गण्डकी प्रदेश प्रमुख गुरुङलाई डुम्रेमा स्वागत्
भञ्ज्याङ समाचारदाता/डुम्रे

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तनहुँको डुम्रेमा स्वागत गरिएको छ । प्रदेश प्रमुख गुरुङलाई नेपाली काँग्रेस तनहुँ क्षेत्र नं. १ प्रदेश ‘ख’ले सोमबार स्वागत र सम्मान गरेको हो । नेपाली काँग्रेसका क्षेत्रप्य संयोजक राजेन्द्र पियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने पनि स्पष्ट पारे । आफू नेपाली कांग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकोले एउटा मात्रै पार्टीको प्रतिनिधि नरहेको उनको भनाई थियो । ‘जनताको प्रतिनिधि भएपछि जनताकै चाहना अनुसारको काम गर्छु, उनले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले गुरुङ एक सच्चा, इमान्दार र कर्तब्यनिष्ठ ब्यक्ति भएकाले गण्डकी प्रदेशमा विकासले गति लिनेमा आफू विश्वश्त रहेको बताए । कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, बन्दिपुर वडा नं. १ का उपसभापति सुबोध अधिकारी, सचिब बुद्ध कुमार श्रेष्ठ, महिला नेतृ सरिता पिया, रोशनी पिया, युवा समाजसेवी केशव अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।










