अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा बंगुर मर्न थाले
भञ्ज्याङ समाचारदाता/दमौली

अफ्रिकन स्वाइन फिभर संक्रमण तनहुँमा पनि देखिन थालेको छ । यस फिभरबाट तनहुँमा पनि बंगुरहरु मर्न थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार मंसिरको चौथो साता भिमाद नगरपालिका-६ स्थित एक फार्मका ८ वटा बंगुर मरेका छन् ।
जिल्लाका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । अन्य किसानका बंगुर मरेपनि संक्रमणकै कारण मरेको हो भन्ने यकिन नभएको उनले बताए ।
‘अचानक एकै फार्मका सबै बंगुर मरेपछि के रहिछ भनि नमूना पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको हो’, उनले भने, ‘जिल्लाको एक फार्ममा संक्रमण देखिएकाले अन्य फार्ममा पनि संक्रमण फैलिसकेको हो कि भन्ने आशंक गरिएको छ, तर आजसम्म अन्य फार्मबाट रिपोट भने आएको छैन ।’
केन्द्रका पशु चिकित्सक र प्राविधिक टोली अहिले कृषकका फार्ममा अनुसन्धानमा छन् । जिल्लाका अन्य क्षेत्रका फार्ममा संक्रमण फैलिएको छ कि छैन भनि अनुगमन भइरहेको डा. श्रेष्ठले बताए ।
यस्तै, फर्ममा पालेको सबै बंगुर संक्रमणका कारण अचानक मरेपछि कृषक सुरबिर थापा भने चिन्तित छन् । उनकी श्रीमति रिता थापाले करिव ४ वर्षदेखि भिमाद-६ मा व्यवसायिक रुपमा बंगुर पाल्दै आएकी थिइन् । बंगुरबाट राम्रै आमदानी हुन थालेपछि १७ वर्षदेखि बैदेशिक रोजगारीमा रहेका सुरबिर श्रीमतीलाई साथसहयोग दिनका लागि स्वादेश फर्किएका थिए ।
‘करिव एक वर्षदेखि श्रीमतीको बंगुर पालन व्यवसायमा सहयोग गर्दै आएको थिए, आमदानी पनि राम्रै भइरहेको थियो’, उनले भने, ‘गत महिना फर्मका बंगुरलाई बंगुरकै रगत दिएका थियौ । त्यसको दुइ दिनमा सबै बंगुर मरे ।’ २२/२३ धार्नी भइसकेका ८ वटा बंगुर अचानक मर्दा चिन्ता परेको उनले सुनाए । उनले भने, ‘लगानी गरी आमदानी लिने समय भइसकेका बंगुर अचानक संक्रमणको कारण मर्दा व्यवसाय धरापमा परेको छ । पशु कार्यालयबाट पनि २/४ महिना बंगुर नपाल्न सुझाव दिनुभएको छ । यसले गर्दा फेरी बैदेशिक रोजगारीतर्फ नै फर्कन पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’
यस्तै, प्राविधिक सहितको टोली अनुगमनमा गएपनि किसानबाट सत्य तथ्याङ्क नदिदा समस्य भएको केन्द्रका डा. रोशन ज्ञावलीले बताए । ‘फार्म जाँदा किसानले मरेका बंगुरहरु लुकाउने र त्यसको मासु/रगत स्वास्थ्य बंगुरलाई खुवाउने गरेका कारणले हामीसंग सत्य कुरा लुकाएको पनि पाइएको छ’, उनले भने, ‘यसो गर्दा संक्रमण झन् फैलिने खतरा देखिएको छ । केही किसानहरुले भने आफैले नमूना लिएर पोखरा गई परिक्षण पनि गर्नुभएको छ ।’
अफ्रिकन स्वाइन फिभरको कुनैपनि उपचार नरहेको बताउँदै डा. ज्ञावलीले भने, ‘झोक्राउने, एकै ठाउँमा बस्ने, कमजोर देखिने, कान र घाँटीको भागमा रातो दाग देखिने यसको लक्षण हो । बंगुरमा देखिएको लक्षण अनुसार नै औषधी उपचार गर्ने हो ।’ अफ्रिकन स्वाइन फिभर संक्रमणअघि नै ६-६ महिनामा बंगुरलाई खोप लगाउने, फर्म र फर्म वरापरा सरसफाई गर्ने, संक्रमित बंगुरको रगत आहारा नबनाउने र देखिएको लक्षणको उपचार गरेमा बंगुरमा अफ्रिकन स्वाइन फिभर संक्रमण नियन्त्रण गर्न सकिने उनले बताए ।










