गण्डकीमा बाढीपहिरोको कहर : २१ जनाको मृत्यु, विपद् कोषमा १० करोड रुपैयाँ विनियोजन

११ वटा झोलुङ्गे पुल, छ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध

पोखरा : असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ । विपद्मा परी हालसम्म २१ जनाको मृत्यु भएको तथा केही व्यक्ति अझै बेपत्ता रहेको प्रदेश सरकारले जनाएको छ ।

विपद्मा परेका नागरिकको उद्धार, खोजी, उपचार, राहत तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले तत्कालीन तथा दीर्घकालीन राहत र पुनर्निर्माणका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका अनुसार उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेनाको समन्वयमा तीन वटा हेलिकप्टर परिचालन गरिएको छ । आइतबार र सोमबार गरी हेलिकप्टरमार्फत १४३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्यसमेत जारी रहेको जनाइएको छ ।

बाढी र पहिरोका कारण प्रदेशभरका ११ वटा झोलुङ्गे पुल, छ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध भएका छन्। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई परिचालन गरी काम सुरु गरिएको प्रदेश सरकारले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला तथा बेँसीसहर–मनाङ सडक सञ्चालनका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिएको छ । चाडपर्वको समयमा सडक सम्पर्क विच्छेद हुँदा नागरिकले थप समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग सञ्चालनमा समेत जोड दिइएको छ ।

मनाङमा चिकित्सक र औषधि पठाइयो

बाढीपहिरोबाट प्रभावित मनाङमा आवश्यक औषधिसहित दुई जना चिकित्सक र एक जना नर्सलाई हेलिकप्टरमार्फत पठाइएको प्रदेश सरकारले जनाएको छ । प्रदेश मातहतका अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न तथा सम्भावित विपद्को अवस्थालाई मध्यनजर गर्दै पूर्ण तयारीमा रहन निर्देशन दिइएको छ ।

मनाङमा बाढीका कारण सडक, पुल तथा विद्युत् र सञ्चार संरचनामा समेत क्षति पुगेको छ। यसअघि प्राप्त विवरणमा मनाङका विभिन्न क्षेत्रमा घर, काठे पुल तथा कजवेमा क्षति पुगेको र कतिपय स्थान सडक सम्पर्कबाट विच्छेद भएको जनाइएको थियो ।

तीन जिल्लामा राहत सामग्री

बाढीपहिरोका कारण विस्थापित नागरिकलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रदेश सरकारले आवश्यकताका आधारमा बागलुङ, मनाङ र पर्वतमा त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाएको जनाएको छ । बागलुङमा पछिल्लो विवरणअनुसार पहिरोमा परी १० जनाको मृत्यु र एक जना बेपत्ता भएको जिल्ला प्रहरीको जानकारी सार्वजनिक भएको छ ।

११ जिल्लाको विपद् कोषमा कम्तीमा १० लाख

विपद् व्यवस्थापनका लागि प्रदेशका ११ वटै जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा भने १० करोड रुपैयाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । तत्काल आवश्यक पर्ने खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट गर्न र कोषको रकम खर्च भएपछि आवश्यकताअनुसार पुनः रकम माग गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

क्षतिग्रस्त घर पुनर्निर्माणमा साझेदारी

बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकले निजी आवास निर्माणका लागि सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिमा जानकारी गराउनुपर्नेछ ।

स्थानीय तहबाट प्राप्त विवरणका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा रहेको निजी आवास निर्माणसम्बन्धी संयुक्त कोषबाट तोकिएको मापदण्डअनुसार घर निर्माणका लागि रकम निकासा गरिने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले जिल्लास्थित पूर्वाधार, खानेपानी तथा सरसफाइ, सिँचाइ, स्वास्थ्य, अस्पताल, कृषि तथा भेटेरिनरीलगायत कार्यालयलाई आफ्नो कार्यक्षेत्रमा विपद्पछि तत्काल गर्नुपर्ने काम अघि बढाउन निर्देशन दिएको छ ।

लगातारको वर्षापछि गण्डकीका बागलुङ, म्याग्दी, पर्वत र मनाङलगायत जिल्लामा ठूलो क्षति भएको छ । प्रारम्भिक विवरणमा घर, सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेको जनाइएको छ ।

प्रदेश सरकारले विपद्को कठिन अवस्थामा नागरिकको जीवन रक्षा, उद्धार, उपचार, राहत तथा पुनस्र्थापनालाई प्राथमिकतामा राख्दै क्षतिग्रस्त सडक तथा भौतिक पूर्वाधार शीघ्र सञ्चालन, विस्थापितको पुनस्र्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा संघ, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker