पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

सिबी अधिकारी/काठमाडौं

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ ।

विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्याल्रि्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्नुभयो, ‘यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । एरोथाई कम्पनीको जहाजले यही मसिंर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो ।

यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ ।

क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणकको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्छन् ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरु विमानस्थल सञ्चालनको तयारीमा लागेका र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताउनुभयो । हाल विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उहाँले जानकारी दिनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुइ हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टी पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमामनस्थल सञ्चालनका लागि चुनौतिका रुपमा रहेको ल्यान्डफिल साइटमा मसिंर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । हाल विमानस्थलबाट दुइ किमि टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानागरले जनाएको छ ।

पहिलो उडान बुद्ध एयरको

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा-बनारस-पोखरा उडान गर्नेछ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । पूर्वपटि्टबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन-वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker