देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा, लिङ्गोे ठड्याएर मेला सुरु

देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो ।
त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्यलगायत स्थानीयको बाक्लो उपस्थिति थियो ।
मेलाको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । यो वर्ष तीन लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ ।
माघेसङ्क्रान्ति मेलाको तयारी पूरा
माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै यस वर्ष तीन लाखले मेला भर्ने अनुमान गरिएको उल्लेख गर्नुभयो ।
ज्योतिषीय गणना अनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) भनिन्छ । माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले धार्मिक पुण्य प्राप्ति हुने मान्यता र जनविश्वास रहिआएको बरालले बताउनुभयो । साथै पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन पनि मकर सङ्क्रान्तिको दिन भएको विश्वास रहिआएको उहाँले उल्लेख गर्नुभयो ।

मेलाअवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको बरालले जानकारी दिनुभयो ।
नवलपुरतर्फका भक्तजनहरू हर्दीको कालीगण्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लिनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिँधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोही बाटोबाट फर्किने व्यवस्था मिलाइएको छ ।
चिवनतर्फबाट आउने सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनलाई सीताराम संस्कृत माविको परिसरभित्र व्यवस्था मिलाइएको छ भने ठूला सवारीसाधन (बस, मिनीबस, माइक्रो) आदिका लागि दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर–पूर्वक्षेत्रमा रहेको बसपार्कमा पार्किङको व्यवस्था मिलाइएको बरालले जानकारी दिनुभयो ।
तनहुँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै वेणीसङ्गम र फर्कदा वेणीसङ्गम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने मार्ग कायम गरिएको छ ।
देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस् भन्ने उद्देश्यले तनहुँ, चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुखसँग समन्वय गरेको समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले जानकारी दिनुभयो । उक्त दिन तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
तीर्थस्थलमा धुम्रपान, मांस, मदिरा एवं सुर्तीजन्यपदार्थ निषेध गरिएको छ । ती वस्तुहरू बिक्रीवितरण, ओसारपसार तथा सेवन नगरी सहयोग पु¥याउन समितिका अध्यक्ष डा लौडारीले आग्रह गर्नुभयो । “वेणीमा स्नान गर्ने क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ”, उहाँले भन्नुभयो ।










