा किसानदेखि सर्वसाधारणसम्म मारमा

  • नारायण खड्का/तनहुँ
तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण सुरु भएको करिब १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । नदीका दुवैतर्फ केही पिल्लर ठड्याउनेबाहेक उल्लेख्य काम हुन नसकेको पुल निर्माणका लागि फेरि अर्को आश्वासन आएको छ । आइतबार दलबलका साथ पुल निर्माण क्षेत्रको अवलोकन गर्न पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एक महिनाभित्र निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पटकपटकको सरकारी प्रतिबद्धता, बजेट विनियोजन र स्थानीयको दबाबका बाबजुद पुल निर्माणले गति लिन नसकेको अवस्थामा मन्त्रीको पछिल्लो घोषणाले स्थानीयमा आशा र संशय दुवै पैदा गरेको छ । मन्त्रीले पुरानै संरचना प्रयोग गर्ने वा नयाँ संरचनाबाट पुल बनाउने भन्ने निर्णय भइनसकेको बताए । अहिलेकै संरचनाबाट निर्माण सुरु गर्न सके आगामी दसैँअघि पुल सञ्चालनमा ल्याउन सकिने उनको दाबी छ ।
आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने गरी निर्माण थालिएको पुल अलपत्र पर्दा पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न खोजिएको बुद्धसिंह मार्गसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पुल नहुँदा दमौलीबाट घुमाउनेसम्म साना सवारीसाधन सञ्चालन भए पनि ठूला सवारीसाधनले सहज आवागमन गर्न पाएका छैनन् । यसले तनहुँको दक्षिणी क्षेत्रलाई चितवनसँग छोटो दूरीमा जोड्ने योजनाको सम्भावना खुम्चिएको छ ।
पुल निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएपछि आयोजना अन्योलमा परेको हो । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बित्दा पनि पुल पूरा नहुनु सरकारी आयोजना व्यवस्थापन, ठेक्का कार्यान्वयन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न बनेको छ ।
स्थानीयवासीले पुल निर्माणको माग गर्दै पटकपटक सम्बन्धित मन्त्री, सांसद र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छन् । पछिल्लो समय संघर्ष समितिले सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठ र सूचना अधिकारी राजेन्द्र कार्कीसँग पुलको अवस्था तथा निर्माण प्रक्रिया अघि बढाउने विषयमा छलफल गरेको घुमाउने पुल संघर्ष समितिका संयोजक सिद्धान्त थापा बताउँछन् । उनले आइतबार पूर्वाधार विकासमन्त्री लम्साललाई भने, ‘हामीलाई प्रचार चाहिएको छैन, काम चाहिएको छ।’ उनले तीन साताभित्र निर्माणको ठोस पहल नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत यस अगाडि दिइएका थिए।
यस्तै, पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको बुद्धसिंह मार्गमा वर्षौंदेखि करोडौँ रुपैयाँ बजेट विनियोजन हुँदै आएको छ । तर सडकको स्तरोन्नति, कालोपत्र र नदी तथा खोलामा पुल निर्माणले अपेक्षित गति लिन नसक्दा यस क्षेत्रका नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
सडक निर्माण र स्तरोन्नतिका लागि संघ, प्रदेश तथा स्थानीय तहबाट बर्सेनि बजेट विनियोजन भए पनि त्यसअनुसारको भौतिक प्रगति देखिएको छैन । सडकका कतिपय खण्डमा ट्र्याक खुले पनि कालोपत्र, स्तरोन्नति र पुल निर्माणका काम अधुरा छन् । अर्कोतर्फ घुमाउने पुल निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएपछि आयोजना अन्योलमा परेको छ ।

पुल नबन्दा वैकल्पिक मार्गको औचित्यमै प्रश्न

बुद्धसिंह मार्गको महत्व केवल ग्रामीण सडकका रूपमा सीमित छैन । तनहुँको मध्यपहाडी क्षेत्रलाई चितवनसँग छोटो दूरीमा जोड्ने र पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने रणनीतिक लक्ष्य यससँग जोडिएको छ । दमौलीदेखि घुमाउनेघाट हुँदै चितवन पुग्ने मार्ग पूर्ण रूपमा सञ्चालनमा आए हाल मुग्लिङ–आँबुखैरेनी–डुम्रे हुँदै प्रयोग गरिने सडकको तुलनामा करिब २५ किलोमिटर दूरी छोटिने स्थानीयको भनाइ छ ।
तर घुमाउनेमा त्रिशूली नदीमाथि पक्की पुल नहुँदा सडकको सम्भावना व्यवहारमा रूपान्तरण हुन सकेको छैन । हाल दमौलीबाट घुमाउनेघाटसम्म साना सवारीसाधन सञ्चालन भए पनि पुल अभावमा ठूला सवारीसाधन सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था छैन । यसले सडकमा भएको लगानीको प्रतिफलसमेत सीमित बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) तनहुँका सभापति एवं बुद्धसिंह मार्गका पूर्वअध्यक्ष समेत रहेका विश्व बास्तोलाले पूर्वाधार विकासमन्त्री लम्साललाई बुद्धसिंह मार्गको रणनीतिक महत्व र घुमाउनेमा पक्की पुल निर्माणको आवश्यकताबारे जानकारी गराए । उनले पृथ्वी राजमार्गको विकल्पका रूपमा यस मार्गलाई विकास गर्न पुल र सडक दुवैको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने विषय जोड दिएका थिए ।

पुल मात्रै होइन, खोलामा पनि उस्तै समस्या

घुमाउने पुलको निर्माण अन्योलमा रहँदा बुद्धसिंह मार्गअन्तर्गतका विभिन्न खोलामा पनि मोटरेबल पुल नहुँदा स्थानीयले समस्या भोगिरहेका छन् । भूतखोला, सुढेखोला, बगरखोला, खानीखोला र ढाटखोलामा पुल नहुँदा वर्षायाममा आवागमन कठिन हुने गरेको छ। विशेषगरी साउन र भदौमा वर्षा हुँदा खोलामा पानीको बहाव बढेर यातायात अवरुद्ध हुने र स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ ।
स्थायी पुल निर्माणमा भइरहेको ढिलाइको विरोध तथा तत्काल आवागमन सहज बनाउने उद्देश्यले स्थानीयले जनश्रमदानबाट काठेपुल निर्माण गर्ने अभियानसमेत अघि सारेका छन् । घुमाउने पुल संघर्ष समितिका संयोजक एवं सामाजिक अभियन्ता सिद्धबहादुर थापा (सिद्धान्त) को अगुवाइमा आइतबार बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको सिमानामा पर्ने भूतखोलाबाट अभियान सुरु गर्ने तयारी गरिरहदा पूर्वाधार विकासमन्त्री लम्सालले घुमाउने पुलको अनुगमन गर्दै स्थानीयसंग छलफल गरेका छन् ।
दीर्घकालीन रूपमा पक्की पुल निर्माण नभएसम्म नागरिकको आवागमन सहज बनाउन जनश्रमदानबाट अस्थायी काठेपुल बनाउने अभियानको उद्देश्य रहेको थापाले बताए। उनले यो अभियानलाई अस्थायी आवागमन सहज बनाउने प्रयासका रूपमा मात्रै नभई राज्यलाई नागरिकका समस्याप्रति जिम्मेवार बनाउन दबाब सिर्जना गर्ने माध्यमका रूपमा लिन आग्रह गरे ।
‘दैनिक आवतजावत गर्ने नागरिकले भोग्नुपरेका पीडा र चुनौती सम्बन्धित क्षेत्रका बासिन्दालाई मात्रै थाहा छ’, थापाले भने, ‘भोगाइ र संघर्षबाटै नवीन सोचको उदय हुँदो रहेछ ।’
स्थानीयले जनश्रमदानबाट काठेपुल बनाउने तयारी गर्नु राज्यका लागि सहज सन्देश होइन। नागरिकले कर तिरेर पाउनुपर्ने आधारभूत पूर्वाधारको अभावमा आफैँ श्रम जुटाउनुपर्ने अवस्था आउनु विकास व्यवस्थापनको कमजोरी हो। अस्थायी काठेपुलले केही समयका लागि आवागमन सहज बनाए पनि त्यसले पक्की पुलको आवश्यकता र राज्यको दायित्वलाई विस्थापित गर्न सक्दैन ।

कृषकको उत्पादन बजार पुर्याउनै कठिन

यस्तै, बुद्धसिंह मार्गको निर्माण ढिलाइको प्रत्यक्ष असर स्थानीय कृषि उत्पादन र बजार पहुँचमा परेको छ। देवघाट, ऋषिङ, बन्दीपुरको तल्लो क्षेत्र तथा आँबुखैरेनीका विभिन्न बस्तीमा उत्पादित सुन्तला, तरकारी र अन्य कृषिउपज बजारसम्म पुर्याउने मुख्य मार्गका रूपमा यो सडक प्रयोग हुँदै आएको छ । देवघाट गाउँपालिका–२ लुङ्ग्रीङका सुन्तला किसान नवराज गुरुङ सडकको स्तरोन्नति नहुँदा उत्पादन ढुवानीमा समस्या भइरहेको बताउँछन् । उनका अनुसार विकट ग्रामीण बस्तीबाट उत्पादित सुन्तला बजारसम्म पुर्याउन घुमाउरो र कठिन बाटो प्रयोग गर्नुपर्दा ढुवानी लागत बढ्ने गरेको छ ।
‘जिल्लाको सबैभन्दा विकट मानिने देवघाट गाउँपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने यो मुख्य सडक हो’, उनले भने, ‘हामीले उत्पादन गरेको सुन्तला बजारसम्म पुर्याउने प्रमुख मार्ग पनि यही हो । अन्य विकल्प सहज छैनन् । सडकको स्तरोन्नति नहुँदा ढुवानीमा समस्या भइरहेको छ।’ कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट गाउँपालिकाको कुल ३१८ हेक्टर खेतीयोग्य भूमिमध्ये २६१ हेक्टरमा सुन्तलाखेती हुँदै आएको छ । उक्त क्षेत्रबाट वार्षिक करिब दुई हजार ६७२ मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाभर भने एक हजार ६७० हेक्टर क्षेत्रफलमध्ये ९७७ हेक्टरमा व्यावसायिक सुन्तलाखेती हुँदै आएको छ । यसबाट वार्षिक ११ हजार ८२२ मेट्रिकटन सुन्तला उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्क छ ।
जिल्लाको महत्वपूर्ण सुन्तला उत्पादन क्षेत्रबाट बजारसम्म कृषि उपज ढुवानी गर्ने सडक नै कमजोर हुँदा किसानले उत्पादनको उचित लाभ लिन कठिन भइरहेको छ । सडक निर्माण भए उत्पादन विविधीकरण, बजार पहुँच र कृषि व्यवसाय विस्तारमा सहयोग पुग्ने परियार बताउँछन् ।
सडकको ट्र्याक खोल्ने अभियानका अगुवा व्यास नगरपालिका–१३ बेलबासका यामबहादुर आले पनि बुद्धसिंह मार्गलाई कृषि मार्गका रूपमा अघि बढाउँदा स्थानीयले छिटो विकास हुने अपेक्षा गरेको तर त्यो पूरा हुन नसकेको गुनासो गर्छन ।
‘त्यतिबेला छिटो विकास निर्माण हुने अपेक्षासहित कृषि मार्गका रूपमा ट्र्याक खोलिएको थियो’, उनले भने, ‘अहिले हेर्दा राजमार्गका रूपमा अघि बढाइएको भए सायद छिटो विकास हुन्थ्यो कि जस्तो लाग्छ ।’
उनका अनुसार देवघाट र ऋषिङका विभिन्न गाउँमा उत्पादित कृषिउपज बजारसम्म ल्याउन यही मार्ग महत्वपूर्ण भए पनि पर्याप्त प्राथमिकता पाउन सकेको छैन । सडकको अवस्था कमजोर हुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।
बुद्धसिंह मार्गको कालोपत्र तथा स्तरोन्नति कार्यका लागि अघिल्ले आर्थिक वर्ष संघीय र गण्डकी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपैयाँ लागतमा मैनाचुली–सफल जेभीसँग सम्झौता गरिएको थियो । तर आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन र भुक्तानी हुन नसक्दा निर्माणले गति लिन नसकेको सम्बन्धित अधिकारीको भनाइ छ ।

बजेट विनियोजनभन्दा कार्यान्वयनमा प्रश्न

बुद्धसिंह मार्गलाई संघ, प्रदेश र स्थानीय सरकारले रणनीतिक तथा महत्वपूर्ण सडकका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर वर्षौंदेखि बजेट विनियोजन भइरहँदा पनि निर्माण सम्पन्न हुने स्पष्ट समयसीमा तय हुन नसक्नुले सरकारको प्राथमिकता र कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ ।
सामाजिक अभियान्त मगरका अनुसार कतिपय खण्डमा ट्र्याक खुले पनि स्तरोन्नति, कालोपत्र र पुल निर्माणका काम अधुरा छन् । सडकलाई प्रदेश गौरव तथा रणनीतिक सडकका रूपमा प्रचार गरिए पनि व्यवहारमा अपेक्षित काम हुन नसकेको उनको भनाइ छ । स्थानीय यामबहादुर आले पनि बजेट आउने तर त्यसअनुसार निर्माणको परिणाम नदेखिने समस्या रहेको बताउँछन् । उनका अनुसार आयोजना कार्यालयमा जाँदा काम भइरहेको जवाफ आउने गरे पनि निर्माणस्थलमा पुग्दा अपेक्षित प्रगति देखिँदैन ।
सडकका विभिन्न खण्डमा छुट्टाछुट्टै बजेट विनियोजन गर्ने तर समग्र आयोजनाको एकीकृत प्रगति विवरण सार्वजनिक नगर्ने प्रवृत्तिले वित्तीय पारदर्शितामा समेत प्रश्न उठाएको छ । बहुवर्षीय आयोजनामा निरन्तर बजेट थपिए पनि सम्पन्न हुने समयसीमा स्पष्ट नहुँदा लागत वृद्धि हुने र नागरिकले थप समय सास्ती भोग्नुपर्ने जोखिम छ ।
सडक निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी, समन्वय र प्राथमिकता निर्धारण आवश्यक देखिएको छ । वार्षिक बजेट, खर्च, निर्माण प्रगति र बाँकी कामको विवरण सार्वजनिक गर्ने तथा नियमित सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।
बुद्धसिंह मार्ग केवल सडक निर्माणको योजना होइन, दक्षिणी तनहुँको कृषि, पर्यटन, स्वास्थ्य सेवा र आर्थिक गतिविधिसँग जोडिएको पूर्वाधार हो । देवघाटको धार्मिक पर्यटन, बन्दीपुरको पर्यटन, ऋषिङको कृषि उत्पादन र आँबुखैरेनी क्षेत्रको आवागमनलाई सहज बनाउने यसको सम्भावना घुमाउने पुल र अन्य खोलामा पुल नबन्दासम्म पूर्ण रूपमा उपयोग हुन सक्दैन ।
सरकारले सडकलाई रणनीतिक महत्वको आयोजना भन्दै बजेट विनियोजन गर्ने तर निर्माणको गति र परिणामप्रति जवाफदेही नहुने अवस्था अन्त्य गर्नुपर्ने देखिन्छ। १२ वर्षसम्म पुल निर्माण पूरा गर्न नसकेको राज्यले अब अर्को आश्वासन दिएर मात्रै आफ्नो दायित्व पूरा भएको ठान्न मिल्दैन । घुमाउने पुल र बुद्धसिंह मार्गका अन्य पूर्वाधार निर्माणमा स्पष्ट समयसीमा, पर्याप्त बजेट र नियमित अनुगमन आवश्यक छ ।
नागरिकले जनश्रमदान गरेर अस्थायी काठेपुल बनाउने अवस्था आउनु विकासको उपलब्धि होइन, सार्वजनिक पूर्वाधार निर्माणमा राज्यको ढिलाइले सिर्जना गरेको बाध्यता हो । अब स्थानीयले मन्त्रीको प्रतिबद्धता होइन, त्रिशूलीमाथि बनेको पक्की पुलबाट निर्बाध यात्रा गर्न पाउने दिनको प्रतीक्षा गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker