सीपमुलक सिकाइ एकद्वार बनाउन सुझाव
भञ्ज्याङ समाचारदाता/पोखरा

आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन्। तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको छ । एकैप्रकृतिको सीपमुलक तालिम दिने निकाय धेरै हुँदा दोहोरोपन बढेको उनीहरुको भनाई छ । एकैप्रकृतिका काम गर्ने निकायबीच समन्वय अभावमा अहिले आफु अनुकुलको काम भएको पनि उनीहरुले बताए । सीपमुलक तालिम दिने सबै संस्थालाई एकैठाउँमा राखेर काम गर्नुपर्ने पनि उनीहरुले बताए । पोखरामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी), गण्डकी प्रदेश कार्यालयले प्रदेश भित्र सञ्चालन हुने प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमलाई एकरुपता ढंगले सञ्चालन गर्ने उद्देश्यले सरोकारवालासँग गरेको छलफलमा सरोकारलालाले एकै प्रकृतिको काम गर्ने निकाय धेरै हुँदा ‘दोहोरोपन’ बढेको बताए ।
सिटिइभिटी गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले सीपमुलक तालिम प्रदायक सबै निकायलाई एकै बास्केटमा राखेर काम गर्नुपर्ने बताए । ‘सीपमुलक दक्ष जनशक्ति उत्पादन गर्ने निकाय धेरै छन । तर, उनीहरुको काम एकै प्रकृतिको छ । त्यसले दोहोरोपन बढायो,’ आचार्यले भने, ‘फरक फरक काम गर्ने हो भने दोहोरोपन हुँदैन ।’ उनका अनुसार प्रदेशमा मात्र यस्तो समस्या नरही केन्द्रीय स्तरमा पनि कार्यक्रम दोहोरिएका छन् । सिटिइभिटीसँगै सीपमुलक जनशक्ति उत्पादन गर्ने विभिन्न संस्था छन् । गण्डकी प्रदेशमा गण्डकी प्राविधिक प्रतिष्ठान, सीप विकास तालिम केन्द्र, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानसँगै प्रदेश सरकारका मन्त्रालय र स्थानीय तहले यो क्षेत्रमा काम गरिरहेको आचार्यले जानकारी दिए । ‘जो सुकै व्यक्तिले सीप सिकेपनि त्यसपछि रोजगारीमा जोड्ने हो । तर, यहाँ सिकाईमा दोहोरोपना हुँदा समस्या भयो,’ उनले भने ।
उनका अनुसार अब सबै निकायको पाठ्यक्रम एकैखालको हुनपर्छ । अहिले तालिम प्रदायकले आ-आफ्नै पाठ्यक्रम बनाएका छन । पाठ्यक्रम, प्रशिक्षकको तह, मुल्यांकन विधि र वैधानिकताको आधार एकैखालको हुनपर्छ । तर, अहिले फरक निकायले फरक तरिकाले काम गरेका छन् । त्यसले कतिपय क्षेत्रमा अन्योलता पनि थपेको आचार्यले बताए ।
‘सबै निकायको काम सीपमुलक जनशक्ति उत्पादन गर्ने हो । अहिले आ-आफ्नै ढंगले काम गर्दा दक्षतामा पनि असर पारेको छ,’ उनले भने, ‘अब त्यसो हुनु हुँदैन ।’ उनका अनुभवमा कतिपय निकायले एकै प्रकारको तालिमको अवधि एकमहिना राखेका छन, त्यही प्रकृतिको तालिम अर्को निकायले १५ दिनको राखेको छ । त्यसले गर्दा कसलाई आधिकारिकता मान्ने भन्ने समस्या भएको उनले सुनाए । सिटिइभिटीले मात्र गण्डकीमा वर्षमा ३ हजार जनालाई सीपमुलक प्रशिक्षण दिन्छ । विभिन्न २ सय वटा क्षेत्रमा तालिम दिइएको छ । सिटिइभिटीले वर्षमा झन्डै ४० हजार जनशक्तिलाई सीपमुलक तालिम दिँदै आएको छ । सिटिइभिटीले अहिले प्राविधिक प्रशिक्षण प्रतिष्ठान, राष्ट्रिय सीप परीक्षण समिति, ६१ वटा आंगिक बहु-प्राविधिक शिक्षालय, ३८ वटा साझेदारी शिक्षालय, ५७२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२९ वटा निजी संस्थासँग मिलेर काम गरिरहेको छ ।
छलफल कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले एकै प्रकृतिको काम गर्ने निकायहरुले समन्वय गरेर बजारको आवश्यकता अनुसार जनतशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । ‘दोहोरोपनाबाट बाहिर निस्कनु आवश्यकता छ । जतिबेला बजारको आवश्यकता बुझेर हामीले जनशक्ति उत्पादन गर्छौ, त्यो बेला सबैलाई लाभ हुनेछ,’ उनले भने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक देवेशचन्द्र देवकोटाले अवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्नका लागि एकै प्रकृतिको काम गर्ने निकायबीच सहकार्य आवश्यक रहेको बताए । तालुक अड्डासँग समन्वय पनि अभाव रहेको उनले बताए । यस्तै, मुलुकका तीनवटै सरकारबाट सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम एकद्वार प्रणालीबाट गर्न सकियो भने त्यसको नजिता राम्रो आउनुका साथै लगानिको पनि सदुपयोग हुने कालीगण्डकी बहुप्राविधिक शिक्षालय तनहुँका प्रमुख गोविन्द पौडेलले बताए ।










