तनहुँका स्थानीय तह : आगामि आवको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दै
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका स्थानीय तह आगामि आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले कोरोना कहरका बीच पनि आवश्यक तयारीमा जुटेका हुन् ।
संवैधानिक व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारी शुरु हुँदै गर्दा तनहुँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई इमेलमार्फत सुझाव माग गरिएको छ ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आ-आफ्नो पालिकाका बासिन्दा, व्यवसायी, नागरिक समाज, राजनीतिक दल लगायतलाई यही जेठ मसान्तसम्म इमेल तथा प्रत्यक्षरूपमा सुझाव माग गरिएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ को स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा जानकारी प्राप्त भएकाले तोकिएको स्रोत अनुमान र सीमाको आधारमा २०७८ जेठ २८ गते भित्र पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिइसकेको व्यास नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी गराए ।
यस्तै, शुक्लागण्डकी नगरपालिकाले पनि इमेलमार्फत आगामी वर्षको योजनाका लागि सुझाव माग गरेको छ । ‘पर्यटन, कृषि र पूर्वाधार : समृद्ध शुक्लागण्डकीको आधार’लाई मुख्य रणनीतिक लक्ष्यका साथ नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा रचनात्मक सुझाव दिन राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, शिक्षक, बुद्धिजीवी, पेशा व्यवसायीलाई जेठ ३१ गतेसम्म सुझाव दिन अनुरोध गरिएको छ ।
यता बन्दिपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा उद्देश्यसँग तादात्म्यता हुने गरी आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । गाउँपालिकाले जेठ २७ गतेभित्र सरोकारवालाहरूको बजेट माग गरेको छ । ‘गाउँपालिकाको नीति तथा कार्यक्रम, बजेट कस्तो बनाउने भन्ने विषयमा सबैसँग नीतिगत सुझाव माग गरेका छौं’, उनले भने, ‘संकलन भएका सुझावलाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्र्छौं ।’
म्याग्दे गाउँपालिकाले पनि जनताको आवश्यकता र मागका आधारमा बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने लक्ष्य लिएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार गाउँपालिकाले आव २०७८/०७९ का लागि ६५ करोड ६६ लाख ३१ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ ।
नेपालको संविधानद्वारा प्रदत्त स्थानीय तहको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन-२०७४, स्थानीय तह वार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन-२०७४, पन्ध्रौँ पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्यहरूको स्थानीयकरण रायसँग तादात्म्यता हुने गरी पालिकाहरूले बजेट, नीति तथा कार्यक्रम बनाउने तयारी गरेका छन् ।










