सामुदायिक क्याम्पसका प्राध्यापकहरूको लागि सीप दक्षता अभिवृद्धि तालिम

दमौली : आदिकवि भानुभक्त क्याम्पसमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको सीप दक्षता अभिवृद्धि गर्नका लागि आइतबारदेखि प्राध्यापक तालिम सञ्चालन गरिएको छ । तालिममा गण्डकी प्रदेशका क्युएए प्रमाणित १० ओटा सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरूको सहभागिता रहेको छ ।
विश्वविद्यालय अनुदान आयोग (युजिसि)का अध्यक्ष प्रा.डा. देवराज अधिकारीले तालिमको शुभारम्भ गर्दै देशभरमा ७ वटा तालिम केन्द्रहरू स्थापना गरेर सामुदायिक क्याम्पसका प्राध्यापकहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए। उनले भने, ‘उच्च शिक्षामा विद्यार्थीहरूको भर्ना दर र कक्षा छाड्ने दर बढिरहेको सन्दर्भमा अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन यस्ता तालिमहरू सञ्चालन गरिएको हो ।’
प्राविधिक सल्लाहकार एवं बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हृदय रत्न बज्राचार्यले तालिम केन्द्रहरूको सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले यस्ता तालिम केन्द्रहरूको स्थापना ऐतिहासिक कार्य भएको बताउँदै युजिसि प्रति धन्यवाद ज्ञापन गरे ।
युजिसिले यस वर्षदेखि सामुदायिक क्याम्पसका प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्न तालिम केन्द्रहरू स्थापना गरेको छ । यसका लागि २८ जना स्रोत व्यक्तिहरूलाई तयार पारिएको थियो ।
पहिलो चरणको तालिम जेठ ४ देखि ९ गतेसम्म सञ्चालन हुनेछ । क्याम्पसले यसवर्ष पाँचवटा तालिम सञ्चालन गर्ने लक्ष्य राखेको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए ।










