सम्पादकीय : दसैंको रमझमपछिका गाउँघर

दसैँ आयो, गाउँघरमा चहलपहल बढ्यो । वर्षौँदेखि टाढिएका आफन्त घर फर्किए, आँगनमा बालबालिकाको हाँसो गुञ्जियो, पिङमा रमाउने र बाटोघाटोमा भेटघाट गर्नेहरूको भीड लाग्यो । सुनसान बनेका घरका ढोका खुले, चुलोमा मिठो परिकार पाक्यो र मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्दै आशीर्वाद लिनेहरूको लर्को लाग्यो । एक–दुई दिनका लागि भए पनि गाउँघरले पुरानै जीवनशैली र आत्मीयता फर्किएको अनुभूति ग¥यो । तर, दसैँको रमझम सकिएसँगै त्यो चहलपहल पनि बिस्तारै हरायो । हिजोसम्म भरिभराउ देखिएका घरआँगन फेरि सुनसान बने, सडकमा गाडी चढेर सहर तथा विदेशतर्फ फर्किनेहरूको लर्को लाग्यो । केही दिनअघि मात्रै उल्लासले भरिएका गाउँघरमा पुनः एक्लोपन र सन्नाटा छाउन थालेको छ । यो दृश्य नेपाली समाजको बदलिँदो सामाजिक संरचना र गाउँघरको वर्तमान यथार्थको प्रतिनिधि चित्र हो ।

दसैँ केवल धार्मिक आस्था र सांस्कृतिक परम्पराको पर्व मात्र होइन, परिवार र समाजलाई जोड्ने महत्वपूर्ण अवसर पनि हो । तर, वर्षमा एकपटक आउने यो पर्वमा क्षणिक रूपमा देखिने जमघट र रमझमले गाउँघरको दीर्घकालीन सामाजिक समस्यालाई छोप्न सक्दैन । गाउँमा बस्ने मानिसको संख्या घट्दै जानु, युवा पुस्ता रोजगारी र अवसरको खोजीमा बाहिरिनु तथा परम्परागत सामाजिक सम्बन्ध कमजोर बन्दै जानु आजको गम्भीर चुनौती हो । दसैँको धार्मिक मान्यताले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र खराब प्रवृत्तिमाथि असल आचरणको विजयको सन्देश दिन्छ । त्यस्तै, टीका र जमराको परम्पराले ज्येष्ठप्रति सम्मान, पारिवारिक एकता र पुस्तान्तरणको महत्व सम्झाउँछ । टाढिएका आफन्तबीच भेटघाट हुनु, मनमुटाव बिर्सेर सम्बन्ध सुधार्नु र दुःखसुख साटासाट गर्नु यस पर्वका सुन्दर पक्ष हुन् । तर, यी मूल्यहरू दसैँका केही दिनमा मात्रै सीमित हुनुहुँदैन । पर्व सकिएपछि पनि परिवारप्रतिको जिम्मेवारी, ज्येष्ठ नागरिकप्रतिको सम्मान र समाजप्रतिको उत्तरदायित्व निरन्तर रहनुपर्छ ।

आज गाउँघरमा वृद्धवृद्धा र बालबालिका छाडेर रोजगारीका लागि सहर तथा विदेश जानेको संख्या बढ्दो छ । कतिपय घरमा दसैँमा छोराछोरी आउने प्रतीक्षामा रहेका अभिभावकले केही दिनको भेटघाटपछि फेरि एक्लै दिन बिताउनुपर्ने अवस्था छ। दसैँमा भरिने घर वर्षभरि खाली रहनु र वृद्ध आमाबुबाले चाडपर्वको रमाइलोपछि पुनः एक्लोपन सामना गर्नु केवल भावनात्मक विषय होइन, सामाजिक सुरक्षासँग जोडिएको प्रश्न पनि हो । गाउँबाट युवा पलायन हुनुका पछाडि रोजगारीको अभाव, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको कमी जस्ता कारण छन् । त्यसैले गाउँघरको सन्नाटालाई मानिसको व्यक्तिगत रोजाइका रूपमा मात्र हेरेर पुग्दैन; यसका संरचनागत कारणको खोजी र समाधान आवश्यक छ । गाउँमा मानिस फर्किने वातावरण बनाउन स्थानीय तहदेखि राज्यका सबै निकायले ध्यान दिनुपर्छ । कृषि, पशुपालन, पर्यटन, घरेलु उद्योग र स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना गर्न सकिन्छ । गाउँका मौलिक संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई आर्थिक अवसरसँग जोड्न सके युवा पुस्तालाई आफ्नै ठाउँमा सम्भावना खोज्ने आधार मिल्न सक्छ । गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र भरपर्दो यातायातको व्यवस्था पनि उत्तिकै आवश्यक छ । गाउँमा अवसर नहुने र सहर वा विदेश जानुपर्ने बाध्यता कायम रहँदासम्म दसैँको जमघट क्षणिक पुनर्मिलनमै सीमित भइरहनेछ ।

यससँगै, दसैँलाई देखावटी खर्च र आर्थिक प्रतिस्पर्धाको माध्यम बनाउने प्रवृत्तिबाट पनि मुक्त गर्नुपर्छ । ऋण लिएर भोजभतेर गर्ने, महँगा सामग्री किनेर सामाजिक प्रतिष्ठा देखाउने र अरूसँग तुलना गरेर पर्व मनाउने सोचले आत्मीयताभन्दा आर्थिक बोझ बढाउँछ । पर्वको वास्तविक सौन्दर्य खर्चको परिमाणमा होइन, सम्बन्धको गहिराइमा हुन्छ । आफ्नो क्षमताअनुसार सरल र मर्यादित रूपमा पर्व मनाउँदै विपन्न परिवार, एक्ला ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको खुसीमा सहभागी हुनु नै दसैँको मानवीय सन्देश हो । दसैँ सकिएपछि गाउँघर सुनसान हुनु स्वाभाविक होला, तर गाउँको भविष्य नै सुनसान बन्दै जानु स्वाभाविक मान्न सकिँदैन । केही दिनको रमझमलाई वर्षभरि टिक्ने आत्मीयता, सहकार्य र सामाजिक एकतामा बदल्न आवश्यक छ । परिवारसँग बिताएका क्षणलाई सम्झनामा मात्र सीमित नराखी नियमित संवाद, भेटघाट र सहयोगको संस्कार विकास गर्नुपर्छ । राज्यले गाउँमा अवसर सिर्जना गर्नुपर्छ भने समाजले गाउँप्रतिको अपनत्व र सामूहिक जिम्मेवारीलाई बलियो बनाउनुपर्छ ।

दसैँको सार टीका, जमरा र उत्सवमा मात्र होइन, मानिसलाई मानिससँग जोड्ने भावनामा निहित छ । चाडपर्वमा मात्रै गाउँ फर्किने होइन, गाउँमै भविष्य देख्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता हो । दसैँपछि गाउँघरमा छाउने सन्नाटा हटाउने उपाय अर्को पर्वको प्रतीक्षा गर्नु होइन; गाउँलाई वर्षभरि जीवन्त बनाउने आर्थिक, सामाजिक र मानवीय आधार निर्माण गर्नु हो । घरका ढोका खुल्ने, आँगनमा हाँसो गुञ्जिने र ज्येष्ठ नागरिकले आफ्ना सन्तानको साथ अनुभव गर्ने अवस्था दसैँका केही दिनमा मात्र होइन, वर्षभरि कायम रहन सके मात्रै पर्वले दिएको एकता र सद्भावको सन्देश सार्थक हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker