तनहुँमा सीप सिक्दै र पढ्दै कार्यक्रम प्रभावकारी बन्दै
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको हो ।
विद्यालयले सिक्दै र पढ्दै कार्यक्रम अन्तर्गत गायन बाद्यबाजन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्ने लगायत कार्यलाई प्राथामिकता दिँदै आएको छ । करिब एक हप्ता अघिदेखि पढाइका साथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावक समेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले बताए । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लागेका छन् ।
“विद्यार्थीको आवश्यकताअनुरुप बाद्यबाजनको माग पूरा गर्न कठिनाइ भइरहेको छ”, शिक्षक बरालीले भने, “विद्यार्थीलाई आवश्यक पर्ने सामग्री व्यवस्था गर्न सके राम्रो गर्न सक्ने अपेक्षा गरिएको छ ।”
कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आफ्नो रुचिको विषय र क्षेत्र छुटयाएर सिक्न लगाइएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर दरैले बताए । उक्त विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । आदिवासी जनजाति समुदायका बालबालिकाको बाहुल्य रहेको उक्त विद्यालयमा क्षेत्री र बाहुनको संख्या नगण्य मात्रामा छ । “अहिले विद्यार्थीसँग कुनै पनि शुल्क लिइएको छैन्”, उनले भने “पछि विज्ञ ल्याउनुपर्ने अवस्था आयो भने त्यो बेला लिन पनि सकिन्छ होला ।”
स्थानीयस्तरका सीप संरक्षण
स्थानीयस्तरका विस्थापित बन्दै गएको सीप यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आफ्ना छोराछोरीलाई अभिभावकले सीप सिकाउनुपर्ने दायित्व भए पनि त्यसो हुन नसक्दा विद्यालयले पहल गर्न थालेको हो । स्थानीयस्तरका सीप लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताए ।
सीपहरू स्थान्नतरण र हस्तान्तरण हुन सकेका छैनन् स्थानीय सीपलाई जोगाउँदै स्थान्नतरण गर्ने सोचका साथ विद्यालय परिवार अघि बढेको उनले बताए । सैनिक विद्यालयमा अध्ययन गरेर आउनु भएका शिक्षक पुरन गुरुङसँग चौतर्फी सीप र ज्ञान भएकाले उहाँले विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् ।
स्थानीय भूपु विद्यार्थी, भूपु शिक्षक, स्थानीयवासी, स्थानीय तह सबैको साथ र सहयोग रहेमा यस विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न सकिने सम्भावना देखिएको प्रअ दरैले बताए ।










