दाहाल-नेपाल समूहको दमौलीमा राँके जुलुस प्रदर्शन
भञ्ज्याङ न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संवैधानिक निकायमा नियुक्त भएका विषयमा विरोध गर्दै विहीबार आमहड्तालको आव्हान गरेको । हामहड्तालको पूर्वसन्ध्यमा दाहाल-नेपाल निकट समूहले दमौलीमा राँकेजुलुस प्रदर्शन गरेको छ ।
समूहले संवैधानिक अङ्गका पदाधिकारी र सदस्यको नियुक्ति असंवैधानिक र बलजफ्तीपूर्ण भएको जनाउँदै विरोधमा उत्रिएको छ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेका छन्। वर्तमान सरकार प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमपछि स्वतः काम चलाउमा परिणत भएको जनाउँदै आएको छ।
प्रधानमन्त्रीको यही कदमका विरुद्ध प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आहृवान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा दमौलीमा मसाल जुलुस प्रदर्शन गरेको हो। उक्त मशाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।
मसाल जुलुसको सूचना पाएको प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । जुलुस निकाल्न सुरु हुनासाथ प्रहरी सुरक्षाकर्मीले नेकपा पार्टी कार्यालय दमौली अगाडि नै राँको निभाउन थालेका थिए ।
प्रहरीलाई छल्दै सानो संख्या सफासडकबाट ट्राफिक चोक अघि जुलुससहित फरक रुटबाट अघि बढेको थियो । प्रहरीले सुरुमै धेरैको राँको निभाएकाले ठूलो संख्यामा राँको चोकमा लग्न नपाए पनि केही नेता कार्यकर्ताले भने चोकमा पुर्याएको राँको पनि प्रहरीले निभाइदिएको थियो । जुलुसमा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेस कमिटीका सदस्यहरु शंकरनारायण श्रेष्ठ, ओमराज आले, अतिन्द्रिकेशरी न्यौपाने, पूर्व सांसद कलिला खान लगायतका नेकपा नेता कार्यकर्ताहरुले अनशन चौतारीमा कोणसभा गरी सरकारको कदमका विरुद्धमा बोलेका थिए ।










