रोटरी क्लबद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

रोटरी क्लब अफ दमौलीले रोटरी बर्ष २०२०-०२१ को डिष्ट्रिक ग्रयाण्ड अन्तर्गत तीन पालिकाका सामुदायिक विद्यालयहरुलाई दश वटा चिसोतातो पानी पिउने वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । क्लवले आफ्नो २१औं पदस्थापनाका अवसरमा व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका विद्यालयलाई एक थान जार सहित वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो ।
व्यास नगरपालिका-७ साँघेको इन्दु माध्यमिक विद्यालय, व्यास-१२ छिर्कन स्थित अमर ज्योति माध्यमिक विद्यालय, व्यास-११ फराकचौरको बाराही माध्यमिक विद्यालय, व्यास- १२ कै सिद्धेश्वरी माध्यमिक विद्यालय, व्यास-१० बैरेनीको चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय, व्यास-१४ को केशवटार माध्यमिक विद्यालय, व्यास-१० को भानु र सर्वज्योति माध्यमिक विद्यालयलाई उक्त सामाग्रि उपलब्ध गराइएको छ ।
त्यसैगरी म्याग्दे गाउँपालिकाको पार्वती आधारभूत विद्यालय र ऋषिङ गाउँपालिकाको श्रृङ्ग माध्यमिक विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । उनका अनुसार आठ वटा विद्यालयलाई शनिबार एक कार्यक्रमका बीच र दुइ वटा केही दिन अघि प्रदान गरिएको थियो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल-भुटान पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, क्लबका अध्यक्ष दिनेश कुमार श्रेष्ठले संयुक्त रुपमा विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२नेपाल-भुटान पूर्व डिष्ट्रिक गभर्नर श्रेष्ठले रोटरी सामाजिक सेवाको लागि सदैव अग्रपंक्तिमा रहेर काम गर्ने संस्था भएको बताए । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरानो सामाजिक संस्था रोटरी क्लबमा पेशा, बर्ग, विभिन्न व्यवसायमा आबद्ध व्यक्तिहरु संलग्न रहेकोले समाजमा प्रभावकारी किसिमले सामाजिक क्रियाकलाप गर्दै आएको चर्चा गरे ।
रोटरी क्लबले विद्यालयलाई वाटर फिल्टर प्रदान गरेपछि शुद्व, सफा पानी पिउन सहज हुने व्यास नगरपालिका-१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताए ।










