लमजुङ सुर्यपालका क्यान्सर पीडित युवाद्वारा उपचारका लागि सहयोगको अपिल
भञ्ज्याङन्यूज

खुट्टामा क्यान्सर भएर लामोसमयदेखि उपचार गराउँदै आएका मध्यनेपाल नगरपालिका-३ सुर्यपालका रामचन्द्र गोतामेले उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अपिल गरेका छन् । तीनवर्ष अघिदेखि बाँया पिडौंला घाउ भएर उपचार गराउँदै आएका ३७ वर्षीय बिरामी रामचन्द्रलाई थप उपचार गराउनका साथै नियमित रुपमा महँगो औषधी खानुपर्ने भएको भन्दै सहयोगको अपिल गरेका हुन् ।
बाँया पिंडौलाको भित्री भागमा मासुको गिर्खा आएको र बढ्दै गएर पीडा समेत हुन थालेपछि परीक्षण तथा उपचारका क्रममा क्यान्सर पहिचान भएको पीडित विरामीले बताएका छन् । तीन वर्षदेखि भरतपुर स्थित बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उनले उपचार गराउँदै आएकोमा झण्डै २० लाख रुपैयाँ खर्च भईसकेको उनले बताए ।
‘आफुसँग भएको र जुटाउन सक्ने रकमले उपचार गराउँदै आएको तर अझैपनि समयसमयमा परीक्षण तथा नियमित औषधी सेवन गर्नुपर्ने हुँदा थप रकम आवश्यक परेको छ’, उनले भने, ‘भएकाले सहयोगको लागि अपिल गरेको छु । नियमित औषधी खर्च, भिटामिन, रगत परीक्षण र यातायात खर्च लगायतका शीर्षकमा मासिक रुपमा ४८ हजार रुपैयाँ खर्च भईरहेको छ ।’
आफ्नो उपचारमा आर्थिक सहयोग गरिदिन आफन्त, छरछिमेक, साथीभाइ, जिल्लाबासी लगायत मनकारी सहयोगदाता सबैमा उनले अपिल गरेका छन् । आफुले लामो समय वैदेशिक रोजगारीबाट कमाएर बचत भएको पैसा सबै उपचारमै खर्च भईसकेको र आफन्त एवं छरछिमेकसंग ऋणधन गरेरै उपचार गराउँदै आएको तर अव सहयोग जुटाउनुको विकल्प नरहेको दुःखेसो उनले पोखेका छन् ।
उनलाई सहयोगका लागि तनहुँको दमौली स्थित ग्लोवल आइएमइ बैंकमा रामचन्द्र गोतामेको नाममा रहेको ९३०७०१०००४७५७ नम्बरमा दाखिला गराउन सक्ने जनाईएको छ । उनको खाता विवरण निम्नानुसार रहेको छ । Global IME Bank, Ramchandra Gotame 9307010004757










