कालिमाटी-दुधेकुना हुँदै कुन्छा जोड्ने सडक मर्मतको माग गर्दै नगरपालिकामा डेलिगेशन, ७ दिनको अल्टिमेटम
डिपी अधिकारी

तनहुँको कालिमाटी-कुन्छा मोटरमार्ग मर्मतको माग गर्दै स्थानीय उपभोक्ताहरु नगरपालिकामा डेलिगेशनमा आएका छन्। स्थानीय उपभोक्ताहरुले विहीबार नगरपालिकालाई सडक मर्मत सुधार गर्न ७ दिने अल्टिमेटम दिएका छन् । गत असार १ र १८ गते परेको वर्षाका कारण सडक क्षतविक्षत हुँदा मोटरसाइकल, एम्बुलेन्स, जीप, बस, लगायतका सवारी साधन चल्न सक्ने अवस्था नरहेको भन्दै भानु १० र ११ वडाका बासिन्दा नगरपालिकामा डेलिगेशन आएका हुन् ।
कालिमाटी-दुधेकुना हुँदै कुन्छा जोड्ने सडक करिब साँढे २ महिनादेखि अवरुद्ध हुँदै आएको भएपनि मर्मत सुधारमा नगरपालिकाले कुनै चासो नदेखाएको गुनासो गरेका छन्। सडक अवरुद्ध हुँदा विरामीलाई समेत स्ट्रेचरमा बोक्नु पर्ने बाध्यता आईपरेको स्थानीय विष्णु प्रसाद पोखे्रलले बताए ।
‘सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्दा स्थानीय तहमै निवेदन दिन भनेपछि मर्मतका लागि निवेदन दिन आएका हौं’, उपभोक्ता पोख्रेलले भने, ‘करिब २५ वर्षअगाडि सडकको ट्रयाक खोलिएको भएपनि अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन ।’
आगामी सातासम्म पनि सडक मर्मतको काम सुरु नभए स्थानीय चुप लागेर नबस्ने भन्दै उपभोक्ताले नगरपालिकालाई सचेत गराएका छन् । तनहुँकै एक महत्वपूर्ण सडक भएर पनि उपेक्षा गरिनु जनताको अधिकार माथिको खेलवाड भएको र सडक मर्मतको काममा नगरपालिकालाई साथ दिन स्थानीय तयार रहेको स्थानीय रामकृष्ण ढकालले बताए ।
गुनासो लिएर आएका स्थानीयलाई सान्त्वना दिंदै नगरप्रमुख उदयराज गौलीले तत्काल मर्मतका लागि ढुँगा, गिट्टी, ग्राभेलको आवश्यक पर्ने भएकाले त्यसको ब्यवस्थापनका लागि जिल्ला समन्वय समितिमा छलफल गरी समाधान गरिने बताए । उनले मौसमले साथ दिएमा २/३ दिन भित्रै काम शुरु हुने आश्वासन दिएका छन् ।
यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमनिधि तिवारीले आँफू सहित प्राविधिकको टोली शुक्रबारनै उक्त सडकको अवलोकनका लागि जाने र तत्काल नगरपालिकाले गर्न सक्ने कार्य गरी एम्बुलेन्स चल्न सक्ने बनाईने प्रतिबद्धता ब्यक्त गरेका छन् ।










